Logo
|
Saturday 27th April 2024
Logo

epaper

कपाल प्रत्यारोपणमा विज्ञताको जरूरत

वंशाणुगत, बढ्दो उमेर, हर्मोनका कारण कपाल झरेमा कपाल प्रत्यारोपण आवश्यक



डा. मनोज चौधरी, छाला सौन्दर्य विशेषज्ञ एवं कपाल प्रत्यारोपणविद्


विभिन्न किसिमका रोग, वंशाणुगत कारण आदिले कपाल झर्न सक्छ । यसको मुख्य कारणमा एलोपेसिया एरिएटा, मेल प्याट्रन हेयर लस (एन्ड्रोजेनिक एलोपेसिया) आदि प्रमुख छन् । कतिपय बालबालिका र वृद्धबृद्धाहरूमा फंगल इन्फेक्सन र चाया आदिले कपाल झर्नसक्छ । कपाल झर्नुको कारण पत्ता लागेपछि उपचार शुरू गर्नुपर्छ । कतिपय रोगको उपचार गरेर पनि झरेको कपाल फर्काउन सकिन्छ । जस्तैः एलोपेसिया एरिएटाको (चक्का चक्का भएर कपाल झर्ने रोग) । यस प्रकारको समस्यामा समयमै उपचार गराएमा कपाल राम्रोसँग पलाउँछ । कतिपयको आफैं पनि कपाल पलाउन सक्छ ।

वंशाणुगत, बढ्दो उमेर, हर्मोनका कारण कपाल झरेमा कपाल प्रत्यारोपण गर्नुपर्छ ।


निगरानी
मेसिनको सहायताले टाउकाको पछाडिपट्टीको डोनर एरियाको कपालको एक–एक ओटा फोलिकल्स निकालेर कपाल झरेको भागमा रोप्नुपर्छ । असुरक्षित डोनर क्षेत्रको कपाल प्रत्यारोपण भएमा प्रत्यारोपित कपाल झर्न सक्छ । त्यसकारण दक्ष प्रत्यारोपणविद्को निगरानीमा मात्र कपाल प्रत्यारोपण गर्नुपर्छ ।

कपाल प्रत्यारोपणको खर्च
नेपालमा कपाल प्रत्यारोपण शुल्क क्लिनिक पिच्छे फरक फरक छ । क्लिनिकहरूले प्रति ग्राफ्ट ४० रुपियाँ देखि १२० रुपियाँसम्म लिने गरेको पाइन्छ ।

दक्ष प्रत्यारोपण सर्जनले कपाल प्रत्यारोपण गर्दा तुलनात्मक रुपमा शुल्क महँगो लाग्नसक्छ । परिणाम पनि उत्कृष्ट आउँछ ।

जोखिम
कपाल प्रत्यारोपण गर्ने औजारहरू राम्रोसँग निर्मलिकरण गरिएको हुनुपर्छ । प्रत्यारोेपण पश्चात एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च हुन्छ ।

सावधानी
कतिपय क्लिनिकहरूमा योग्यता र अनुभव नपुगेका शिकारू प्रत्यारोपण विज्ञले कपाल प्रत्यारोपण गरेको पाइन्छ । उनीहरूले प्रत्यारोपण गरेको कपालको दृश्य प्राकृतिक आउँदैन । कतिपयले जथाभावी डोनर क्षेत्रबाट कपाल निकालेर सो भाग नै खाली बनाइदिन सक्छन् ।

आम सर्वसाधारणले कपाल प्रत्यारोपण गर्दा चिकित्सकको दक्षता, प्रत्यारोपणमा दिएको समय, विगतको उसको कामको परिणाम हेर्न जरूरी हुन्छ ।

जीवनशैली
कपाल प्रत्यारोपण पश्चात ६ महिनादेखि १ वर्षसम्म कपालसम्बन्धित भिटामिन खान दिइन्छ । कपाल प्रत्यारोपण पश्चात छुट्टै आहार अवलम्बन गर्नुपर्दैन । सन्तुलित आहार लिनुपर्छ । हरेक दिन हरियो सागपात, तरकारी, माछा मासु, अण्डा, गेडागुडी, दही दूध लगायतका प्रोटिन आहार समावेश गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्