Logo
|
Saturday 27th July 2024
Logo

epaper

सन् २०३० सम्म एड्स उन्मूलन !



जनस्वास्थ्य सरोकार, काठमाडौं । कुनै बेला एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्थ्यो तर अहिले संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जम्मा सात वर्षमा यो रोग उन्मूलन हुन सक्ने देखाएको छ ।


संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ ।


एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब–सहारा अफ्रिकामा बस्छन् । सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ ।


बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ९५–९५–९५ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले जनाएको छ ।


यसको अर्थ एचआईभी भएर बाँचिरहेका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो एचआईभीको अवस्थाका बारेमा थाहा छ भने त्यस्तो जानकारी भएका ९५ प्रतिशत व्यक्तिहरूले एन्टीरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन् । उपचार पाइरहेका ९५ प्रतिशत व्यक्तिहरूले भाइरसलाई दबाइदिएका छन् जसले त्यो भाइरस अरूमा सार्ने सम्भावना लगभग समाप्त पारेको छ ।
सब–सहारा अफ्रिकाका थप ८ सहित अन्य १६ देशहरू पनि उक्त लक्ष्यको नजिक छन् ।


‘एड्सको अन्त्य आजका नेताहरूका लागि एउटा शक्तिशाली उदाहरण प्रस्तुत गर्ने अवसर हो’, यूएनएड्सकी कार्यकारी निर्देशक विन्नी ब्यानयीमाले भन्नुभयो ।


तर यूएनएड्सले कम तथा मध्य आय भएका देशहरूलाई साढे ८ अर्ब डलर बजेट अभाव रहेको पनि उल्लेख गरेको छ । सन् २०२२ मा प्रत्येक एक मिनेटमा एक जनाले एड्सका कारण ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यस्तो प्रगति जुन बेला पनि गुम्नसक्ने उहाँको भनाइ छ ।


किशोरीहरू जोखिममा
तर कैयौँ चुनौतीहरू सम्बोधन हुन अझै पनि बाँकी छन् । प्रत्येक हप्ता ४ हजार किशोरी र कम उमेरका महिलाहरूमा एचआईभीको नयाँ सङ्क्रमण थपिने गर्छ ।


यति प्रगतिका बाबजुद सन् २०२२ का नयाँ एचआईभी सङ्क्रमणका ६३ प्रतिशत घटना सब–सहारा अफ्रिकाका महिला र किशोरीमा देखिएको थियो । एचआईभी खोपको परीक्षण युगान्डा, तान्जिनिया र दक्षिण अफ्रिकामा भइरहेको छ ।


दक्षिणी अफ्रिकाको वोत्स्वानामा किशोरीहरू खतरामा छन् । त्यहाँ आफूभन्दा धेरै बढी उमेरका पुरुषहरूले किशोरीहरूलाई सिकार बनाउने हुँदा त्यसलाई ‘अन्तर–पुस्ता यौन सम्बन्ध’ का रूपमा चित्रण गर्ने गरिन्छ ।


सबै तथ्याङ्कले एचआईभी सङ्क्रमित महिलाको तुलनामा स्वास्थ्य सहयोग लिन पुरुषहरूमा हिचकिचाहट रहेको देखाएको छ ।


वोत्स्वानाले धार्मिक नेताहरूलाई प्रयोग गरेर पुरुषहरूको त्यस्तो व्यवहार बदल्ने र एचआईभी सङ्क्रमण रोक्ने प्रयास गरिरहेको छ ।


नेशनल एड्स एन्ड हेल्थ प्रोमोसन एजेन्सीका प्रमुख ओन्टाइरेट्से लेटहारेले सन २०३० सम्म एचआईभी उन्मूलन गर्ने दिशामा बोत्स्वाना उन्मुख रहेको बताउनुभयो । धार्मिक नेताहरूले त्यसका लागि महत्वपूर्ण भूमिका खेल्ने सक्ने उहाँ बताउनुहुन्छ ।

बाँकी विश्वको अवस्था कस्तो छ ?
बाँकी विश्वमा उक्त प्रवृत्ति त्यति सकारात्मक छैन । राष्ट्रसङ्घका अनुसार एक चौथाइ नयाँ एचआईभी सङ्क्रमण सन् २०२२ मा एसिया प्रशान्त क्षेत्रमा देखिएको थियो ।


पूर्व युरोप र मध्य एसियामा पनि निरन्तर नयाँ सङ्क्रमण उकालो लागिरहेको छ । त्यसै गरी मध्यपूर्व र उत्तर अफ्रिकामा पनि त्यस्तै प्रवृत्ति देखा परेको छ ।


तर पीआरइपी नामक उपचार पद्धतिले केही आशा भने दिएको छ । पूर्वी एसियाको कम्बोडियाले जोखिममा रहेका यौनकर्मी एवं समलिङ्गी तथा पारलैङ्गिक समुदायलाई ती औषधि निःशुल्क उपलब्ध गराएको छ ।


दैनिक रूपमा सेवन गर्नुपर्ने चक्की एचआईभीको उपचारको लागि प्रयोग गरिन्छ । एचआईभी नेगेटिभ व्यक्तिले पनि निरोधात्मक औषधिका रूपमा त्यसलाई लिनसक्छन् ।


कम्बोडियामा ७६ हजार मानिसहरू एचआईभीसहित बाँचिरहेका छन् । सो संख्याको ८६ प्रतिशत मानिसहरूलाई आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा छ र, त्यसमध्ये लगभग ९९ प्रतिशतको पहुँच उपचारमा छ ।


सन् १९९६ को तुलनामा नयाँ सङ्क्रमण ९१ प्रतिशतले कम भएको छ । तर हरेक दिन कम्तीमा चार जना व्यक्तिहरू सङ्क्रमित भइरहेका छन् जुन प्रमुख चिन्ताको विषय हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्