सर्पदंशको प्रकोप र यसको उपचारमा खोज

जनस्वास्थ्य सरोकार, काठमाडौँ । संसारभर ३ हजार ९ सय ७१ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये १७ प्रजाति मात्र विषालु र घातक मानिन्छन् । तिनै १७ प्रजातिले टोकेर संसारभर हरेक वषए कम्तीमा ८१ हजारदेखि १ लाख ३८ हजार सर्वसाधारणको मृत्यु हुने गरेको छ । नेपालमा पनि सर्पदंश सर्वसाधारणको मृत्युको घातक कारणका रूपमा रहिआएको छ ।
पहिलेको तुलनामा नेपालमा सर्पदंशबाट मृत्यु हुनेको संख्या निकै घटे पनि अहिले पनि वर्षमा २० देखि ३० जनासम्मको मृत्यु यही कारणले हुने गरेको छ ।
सर्पदंशको आधुनिक उपचारको श्रेय फ्रान्सेली चिकित्सक अल्बर्ट क्लिमेटलाई जान्छ । लुई पास्चरले बौलाहा कुकुरले टोकेको उपचार पत्ता लगाएपछि उनीसँग काम गर्न इच्छुक हुँदै क्लिेमेट पास्चर इन्स्टिच्युट गएका थिए । त्यहाँ उनले कोब्रा सर्पको घातक गतिविधि नियाल्ने अवसर पाए । सन् १८९१ मा उनले कोब्रा सर्पको घातक डसाइमाथि अध्ययन गरी त्यसको सम्भावित उपचारबारे लेखेका थिए ।
उनले सुरुमा कोब्राले डसेको विषलाई खरायोमा प्रयोग गरे । त्यसबाट चित्त नबुझेर परेवा र अन्य जनावरमा पनि प्रयोग गरे । पछि भेडा वा घोडामा कोब्राको विष प्रयोग गरे । विविध शुद्वीकरणपछि मानिसमा प्रयोग गर्दा सर्पदंशबाट बच्न सकिन्छ भन्ने निष्कर्ष उनले निकालेका थिए । हाल उपचारमा उपयोग गरिने एउटा पद्वतिमध्ये यो पनि एउटा हो ।
नेपालमा वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ । सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।
सर्पको टोकाइका लागि अनुकूल मौसम थप दुईदेखि अढाइ महिना बाँकी रहेकाले यसको टोकाइबाट बच्न जुनोटिक तथा सरुवा रोग शाखाले अनुरोध गरेको छ । नेपालमा बर्सेनि औसत १ हजार जना सर्पको टोकाइमा पर्ने गरेको जुनोटिक शाखाको तथ्यांक छ । तीमध्ये १५ देखि २० जनाको मृत्यु हुने गर्छ ।
सर्पले टोकेका र टोकाइबाट मृत्यु भएकाहरूको यकिन तथ्यांक रिपोर्टिङ नहुनाले सर्पको टोकाइमा पर्नेहरूको यकिन तथ्यांक भने छैन ।

टोकाइबाट मृत्यु भएकामध्ये ४० प्रतिशतको मृत्यु समुदायमै हुने, ४० प्रतिशतको बाटामै हुने र बाँकी २० प्रतिशतको जानकारी केन्द्रसम्म आइपुग्दैन । यो हिसाबले नेपालमा प्रतिवर्ष १ सय जनाको सर्पदशंका कारण मृत्यु भएको देख्न सकिन्छ ।
कसरी बच्ने ?
चिकित्सकका अनुसार गर्मी या पानी परेको मौसममा सर्पहरू आफ्नो आहाराको खोजीमा जमिन बाहिर निस्कने, कुखुरा, भ्यागुता, मुसा खाने क्रममा उनीहरू कुखुराको खोर, मुसा भएका घर, झाडीजस्ता ठाउँमा पुग्छन् । यस्तो बेलामा मानिससँग जम्का भेट हुँदा मानिस सर्पको टोकाइमा पर्छन् । पहाडी भेगको तुलनामा तराईका जिल्लामा विषालु सर्प धेरै हुने कारण सर्पको टोकाइबाट तराईका मानिसको वर्षेनि बढी मृत्यु हुन्छ ।
झुल नलगाई सुत्ने, सुत्नुअघि कोठा चेक नगरी सुत्ने, झाडी या खेतबारीमा जाँदा प्लास्टिकको बुट या पन्जाको प्रयोग नगर्दा पनि सर्पले सजिलै टोक्ने गर्छ ।
अहिले पनि सर्पको टोकाइ, उपचार र सर्पको प्रकारको विषयमा समुदायमा हुने मिथ्या र भ्रमका कारण समयमै उपचार नगराउँदा धेरैको मृत्यु हुने गरेको छ । कुनै पनि सर्पले टोकिसकेपछि सर्प विषालु हो यो गैरविषालु भन्ने विषयमा जानकारी नहुने तर समुदायमा अहिले पनि आफ्नै अनुमानको भरमा उपचार गर्ने, धामीझाँक्रीको भरमा उपचार गर्ने, सिन्दूर, झारजस्ता जडीबुटी लगाउने गर्नाले उपचारमा पुग्न ढिला भई धेरैको मृत्यु हुने गर्छ ।
लक्षण र उपचार
सर्पले टोकेपछि विषालु सर्प र टोकाइको तहअनुसार फरक छिटो र ढिलो गरी लक्षण देखिन्छ । विषालु सर्पले टोकेपछि टोकेको भागमा धेरै दुख्ने, शरीरबाट रगत बग्ने, जिब्रो बाहिर निस्कने, घाँटी अड्याएर बस्न नसक्ने, आँखा खोल्न नसक्ने, पेट दुख्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।
यी लक्षण बढ्दै गएर बिरामीको मृत्युसमेत हुन सक्छ । यसकारण कुनै पनि सर्पले टोक्ने बित्तिकै नआत्तिने, सर्पले टोकेको भागमा नचलाउने, छिटो आफन्त गुहार्ने, सक्दो छिटो कुनै पनि साधनमा चढेर नजिकको सर्पदंश उपचार केन्द्रमा पुग्ने गरे सर्पले टोकिहालेमा बाँच्न सकिन्छ ।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखाका अनुसार नेपालभरका सरकारी अस्पताल र त्योबाहेक ९० वटा सर्पदंश उपचार केन्द्रहरू छन् । प्रतिवर्ष २० हजार भायल सर्पदंशको औषधि आपूर्ति भइरहेको छ ।
यसका साथै समुदायमा सर्पदंशको जनचेतना जगाउन रोटरी क्लबसँग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।