Logo
|
Wednesday 13th November 2024
Logo

epaper

आइभिएफका नाममा व्यापार कि उपचार ?




पछिल्लो समय निःसन्तान दम्पतीलाई लक्षित गरी इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेन्टरहरू खुलिरहेका छन् । कतिपय सेन्टरहरूले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म शत्प्रतिशत ग्यारेन्टीका साथ सन्तान सुख दिने विज्ञापनहरू पनि दिइरहेको पाइन्छ । यस्ता विज्ञापनको पछि लागेर सन्तानको चाहना बोकेका कयौं दम्पतीहरू आसैआसमा विभिन्न सेन्टरहरूमा भौतारिरहेको देखिन्छ । यसरी आइभिएफ सेन्टर पुगेर लाखौं खर्च गर्दा पनि सन्तान सुख प्राप्त हुन नसकेपछि कति त निराश भएर फर्किन बाध्य हुन्छन् । विश्वका कुनै पनि देशमा आइभिएफ विधिमार्फत् गर्भधान भएकामध्ये करिब ४०–४५ प्रतिशतभन्दा बढी लाइभ बर्थ रेट आउन सकेको छैन । तर नेपालमा लाइभ बर्थ रेटको तथ्याङ्क राख्ने र आइभिएफलाई नियमन गर्ने सरकारी संयन्त्र नबनेकाले सेन्टरहरुले आफूखुशी तथ्यहीन प्रचार गरिरहेका छन् । आखिर के हो त आइभिएफ सेन्टरको वास्तविकता ? आइभिएफ गरेपछि बच्चा जन्मिने ग्यारेन्टी कति हुन्छ ?


नेपालमा आइभिएफलाई विशिष्टीकृत सेवाका रूपमा राखिएको छ । यसो हुँदा हुँदै पनि कतिपय आइभिएफ सेन्टरहरूले गलत तथ्याङ्क प्रचार गरेर निःसन्तान दम्पतीलाई भ्रमित बनाइरहेको पाइन्छ । त्यसैले नेपालको अवस्था सुहाउँदो एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) निर्देशिका जारी हुन जरुरी भइसकेको छ । अन्तर्राष्ट्रिय जगतमा इन्टरनेसनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (आइसिमार्ट) ले आइभिएफ सेन्टरहरूको गुणस्तर हेर्ने गर्दछ । अतः नेपाल सरकारले पनि नेशनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (एसिमार्ट) बनाउनुपर्छ र आइभिएफ सेन्टरहरूको नियमन गर्नुपर्छ ।

वास्तवमा आइभिएफको क्वालिटी कन्ट्रोल गर्न एआरटी कमिटीको मुख्य भूमिका हुन्छ । एआरटी कमिटीको मातहतमा नेशनल एआरटी रजिस्ट्री हुनुपर्छ । यो रजिस्ट्रीमा हरेक सेन्टरले आफ्नो सही तथ्याङ्कराखे/नराखेको हेर्ने गरिन्छ । कम्तीमा ५–६ वर्ष आइभिएफमा काम गरेको अनुभवी व्यक्तिलाई एआरटी रजिस्ट्रीको जिम्मेवारी दिनुपर्छ । एआरटी रजिस्ट्रीले सबै सेन्टरलाई सर्कुलर गर्न सक्नुपर्छ । तर, अहिले हरेक सेन्टरलाई बोलाएर डाटा सब्मिट गर्न स्वास्थ्य मन्त्रालय चुकेको छ ।

यो मन्त्रालयको नैतिक जिम्मेवारी हो । इन्टरनेसनल कमिटी फर एआरटी मनिटरिङ (इकमार्ट) मा एउटा स्टैन्डर्ड फरम्याट बनाइएको हुन्छ । अतः निःसन्तान दम्पतीको उपचार वैज्ञानिक हुनुपर्छ । उनीहरूलाई कन्भिन्स गराउन सक्नुपर्छ । दम्पतीलाई सही सूचना दिएर गरिएको उपचारले नतिजा राम्रो आउँछ ।

हाल अन्य सेन्टरमा काम गरेको अनुमानित तथ्याङ्क वर्तमान कार्यरत संस्थाको तथ्याङ्कसँग मिसाई बढी देखाउने प्रवृत्ति पाइएको छ । वास्तवमा योसेवाग्राहीलाई भ्रममा पारेर व्यापार बढाउने गलत प्रयास हो । कन्सल्ट्यान्ट पिच्छेसफलता दर गणना गर्दा सही तथ्याङ्कसङ्कलन हुन्छ र कन्सल्ट्यान्टको क्षमता पनि पहिचान हुन्छ ।

अटोलोगस साइकल (श्रीमतीको डिम्बमा आफ्नै श्रीमान्को शुक्रकिट निषेचन गराउने) मा कति प्रतिशत सफल हुनुपर्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । यसमा नियम पालना, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाइ कारबाहीका कुरा जोडिएका हुन्छन् ।

आइभिएफ सेन्टरमा कार्यरत चिकित्सकको क्षमता पनि महत्वपूर्ण पाटो हो । अहिले एक वर्षको आइभिएफ फेलोसिप गरेकाहरूलाई इन्डिपेन्डेन्टली आईभिएफ चलाउन दिने भनिएको छ, जुन सरासर गलत हो । यस्ता डाक्टरहरूले राम्रो प्रतिफल दिन सक्दैनन् । एक वर्ष फेलोसिप गरेर कम्तीमा २ वर्ष सिनियर कन्सल्ट्यान्टको मातहतमा रहेर काम गरेको हुनुपर्दछ । यसबाट आइभिएफको सफलता दर बढाउन मद्धत गर्छ ।

आइभिएफमा दम्पतीको आशा र भरोसा जोडिने भएकाले यसमा खेलाँची गर्न पाइँदैन । कतिपय आइभिएफ सेन्टरहरूले बिरामी सङ्कलन क्लिनिकलाई शाखा भनेर प्रचारबाजी गरेको पाइन्छ । यी स्पट क्लिनिक हुन । यदि शाखा विस्तार गर्ने नै हो भने सम्बन्धित निकायबाट अनुमति लिएको हुनुपर्छ ।

डा. सानुमैयाँ श्रेष्ठ प्रधान

कानुनी दृष्टिकोणले सुरक्षित भएर आईभिएफ सेन्टरमा लगानी गर्नुपर्छ । यसमा राम्रो खर्च हुन्छ । एउटा आईभिएफ स्थापना गर्न लगभग ५ करोड रुपैयाँ खर्च हुने गर्छ ।

आइभिएफ शत्प्रतिशत सफल हुने विषय होइन । सबै सूचक राम्रो भएर पनि कतिपय घटनामा असफलता प्राप्त हुन्छ । यस विषयमा दम्पतीलाई खुलस्त भन्न सक्नुपर्छ । सेवा दिनेले इमान्दार भएर कानुनी प्रक्रिया पुर्याएर अभ्यास गर्नुपर्छ ।

निःसन्तान रोग होइन । सबै राम्रो हुँदाहुँदै पनि शत्प्रतिशत अवसर मिल्न सक्दैन । कतिपय आईभिएफ सेन्टरहरूले शत्प्रतिशत भनेर दम्पतीहरूलाई भ्रममा राखेको पनि पाइएको छ । युवा दम्पतीमा ब्लास्ट इम्ब्रियो ट्रान्सफर गरेको अवस्थामा ६० प्रतिशत जति हुन सक्छ । ५ दिनमा गरिने इम्ब्रियो ट्रान्सफरलाई ब्लास्ट ट्रान्सफर भनिन्छ । युरोपियन सोसाइटीले गत वर्ष आयोजना गरेको कन्फरेन्समा ब्लास्ट ट्रान्सफर गरेकामा अधिकतम ६० प्रतिशतसम्म प्रेग्नेन्सी दर भएका पेपरहरु प्रस्तुत गरिएका थिए ।

प्रेग्नेन्सी र लाइभ बर्थ रेटमा फरक हुन्छ । लाइभ बर्थ रेटलाई टेक होम बेबी रेट पनि भनिन्छ । प्रेग्नेन्सीमा ५० प्रतिशत पोजिटिभ आएपनि टेक होम बेबी रेट ३०–३५ प्रतिशतसम्म सफल हुन्छ ।
यसमा उमेर समूह र घटनाको प्रकृतिले महत्वपूर्ण अर्थ राख्छ । प्रेग्नेन्सी पोजिटिभ आउँदैमा त्यसलाई सफल भन्न मिल्दैन । हरेक सेन्टरको प्रि–क्लिनिकल प्रेग्नेन्सी दर धेरै हुन्छ । हाम्रो क्लिनिकमा १ हजार ६१५ साइकलमा ४४ दशमलव ९ प्रतिशत पोजेटिभ आएको थियो ।

हरेक देशको आ–आफ्नै सक्सेस लाइभ बर्थ रेट छन् । बेलायतको २३ प्रतिशत छ । उनीहरूले सिङ्गल इम्ब्रियो ट्रान्सफर गर्छन् । अस्ट्रेलियाको करिब २५ प्रतिशत र अमेरिकाको ४३ प्रतिशत छ । भारतमा करिब ३५ प्रतिशत जति लाइभ बर्थ रेट रहेको छ ।

हरेक सेन्टरले आ–आफ्नो तरिकाले लाइभ बर्थ रेटको तथ्याङ्क राख्ने गरेका छन् । यसबारे अनुुगमन र नियमन हुन जरुरी छ । मुलुकमा आईभिएफ गाइडलाइन बन्ने प्रक्रियामै छ । हरेक आइभिएफ सेन्टरमा उपचार गरेको तथ्याङ्कको हार्डकपी राखेको हुनुपर्छ । कम्प्युटरको सिस्टममा इन्ट्री भएका डाटा हार्डकपी फाइलमा पनि हुनुपर्छ । हावादारी तथ्याङ्क दिएर भ्रम छर्न हुँदैन । इथिकल्ली प्राक्टिस गरेर इमान्दारिताका साथ आफ्नो सेन्टरको डाटा राख्नुपर्छ । पोजेटिभ आएकोलाई पोजिटिभ र नेगेटिभलाई नेगेटिभ भन्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्