Logo
|
Thursday 2nd May 2024
Logo

epaper

गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवा दिने कार्यकारी निर्देशक डा. किरणजङ्ग कुँवरको हुटहुटी

भन्नुहुन्छ—‘मेरो लक्ष्य भनेको सेवा हो । म मिसनमा काम गर्छु’



डा. किरणजङ्ग कुँवर- कार्यकारी निर्देशक, महेन्द्रनारायण निधि अस्पताल

डा. कुँवरले असार १ गतेबाट महेन्द्रनारायण निधि अस्पतालको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ । उहाँले कार्यभार सम्हाले लगतै अस्पतालको सेवामा व्यापक सुधार ल्याउने प्रयास थाल्नुभएको छ ।


कार्यभार सम्हाल्नु भएको महिना दिन नपुग्दै अस्पतालले मिर्गौला प्रत्यारोपणको लाइसेन्स लिने काम सुरु गरिसकेको छ भने डायलसिस सेवा पनि तुरुन्तै शुरू गर्दैछ ।


‘मेरो पहिलो काम मिर्गौलाको डायलसिस सुरू गर्ने हो’—जनस्वास्थ्य सरोकारसँगको छोटो कुराकानीमा डा. कुँवरले भन्नुभयो—‘स्पेशल ओपीडी सेवा पनि सुरु भइसकेको छ ।’ अबको २/३ महिना भित्र परिणाम देख्ने गरी काम गर्ने उहाँको प्रतिवद्धता छ ।


कुँवर बाध्यताले होइन, सेवा गर्ने भावले डाक्टर बन्नु भएको हो । डाक्टर बनेर कम खर्चमा बिरामीको उपचार होस् भन्ने उहाँको चाहना छ । र, डाक्टर बनेपछि पनि उहाँले यहि मन्त्रलाई आफ्नो जीवनमा उतार्नुभएको छ । ‘मेरो लक्ष्य भनेको सेवा हो । म मिसनमा काम गर्छु,’ उहाँ भन्नुहुन्छ ।


भारतको कोलकतामा एमबीबीएस पढ्दै गर्दा होस् वा चीनमा एमडीको पढाइ गर्दा, उहाँले ती दुवै ठाउँमा ‘फ्री’ मा उपचार भइरहेको देख्नुभयो । त्यही बेलादेखि नै मनभित्र नेपालमा पनि निःशुल्क वा कम खर्चमा उपचारको व्यवस्था भइदिओस् भन्ने उहाँको इच्छा भयो ।


‘बिरामीको उपचार अहिले नै सबै निःशुल्क नभए पनि कम्तीमा कम खर्चमा होस् भन्ने मेरो चाहना छ’, डा. कुवँरले भन्नुभयो । ‘एफोरडेवल रेटमा उपचार गर्ने लक्ष्य छ । यस अस्पताललाई मिर्गौला उपचारको अग्रणी अस्पताल बनाउने सपना छ’, आफ्ना योजनबारे बताउँदै उहाँले भन्नुभयो ।


मिर्गौलाको रेफरल अस्पताल बीमासहित बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । यसो भए सरकारले गर्ने बीमाको संयन्त्र अनुसार नै बिरामीले सेवा पाउने छन् ।


अस्पतालको नाम राजनीतिक व्यक्तिको नाममा भए पनि राजनीतिबाट अभिप्रेरित नभएको डा. कुवँरले स्पष्ट पार्नुभयो । ‘यो जनताको अस्पताल हो । कुनै पनि दलसँग आवद्ध छैन । दलभन्दा पनि देश र जनताको अस्पताल हो । हामीले उपचार गर्दा दलगत आस्था राख्दैनौं । निधि राजनीतिक व्यक्तित्व भए पनि यहाँ राजनीतिक दलकै मान्छेको उपचार हुन्छ भन्ने होइन’, कुवँरले थप स्पष्ट पार्दै भन्नुभयो, ‘विपी कोइराला, गिरिजाप्रसाद कोइरालासहित अन्य राजनीतिक व्यक्तिका नाममा पनि अस्पताल छन् तर त्यहाँ राजनीतिक आस्थाकै भरमा उपचार हुन्छ भन्ने होइन । जो कोही पनि जुनसुकै अस्पतालमा जान सक्नुपर्छ ।’ ‘हाम्रो धर्म बिरामीको उपचार गर्ने हो, सेवा दिने हो,’ निर्देशक डा. कुवँरले भन्नुभयो ।


‘अस्पतालले मिर्गौलाको प्रत्यारोपण सेवा निकट भविष्यमै सुरु गदैछ । अब डायलसिस सेवा सुरु गर्ने तयारीमा छौं,’उहाँले भन्नुभयो । उहाँका अनुसार प्रत्यारोपण सेवाका लागि सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ । यो सेवा अब २/३ हप्ता भित्रै सुरु हुन्छ । प्रत्यारोपण सरकारी दरमै हुने पनि उहाँले जानकारी दिनुभयो । यसबाट मिर्गौैलाका बिरामीलाई थप सहुलियत हुने उहाँको विश्वास छ ।


‘हामीले बीमाको पनि सुरुवात गर्दैछौं । बीमा भएपछि बिरामीले पैसा तिर्नुपर्दैन’ उहाँले थप जानकारी दिनुभयो । अरु अस्पतालभन्दा हरेक विभाग र हरेक रोगको जाँचमा सहुलियतपूर्ण शुल्क राखिएको पनि डा. कुवँरले बताउनुभयो ।


युरोलोजीमा अस्पतालले एडभान्स सेवा सुरु गर्न लागेको छ । यस्तै छालाका लागि पनि विशेषज्ञसहितको सेवा सुरु हुँदैछ । वाथ रोग र इन्डोक्राइनोलोजीमा पनि विशेषज्ञसहितको सेवा अस्पतालले दिन लागेको छ । ‘सर्जिकलमा पनि अहिले राम्रो टीम छ । विशेषज्ञहरू छन् । सुपर स्पेस्लाइज्ड विज्ञलाई राखेर सेवा दिइरहेका छौं’, उहाँले भन्नुभयो ।


अस्पतालमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क जनरल ओपीडी सेवा सञ्चालित छ । यस्तै, हरेक शनिवार निःशुल्क रूपमा सुगर र रक्तचापको जाँच हुन्छ । यो सेवा हरेक शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म हुन्छ । यस सेवामा बिरामीले चिकित्सकीय परामर्श पनि निःशुल्कै लिन सक्छन् ।


‘हाम्रो लक्ष्य गुणस्तरीय सेवा दिनु पनि हो । गुणस्तरीय र सहुलियतपूर्ण सेवा हाम्रो प्राथमिकता हो’ डा. कुवँर भन्नुहुन्छ, ‘क्वालिटी हेल्थ केयर सर्विस हाम्रो मिसन हो ।’ अस्पतालले यहि मन्त्रलाई सार्थक पार्न ‘सुपर क्वालिफाइड’ डाक्टर र गुणस्तरपूर्ण उपकरण पनि राखेको छ ।


मिर्गौला प्रत्यारोपणमा डीएम गरेका डाक्टर छन् । उहाँ स्वयं ट्रान्सप्लान्ट सर्जन हुनुहुन्छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. कुवँरले करिब ५ वर्ष ट्रान्सप्लान्ट सर्जन भएर काम गर्नु भएको छ । यस्तै अस्पतालका हरेक विभागमा विशेषज्ञ डाक्टरहरू छन् । ‘सुपर स्पेसल डाक्टर राखेर सेवा पनि गुणस्तरीय बनेको छ । तैपनि केही सुधार गर्नुपर्ने विषय छ । त्यसलाई आत्मसात गर्दै अगाडि बढ्ने लक्ष्य छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्