Logo
|
Wednesday 1st May 2024
Logo

epaper

रोजगारीका लागि एक सय जना नेपाली नर्स बेलायत पठाउन अनलाइन आवेदन खुला

अक्टोवर १९ सम्म आवेदन दिन सकिने, बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । रोजगारीका लागि एक सय जना नेपाली नर्स बेलायत पठाउन अनलाइन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्स पठाउन आवेदन खुलाएको हो। इच्छुक नेपाली नर्सले अक्टोवर १९ सम्म अनलाइन आवेदन दिन सक्नेछन् । https://ferms.dofe.gov.np/home

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएपछि पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन थालिएको छ ।

शैक्षिक योग्यता कति हुनुहुपर्छ ?

न्यूनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन्।

कुन शर्त पूरा गर्नुपर्छ ?

रोजगारीका लागि बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६.५ अङ्क ल्याउनुपर्ने हुन्छ । कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउनेछन् ।


कति खर्च लाग्छ ?

नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सम्झौतापत्रमा उल्लेख छ ।

बेलायतमा कस्तो प्रावधान पूरा गर्नुपर्छ ?
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ। गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरुले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ।

कति तलब पाइन्छ ?


बेलायत जाने नर्सहरुले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्