Logo
|
Wednesday 15th January 2025
Logo

epaper

सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित



जनस्वास्थ्य सरोकार, बारा । बाराको सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।


अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।


कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौँ लगानी गरेर सञ्चालनमा ल्याएको अस्पताल सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शैया क्षमता भएको अस्पताल बारम्बार विभिन्न विवादको कारण बन्द हुने गरेको छ ।


तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाडपर्व भत्ता र सेवा अवधि थपलगायतका मागहरू यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।


सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादवले स्वास्थ्यकर्मीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै आन्दोलन गरेको बताउनुभयो । स्वास्थ्यकर्मीले राखेको माग पूरा नभएसम्म अस्पताल सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ ।


अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए । नगरपालिकाले २ करोड खर्चेर २ तलाको १२ कोठे नगर अस्पताल भवन बनाएको थियो । अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दालाई सहज भएको थियो ।


नगर प्रमुख किशोरी प्रसाद कलवार भने अस्पताल प्रमुख जितेन्द्र यादवले समयमै नगर अस्पतालको खर्च विवरण र कर्मचारीहरूको तलब भत्ताको हिसाब नदिँदा समयमा तलब नपाएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्