विश्व स्तनपान सप्ताह २०२३ शुभारम्भः स्तपानको महत्व र नेपालमा स्तनपान सम्बन्धी कानुनी व्यवस्थाबारे जान्नुस्
‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, आधा बिलियन भन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानूनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गर्न आवश्यक छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
स्तनपानको महत्व प्रवद्र्धन गर्न मनाइने यो वार्षिक अभियान हो । आमा र बच्चाबीचको निकटता बढाउने अवसरको रुपमा यो दिवसलाई लिने गरिएको छ ।
स्तपानको फाइदा के छ ?
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान मानिन्छ । यसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।
पटकपटक दुध चुसाउने आमाहरुमा अस्थायी गर्भनिरोधको अवधि बढेर जाने उल्लेख छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति आमाको दूधबाट प्राप्त गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्वहरु रहेका हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व प्राप्त हुन्छ जसले शिशुहरूको शरीरमा फलाम तत्व प्रदान गर्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तन सम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान नपाएका शिशुहरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरुमा अपेक्षाकृत वुद्धि विकास समेत नहुने हुन्छ । यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले ६ देखि ८ महिना सम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार पनि हो ।
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइन्छ । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधि सम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ ।
नेपालमा स्तनपान सम्बन्धी कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरिएको छ । यसमा आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था छ ।
सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी सङ्घसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । हरेक कार्यालय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको छ । स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधानहरू रहेका छन् । प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवद्र्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्नेछ ।