मोतिबिन्दुः कहिले गर्ने शल्यक्रिया ?
‘चिकित्सकमा कन्फिडेन्स र विपद् व्यवस्थापन गर्न सक्ने खुवी हुनुपर्छ’
सुन्दर संसार हेर्ने हाम्रो आँखाको बनोट क्यामरा जस्तै हुन्छ जसरी फोटो खिच्ने क्यामरामा अगाडिपट्टि लेन्स र पछाडि आकृति बन्ने ठाउँ फिल्म हुन्छ ठीक त्यसैगरी आँखाको नानी (कोर्निया ) पछाडी सफा र पारदर्शी लेन्स हुन्छ । उक्त लेन्सले फोकस गरेर रेटिनामा आकृति बनाएपछि हामीले देख्ने गर्दछौ ।
आँखामा भएको लेन्समा धमिलोपन र सेतोपन बढ्दै जानुलाई मोतिबिन्दु भनिन्छ । मोतिबिन्दुका कारण प्रकाशका किरणहरू रेटिना सम्म पुग्न सक्दैन । फलस्वरूप आँखाले राम्रोसँग देख्न सक्दैन ।
मोतिविन्दुको कारण
मोतिविन्दु ६० वर्ष नाघिसकेका जो कोहीलाई हुनसक्छ । घामको प्रकाशमा लामो समय काम गर्नेहरूमा अलि चाँडै हुनसक्छ भने कतिपयमा जन्मजात पनि हुनसक्छ । टक्सोप्लाज्माइन्फेक्सन, रूवेला, साइटोमेगालो भाइरस संक्रमण जस्ता आमाको गर्भमा देखिने इन्फेक्सन (इन्ट्रा युटोराइनइन्फेक्सन) ले जन्मजात मोतिबिन्दु निम्त्याउनसक्छ । यसका अलावा आँखामा लाग्ने चोटपटक, मधुमेह, आँखामा लगाउने र खाने स्टेरोइड ग्रुपका औषधि आदि कारणले पनि मोतिविन्दु हुनसक्छ ।
जोखिम
मोतिविन्दु मोति जस्तै सेतो हुन्छ र बढ्दै जान्छ समयमा उपचार नभएर बिग्रिएमा जलविन्दुमा परिणत हुन्छ । अतः पूर्ण रुपमा आँखाको ज्योति गुम्न सक्छ । नेपाल, भुटान, बंगलादेश, पाकिस्तान लगायतका विकासोन्मुख देशहरूमा समयमा मोतिविन्दुको शल्यक्रिया नगरेर धेरैले दुःख पाएको पाइन्छ । यहाँका धेरै व्यक्ति अन्धोपन भएर बाँचिरहेका छन् । जसका कारण उनीहरू समाजबाट तिरस्कृत सम्म हुन परेको अवस्था छ ।
सन् १९८१ मा गरिएको राष्ट्रिय अन्धोपन सर्वेक्षणले नेपालमा मोतिविन्दुले ८०% अन्धोपन गराएको देखाएको थियो । अहिले ६०—७० % मा झरेको देखाएका छन् । नेपालमा अन्धो गराउने पहिलो कारण मोतिविन्दु, त्यसपछि जलबिन्दु र मधुमेहले हुने डायवेटिक रेटिनोप्याथी रहेका छन् ।
उपचार
शल्यक्रिया नै मोतिविन्दुको लागि भरपर्दो उपचार हो । शल्यक्रिया गर्नुभन्दा पहिले बिरामीको विभिन्न रोगबारे सम्पूर्ण स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ । साथै शल्यक्रिया गर्ने चिकित्सकमा कन्फिडेन्स र शल्यक्रिया गर्ने क्रममा आउनसक्ने विपद् व्यवस्थापन गर्न सक्ने खुवी हुनुपर्छ । आजकल बिना इन्जेक्सन टपिकल (थोपा औषधि) एनेस्थेसिया दिएर पनि इन्ट्रा अकुलर लेन्स राख्न थालिएको छ । यो नयाँ टेक्नोलोजी हो । राम्रो र भरपर्दो भिजन दिनु यो उपचारको मुख्य उद्धेश्य हो ।
शल्यक्रियाको समय
मोति जस्तै पाकेपछि मात्र मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने आम जनधारणा पाइन्छ । तर यो गलत हो । मोतिबिन्दु पाकेपछि शल्यक्रिया गर्दा झन् बढी समस्या आउने सम्भावना हुन्छ । मोतीबिन्दुको वर्गिकरण अनुसार स्टेज टु र स्टेज थ्रीमा मोतिबिन्दुको शल्यक्रिया गर्न सकिन्छ । तर स्टेज वनमा भने गरिदैन । मान्छे चिन्न गारो भएमा, चश्माको पावरबाट पनि सुधार नभएमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्छ ।
के लेन्स दीर्घकालीन समाधान हो ?
कम्प्युटराइज सिस्टमबाट लेन्स लगाउने भएकाले प्रायः समस्या आउँदैन । मोतिविन्दुको एकपटक शल्यक्रिया गरेपछि दोस्रोपटक गर्न मिल्दैन ।
मोतिविन्दुको १५ मिनेटको शल्यक्रिया भएपनि मेजर शल्यक्रियाको रूपमा लिइन्छ । तर प्रतिहजार एक दुइ जनामा कम्प्लिकेसन भएर घाउ पाक्न पनि सक्छ । त्यसैले शल्यक्रिया पश्चात् सरसफाई र हाइजिन मेन्टेन गर्न निकै जरूरी पर्छ ।
शल्यक्रिया गर्न अघि र पछिको सावधानी
डायविटिज भएका व्यक्तिहरूमा आँखाको संक्रमण हुनसक्ने धेरै सम्भावना भएकाले शल्यक्रिया गर्न अघि शरीरको सुगर लेवल नियन्त्रणमा राख्नुपर्छ । शल्यक्रिया पश्चात् इन्फेक्सन भएमा आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । यसका लागि ब्याक्टेरिया वा फंगल मध्ये के ले संक्रमण गराएको हो भन्ने पहिचान गर्नुपर्छ । इन्ट्राअकुलर लेन्स हालेपछि आँखाभित्र रक्तचाप बढ्नसक्छ । अतःशल्यक्रियापश्चात् चिकित्सकको परामर्श र निगरानी जरूरी हुन्छ । साथै ६० बर्ष नाघेपछि वर्षमा एकपटक जो कसैले आँखाको जाँच गराउनन भूल्नुहोला ।
(डा. बजिमय नेत्रधाम आई केयर सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक, नेत्रधाम फाउन्डेसनका अध्यक्ष र नेपाल भिट्रो रेटिना सोसाइटीका अध्यक्ष समेत हुनुहुन्छ ।)