Logo
|
Monday 28th October 2024
Logo

epaper

क्यान्सर उपचार सेवा उमेर समूहमा केन्द्रित गर्न नहुने, समान पहुँच आवश्यक, बीमाको दायरा बढाउनुपर्ने



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल क्यान्सर रिलिफ सोसाइटीका निवर्तमानअध्यक्ष एवं क्यान्सर अभियन्ता लोकेन्द्रबहादुर श्रेष्ठ (इश्वर) ले क्यान्सर उपचार सेवा उमेर समूहमा केन्द्रित गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरलगायतका सरकारी अस्पतालहरुमा १४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर रोगको निःशुल्क उपचार मंसिर १ गतेबाट लागू गरिने निर्णय गर्नुभएको थियो ।


निवर्तमानअध्यक्ष श्रेष्ठले क्यान्सर उपचारमा समान पहुँच हुनुपर्ने उल्लेख गर्दै आर्थिक सहायता रकमलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो —‘विपन्न नागरिक क्यान्सरको उपचार कुनै उमेर समूहमा मात्र सीमित हुनु हुँदैन । यो रोगले समाजका सबै उमेरका नागरिकलाई लाग्न सक्छ, र त्यसैले यसको उपचारमा समान पहुँच आवश्यक छ । आज १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार दियपनि, देशका सम्पूर्ण नागरिकका लागि यस्तो सेवा आवश्यक छ ।’


‘हामीले विपन्न नागरिकका लागि उपलब्ध आर्थिक सहायता रकमलाई स्वास्थ्य बीमामा रूपान्तरण गर्न सके, यसले समग्र जनसंख्यालाई स्वास्थ्य सुरक्षाको कवच दिनेछ । स्वास्थ्य बीमाको दायरा बढाएर सबै उमेर समूहलाई समेट्ने हो भने, अन्य गम्भीर रोगहरूको उपचार पनि निःशुल्क गर्न सकिन्छ । यो उपायले सम्पूर्ण नागरिकलाई आर्थिक बोझबाट मुक्त गराउनेछ, जसले जीवनस्तरमा सुधार ल्याउन ठूलो सहयोग पुर्याउनेछ ।’—निवर्तमानअध्यक्ष श्रेष्ठले भनाइ छ ।


यस्तो ठोस कदमले सरकारप्रति जनताको विश्वास बढाउने मात्र होइन, आगामी निर्वाचनमा पनि लोकप्रियता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारको प्रमुख दायित्व भनेको जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु हो । स्वास्थ्यलाई सुदृढ पार्न गरिने यस्ता योजनामा समयमै ध्यान पुर्याइएन भने, जनताले असन्तुष्टि व्यक्त गर्न पछि पर्ने छैनन्, जसको असर आगामी चुनावमा पनि पर्न सक्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।


‘त्यसैले, अब सरकार जिम्मेवार बन्न जरुरी छ । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सबै उमेर समूहका लागि क्यान्सर लगायत अन्य रोगहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाएर, समृद्ध र स्वस्थ समाज निर्माणको दिशामा अघि बढ्न आवश्यक छ ।’—उहाँले भन्नुभयो ।


हाल सरकारले क्यान्सर पीडित बिरामीलाई उपचारमा एक लाख रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।


नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

यहाँ सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्