‘बिरामीले आँखा देख्न सक्ने भएर जब खुशीले झुम्न र रमाउन थाल्छन् त्यहीँ भगवान देख्न सक्नुपर्छ’
आँखा उपचारका लागि नेतादेखि सर्बसाधारण कोही पनि विदेश जानुपर्दैन । नेपालमा सबैखाले आँखा रोगको उपचार हुने गरेको छ । अत्याधुनिक प्रविधि तथा उपकरणहरु भित्रिसकेका छन् । तर सरकारी अस्पताल भएपनि बिरामीहरुलाई निजी अस्पताल आएजस्तो अनुभूति दिलाउन सक्नुपर्छ । विशेषगरी सरसफाई, बाथरुम, बगैचा, हाइजेनिक क्यान्टिन लगायत व्यवस्थापन सम्बन्धि सम्पूर्ण कुराहरूमा ध्यान दिन जरूरी हुन्छ । यसप्रति मेरो ध्यान केन्द्रित छ ।
कसरी दिन सकिन्छ गुणस्तरीय सेवा
काम प्रति निष्ठावान र लगनशील हु्नुपर्छ । सकारात्मक सोच लिनुपर्छ । नयाँ प्रविधिसँग जानकार हुनुपर्छ । बिरामीसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ र वास्तविक समस्या पहिचान गर्न सक्नुपर्छ ।
मन देखिनै ‘ह्यूमन टच’ को भावना जागृत हुनुपर्छ । बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झेर औषधोपचार गर्नुपर्छ । ज्ञान, क्षमता, सीप र सञ्चार कौशल पनि उकृष्ट हुनुपर्छ ।
यसरी बिरामीले आँखा देख्न सक्ने भएपछि उनीहरुबाट पाउने माया, सद्धभाव र आशिर्वादलाई शब्दमा ब्याख्या गर्न सकिदैँन । बिरामीले आँखा देख्न सक्ने भएर जब खुशीले झुम्न र रमाउन थाल्छन् त्यहीँ भगवान देख्न सक्नुपर्छ ।
धनिलाई शुल्क: गरिबलाई निःशुल्क
गुणस्तरीय उपचार सेवामा जोड दिनुपर्छ । यो धनी, गरीव र मध्यमवर्गीय सबै नेपाली जनताको अस्पताल हो । सधैं धनि मानिस मात्र उपचारका लागि किन विदेश जाने ? उनीहरुको उपचार स्वदेशमै गरेर देशले आर्थिक लाभ लिन सक्नुपर्छ ।
पैसा तिर्न सक्नेबाट अलिक बढी शुल्क लिएर गरिब जनताको निशुल्क औषधि उपचार गर्नुपर्छ । मेरो रणनीति पनि त्यस्तै छ
सीप हस्तान्तरण
सीप हस्तान्तरण चुनौतिको विषय हो । डा. शशांक कोइरालाले आफ्नो सीप हामीलाई छोड्नुभयो । अब हाम्रो सीप पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं । सीप हस्तान्तरण भएमा समग्र स्वास्थ्य क्षेत्र प्रभावकारी हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवासँगै सीपयूक्त जनशक्ति उत्पादनमा विशेष जोड दिनुपर्छ । समय र परिस्थिति अनुसार परिवर्तन हुनसक्नुपर्छ । सीप हस्तान्तरणसँगै केही फरक र नयाँ कामको थालनी गर्नुपर्दछ ।