Logo
|
Thursday 26th December 2024
Logo

epaper

मस्तिष्कको नशा सुक्ने समस्या: प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी

शरीरमा कम्पन महशुस हुने, शारीरिक सुस्तता, असन्तुलन, चोटपटक लाग्ने, घाँटी दह्रो हुने, भूइँमा हेरेर हिड्न नसक्ने, निन्द्रा नलाग्ने, बोल्न र खानेकुरा खान समस्या



प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको गत २७ असार २०८० मा निधन भयो । उहाँ विगत ५ बर्षदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पि.एस.पी.) रोगबाट पीडित हुनुहुन्थ्यो ।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पि.एस.पी.) का कारण बलिउड अभिनेता कादर खान र बेलायती अभिनेता डुडले मूरको मृत्यु भएको थियो ।

नेपालमा यस प्रकारका अरु बिरामी पनि छन् । एकजना मन्त्री पनि यस रोगबाट पीडित हुनुहुन्छ । उहाँको उपचार भइरहेको छ ।

पार्किन्सन जस्तो देखिने यो एक किसिमको दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर हो । यसलाई मेडिकल भाषामा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यो रोग जो–कोहीलाई पनि हुनसक्छ ।

लक्षण
वरिष्ठ न्युरोलोजिष्ट डा. बाबुराम पोख्रेल भन्नुहुन्छ—‘यो रोग लागेका बिरामीहरूमा हिँड्डुल गर्ने, बोल्ने, हेर्ने, खानेकुरा निल्ने र सोच्ने क्षमता कम वा नष्ट हुँदै जान्छ ।’

मस्तिष्कको स्नायू कोष नष्ट हुन थालेपछि रोगका लक्षणहरु देखिन थाल्छन् । बिरामीको घाँटी अरठ्ठो हुने, भूँइतिर हेरेर हिड्न नसक्ने, हिँड्ने बेला शरीरको सन्तुलन बिग्रने र लडेर चोटपटक लाग्न सक्छ ।

जटिल लक्षण
डा. पोख्रेलका अनुसार, पिएसपी भएका व्यक्तिहरूमा शरीरमा कम्पन महशुस हुने, शारीरिक सुस्तता, असन्तुलन, चोटपटक लाग्ने, घाँटी दह्रो हुने, भूइँमा हेरेर हिड्न नसक्ने, निन्द्रा नलाग्ने, बोल्न र खानेकुरा खान समस्या हुने जस्ता जटिल लक्षणहरु देखिन सक्छन् ।

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्न समेत कठिन हुने गर्छ ।


कारण
डा. पोख्रेल भन्नुहुन्छ—‘हालसम्म यो रोगको कुनै ठोस कारण पत्ता लागेको छैन ।’ रोग लागेपछि बिरामीको मस्तिष्कमा टाउ नामक प्रोटिन पदार्थ बन्न सुरु हुन्छ । उक्त प्रोटिनका कारण स्नायू कोषको नशा सुक्दै जान्छ ।’ टाउ प्रोटीन न्युरोडिजेनेरेटिभ समस्यामा पनि पाइसक्छ ।

जोखिम कारक
यसको लागि एक मात्र प्रमाणित जोखिम कारक उमेर हो । यो रोग प्रायः ६० वर्ष वा सोभन्दा बढी उमेरमा विकास हुन थाल्छ । यसको लक्षण ६० वर्षको उमेरमा देखिन थाल्छ । यद्यपि धेरै अवस्थामा यो रोगले ४० वा ५० वर्षका मानिसहरूलाई पनि असर गर्न सक्छ ।

उपचार
डा. पोख्रेल भन्नुहुन्छ—न्युरोलोजीसम्बन्धि यस प्रकारको समस्यामा करिब २० प्रतिशत घटनाहरूको कुनै उपचार हुँदैन ।

बिरामीलाई रोगको लक्षणको आधारमा उपचार गरेर बचाउनुपर्दछ । हालसम्म यो रोगलाई पूर्ण रुपमा निको पार्ने उपचार पद्धतीको विकास भएको छैन । ’

बिरामीको आयुः ६ देखि ९ वर्षसम्म

डा. बाबुराम पोख्रेल, वरिष्ठ न्युरोलोजिष्ट


स्व.सीता दाहाल विगत ५ वर्षदेखि यो रोगबाट ग्रसित हुनुहुन्थ्यो । करिब पाँच वर्ष पहिले हामीले मेडिसिटीमा रोग डायग्नोसिस गरेका थियौं । रोग पहिचान पछि उहाँको आयू लम्ब्याउन धेरै प्रयास गर्यौँ । खानेकुरा मुखबाट खुवाउँदा सर्किन थालेपछि पेटबाट सिधैँ दिने निर्णय गर्यौँ । शुरूमा परिवारले स्वीकार गरेन । यसो नगर्दा बिरामी बचाउन नसक्ने भनेपछि मात्र राजी हुनुभयो । त्यसपछि पेटमा पेग ट्युब फिडिङ राखियो । उहाँलाई बेलाबेलामा सास फेर्न गाह्रो हुन्थ्यो । बाइपाप मेसिनबाट श्वास फेराउँदै बचाउन सफल भएका थियौं । यस प्रकारको रोगमा बिरामीको आयू सम्भाव्यता करिब ६ देखि ९ वर्ष मात्र हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्