बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशकलाई एक नर्सको सन्देश
अस्पतालभित्रका बेथीति, विसंगती, चर्को राजनीति पनि बुझ्नुभएको होला, अब कसरी जाँच गराउने होला भन्दै थकित र निरास हुने दिनको सायद अन्त हुनेछ
आदरणीय सर डा. शिवजी पौडेल
बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल
सर्बप्रथम त लामो समयको रिक्तता र पर्खाइपछि क्यान्सर अस्पतालले नयाँ निर्देशक पाएको छ र त्यसको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएकोमा बधाई र शुभकामना ।
मेरो गृह जिल्लामा अवस्थित अनि मैले पहिलो जागिर सुरु गरेको अस्पताल भएर पनि होला मलाई यस बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातलको निकै नै माया लाग्छ ।
देशकै मुटुमा अवस्थित यस अस्पातलमा दशकौदेखि आफ्नो कार्यथलो बनाउँदै आउनुभएको तपाईंले पनि यस अस्पतालले बोकेका प्रशस्त सम्भावनाहरु मसिनो गरी नियाल्नुभएको होला । साथै अस्पतालभित्रका बेथीति, विसंगती, चर्को राजनीति पनि यहाँले एकदमै राम्ररी बुझिरहनु भएको छ । यी कुराहरुले यहाँको कार्यकाललाई निकै नै चुनौती दिने छन् ।
यी सबै चुनौतीका बाबजुत पनि कतै बिचलित नभइकन अस्पतालको विकासका निम्ति लागि पर्नुहुने छ भन्ने आशा राखेकी छु । फेरि अस्पतालको विकास भन्दै गर्दा त्यहाँ कार्यरत सिमित कर्मचारीहरुको विकास मात्र नसम्झनु होला, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी आउने थलो हो यो । यहाँले देख्नु भएको होला अधिकांश बिरामीका कुरुबाहरुको त खुट्टामा चप्पल समेत हुँदैनन । उनीहरुका लागि पनि निर्धक्क उपचार गर्नसक्ने गरी विकास होस् अस्पतालको ।
केन्द्रिय तथ्यांक बिभागको जिम्मेबारी सम्हाल्नुपर्ने मेडिकल रेकर्डलाई बिरामीको नाम दर्ता गर्न, फाइल निकाल्ने र राख्ने काममा मात्र सिमित गराइएको छ । अझ कति सम्म कि अस्पातलमा दर्ता भएका बिरामीलाई यदि कम्युनिटी सम्म contact Tracing गर्नुपर्यो भने १० प्रतिशतलाई पनि tracing गर्न सकिने गरी जानकारी भेटिदैन । अब यहाँको कार्यकालमा पक्कै पनि त्यस्तो हुँदैन ।
बिरामीका आफन्तहरु कहिले दर्ता गराउन लाइन बस्नुपर्ने कहिले ? फेरी नाम गलत भएर सच्याउन लाइन बस्नु पर्ने समस्या समाधान गर्न अनिवार्य रुपमा नगरिकता अथवा जन्मदर्ता अनुरुप नाम, जन्म मिति तथा बिरामीको पूर्ण ठेगाना (जिल्ला, पालिका, वार्ड न, गाउँ र टोलको नाम) सहित दर्ता अभिलेख रहने छ जसले अस्पातलमा क्यान्सर निदान तथा उपचार गरेका बिरामीलाई ६ महिना वा बर्ष दिनपछि कम्युनिटीमा tracing गर्नुपरे पनि सहज रुपमा भेटाउन सकिने छ र यसले क्यान्सर Surveillance कार्यमा ठुलो योगदान दिने छ ।
आदरणीय सर, यहाँलाई थाहा नभएको होइन अहिलेको समय बैज्ञानिक युग हो । Evidence-based action भने जस्तै scientifically Proven तथ्यांकको प्रयोग गर्नुपर्ने हुन्छ जसले यहाँलाई आफ्नो निर्णयमा अडिग हुन सहयोग पुर्याउँछ । त्यसका लागि यहाँलाई चाहिने बलियो आधार भनेको मेडिकल रेकर्ड नै हो । यस अगाडिका निर्देशकज्युहरुले पनि राम्रा राम्रा काम नगर्नु भएको भने होइन । तर अस्पतालको मुख्य योजना आयोगको भूमिका निभाउने मेडिकल रेकर्डको अवस्था भने दशकौ देखिनै उस्तै रहेको छ ।
मलाई आशा छ यहाँको कार्यकालमा यस अस्पतालले पक्कै कोल्टे फेर्ने छ । मैले ३ बर्ष अगाडि पत्रिकामा पढेको ‘बी. पि. कोइराला मेमोरिअल क्यान्सर अस्पातल डिजिटल प्रणालीमा’ भन्ने त्यो समाचारले पूर्ण सार्थक पाउने छ । Electronic मेडिकल रेकर्डमा बिरामीका आवश्यक कागजात Scan गरी सुरक्षित रहने छन् जसले गर्दा बेलुका नाइट गाडी चढेर बिहान अस्पताल पुगेर स्वास्थ्य जाँच गरी बेलुकाको नाइट गाडीमा फर्किहाल्ने भन्दै कार्यालयमा दुई दिन मात्रै छुट्टी लिएर आएका बिरामीका आफन्तले अस्पतालमा राखेको फाइल नभेटिएर OPD देखि मेडिकल रेकर्ड अनी फेरि OPD गर्दा गर्दै आधि दिन बितिसक्यो तर फाइल भेटिएन, अब कसरी जाँच गराउने होला भन्दै थकित र निरास हुने दिनको सायद अन्त हुनेछ ।
केन्द्रिय तथ्यांक बिभागको जिम्मेवारी सम्हाल्न सक्ने गरी मेडिकल रेकर्डको स्तर बृद्धि हुनेछ, हेर्दा पनि अहो यस अस्पातलले पक्कै पनि तथ्यांकको महत्व बुझे जस्तो छ भन्ने देखिनेछ । पक्कै पनि क्यान्सर रोग सँग सम्बन्धित अनुसन्धान गर्न खोजिएका आवश्यक तथ्यांकहरु सजिलै सँग डिजिटल माध्यम मै भेटिनेछन् ।
यहाँलाई थाहा नभएको होइन होला, एउटा क्यान्सर अस्पतालको निम्ति अस्पतालमा आधारित क्यान्सर रजिस्ट्रीको (Hospital based cancer registry, HBCR) निक्कै नै महत्व रहेको हुन्छ । तर दुई दशकदेखि गरिँदै आएको HBCR कसरी भएको छ ? त्यो किन गरिएको हो र गर्न किन आवश्यक छ भन्ने कुरा शायद ५ प्रतिशत वरिष्ट कर्मचारीलाई पनि थाहा नहुनसक्छ । आशा छ यहाँले त्यो महत्व बुझेर अन्तर्राष्ट्रिय स्तरको HBCR को सुरुवात गर्नुहुने छ जसले यहाँलाई अस्पतालको सेवाको गुणस्तर अभिवृद्धि गर्न Evidence based decision making गर्न सहयोग गर्न सकोस् । आशा छ अबको HBCR ले बिरामी अस्पातलमा दर्ता भएपश्चात् कति दिन भित्र रोगको निदान भएको छ भन्न सक्ने छ ।
रोग निदान भएपश्चात् प्रथम पटक उपचार सुरु हुन बिरामीले कति दिन पर्खिनु परेको छ भन्न सकोस, common क्यान्सर र rare क्यान्सरहरुको कारक तत्वको ‘Risk Factors’ हरुको अनुसन्धान गरी निचोड निकाल्न सकोस्, अस्पतालमा आउने बिरामीले कुन स्टेजको क्यान्सर लिएर आएका छन् ? कुन मितिमा निदान भएको बिरामी कुन मिति सम्म बाँच्न सफल भएको छ ? स्पष्ट तथ्यांक दिन सक्ने छ । HBCR ले अस्पताल भित्रको क्यान्सर Epidemiology को अध्ययन गर्न आवश्यक सम्पूर्ण तथ्यांक संकलन गरी क्यान्सर रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
मलाई आशा छ यस अस्पतालले अबका दिनहरुमा नेपालमा अवस्थित अन्य क्यान्सर अस्पतालहरुमा पनि HBCR को महत्व बुझाउन सक्ने छ अनि सबै अस्पतालहरुमा high quality HBCR स्थापना गर्न leader organization को भूमिका निर्बाह गर्ने छ । हाम्रो देशमा पनि अन्य विकसित देशमा जस्तै Association of Hospital Based Cancer Registry को स्थापना हुने छ अनि नेपाल सरकारले देशैभर जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री (Population-based Cancer Registry) गर्न सक्ने छ जसका आधारमा क्यान्सर रोकथाम तथा नियन्त्रणका नीति तथा रणनीति बन्ने छ । राष्ट्रिय कर कोषले पनि करको केही हिस्सा HBCR तथा PBCR लाई भनेर नियमित छुट्ट्याउन सक्ने छ, HBCR को सहयोगले क्यान्सर उपचारको गुणस्तर उकासिने छ अनि PBCR को माध्यमबाट क्यान्सर रोगको रोकथाम तथा नियन्त्रण हुने छ ।
अन्तर्राष्ट्रिय रजिस्ट्री संघसंस्थाहरु जस्तैः Global Initiative for cancer registry Development, International Association of Cancer Registry, St. Jude Cancer Registry जस्ता संस्थाहरुले नेपालसंग सहकार्य गर्न आतुर हुने छन् अनि हाम्रो देश पनि क्यान्सरको क्षेत्रमा वाह भन्न लायक हुने छ ।
मलाई आशा छ यहाँको कार्यकालमा हात्तीको देखाउने दाँतको रुपमा रहेको अस्पतालको पुस्तकालयमा वर्षौदेखि Start पनि नहुने कम्प्युटरहरु replace गरी high speed ईन्टरनेट, indexed journals हरुका जर्नलका platforms सहज उपलव्धता सहितको अनुसन्धान पुस्तकालय बन्ने छ । अस्पतालमा अनुसन्धान गर्ने संस्कृतिको विकास हुने छ, महत्वपूर्ण क्लिनिकल Clinical Trial हरु गर्न अस्पताल सक्षम हुने छ, अनुसन्धानका लागि विदेशी लगानीहरु भित्रिने छन् अनि अनुसन्धानकर्ताहरुको लागि पनि रोजगारीका बाटाहरु खुल्नेछन् ।
मलाई पूर्ण विश्वास छ अब अस्पतालको वातावरण यस्तो हुने छ कि कर्मचारीहरु भेला हुँदा राजनीतिक दलहरुको यस्तो उस्तो भन्दै गफ हान्ने भन्दा पनि अस्पतालको विकास सम्बन्धमा छलफल गर्नेछन् । स—साना समस्याहरु नियालेर ठुलो बनाउन होइन कि त्यसको समधानको उपायहरुको अध्ययन तथा खोजी गरी आवश्यक सल्लाह सुझाव दिने सम्बन्धमा छलफल हुनेछन्, फेसबुकका वालहरुमा पनि अस्पताल कै विकास सम्बन्धिका स्ट्याटसहरु पोस्ट हुनेछन् ।
अस्ती भर्खर एउटा समाचार पढेकी थिएँ, १९ महिनामा १३ लाख युवा युवती रोजगारीको शिलशिलामा देश छाडे अरे, हामी जस्ता आफ्नो देशमा पनि अवसर छ भन्दै काम गर्न बसेकाहरुको लागि पनि चित्त बुझाउने ठाउँ बन्नेछ बि. पि. कोइराला क्यान्सर अस्पताल । सक्षम युवा युवतीहरु अनि निमुखा बिरामीहरुको आकर्षणको केन्द्र बन्नेछ बि. पि. कोइराला क्यान्सर अस्पताल ।
अहो ! शुभकामना दिँदादिँदै धेरै नै हुन आटेछ भर्खर मात्र पद भार सम्हाल्नुभएको यहाँलाई पढ्ने समय पनि नहोला यती भन्दै यहाँ लगायत सम्पूर्ण नयाँ कार्यकारी बोर्डलाई सफल कार्यकालको मुरीमुरी शुभकामना ।
उही हजुरको सिस्टर
उमा काफ्ले