Logo
|
Sunday 22nd December 2024
Logo

epaper

‘ अस्पताल व्यवस्थापन सिद्धान्तको प्रयोग मात्र नभएर सीप पनि हो’-धर्मराज गोसाई, वरिष्ठ अस्पताल व्यवस्थापक

टिमवर्क र को—अर्डिनेशनमार्फत् समय सिमा भित्र निर्धारित लक्ष्य प्राप्त गर्न सक्नु अब्बल व्यवस्थापकको गुण हो



तपाईको करियरबारे बताइ दिनुस् न ?

म व्यवसायिक रूपमा नै विगत २० वर्षदेखि अस्पतालको व्यवस्थापनको भूमिकामा विभिन्न अस्पतालहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था र स्वास्थ्य सेवा कार्यक्रममा संलग्न छु । मेरो करियरको शुरूवात् सिभिल इन्जीनियरिङ्गबाट भएता पनि रूकुम जिल्लामा मिसन अस्पताल निर्माणको क्रममा अस्पताल व्यबस्थापनको विद्यार्थीको रूपमा नै आफ्नो पेशा रूपान्तर गरेको हुँ । हाल सम्म यसैमा संलग्न छु ।

धर्मराज गोसाई-वरिष्ठ अस्पताल व्यवस्थापक


अस्पताल व्यवस्थापन विषय तर्फ यहाँ किन आकर्षित हुनुभयो ?


रूकुममा अस्पताल निर्माण कार्यको नेतृत्व गरिरहेको अवस्थामा अस्पताल व्यवस्थापन टिमसँग मिलेर काम गर्नुपर्दथ्यो । अस्पताल भवन निर्माणको योजना, डिजाइन र निर्माण विभिन्न विभागहरू र उपचार कक्षहरू, अस्पतालको इन्जिनियरिङ, खानेपानी, फोहोर व्यवस्थापन इत्यादी कामका लागि अस्पताल प्रशासक सँग काम गर्नुपथ्र्यो ।

अस्पताल प्रशासक नै त्यहाँ अस्पतालको प्रमुख हुने व्यवस्था थियो । त्यस समयमा नेपालको सन्दर्भमा सबै अस्पतालमा डाक्टर नै प्रमुख हुने प्रचलन थियो । अहिले पनि छ । तर त्यो मिसन अस्पतालमा डाक्टर मेडिकल सेवामा मात्र केन्द्रित हुने गर्दथे र सेवा प्रभावकारी थियो । अस्पताल सँग सम्वन्धित सम्पूर्ण प्रशासकिय कामहरु अस्पताल व्यवस्थापकले गर्दथे ।

अस्पतालले सेवा प्रभावकारी रुपमा दिन सकेको थियो । जुन कुराले मलाई प्रभावित पार्र्यो र कुशल व्यवस्थापकको भूमिका अस्पतालमा डाक्टर, नर्स लगायतका उपचारमा संग्लग्न प्राविधिकहरूलाई प्रभावकारी गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग गर्नु नै हो । यो नयाँ प्रयोग नै म अस्पताल व्यवस्थापन तर्फ आकर्षित हुनुको मुख्य कारण रहन गयो ।


कुन कुन संस्थाको व्यवस्थापन ह्यान्डल गर्नुभयो ?


म विशेषगरी गैर सरकारी संस्थाद्धारा संचालित अस्पताल र केही अर्ध सरकारी, सहकारी र प्रतिष्ठानमा रही अस्पताल व्यवस्थापनको नेतृत्व लिए । जसमध्ये चौरजहारी मिसन अस्पतालमा पहिलो नेपाली प्रशासक भएर स्थापनाकालदेखि सञ्चालनको नेतृत्व लिएँ । चौरजहारी मिसन अस्पतालको सञ्चालक संस्था एचडीसीएसको मुख्य कार्यालय काठमाडौमा बसेर अस्पतालहरूको लागि संयोजनको जिम्मेवारी लिएर काम गरेँ । त्यसबेला एचडीसीएस पाँच वटा मिसन अस्पतालको व्यवस्थापन गर्दै थियो । २ वर्ष लमजुङ जिल्ला सामुदायिक अस्पतालको निर्देशक भएर काम गरेँ ।

मैले त्यहाँ हुँदा पब्लिक प्राइभेट पाटर्नरसिपको अवधारणालाई कार्यान्वयन गर्दै अस्पतालको सेवाको स्तरोन्नती र सेवा विस्तार गर्न प्रमुख भूमिका निभाएँ । स्तुपा स्वास्थ्य सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा २ वर्ष जति काम गरेँ । तत्कालीन नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्तुपा अस्पताल र अनुसन्धान केन्द्रको व्यवस्थापन र सहकारीको नेतृत्व लिई काम गर्नु मेरो मुख्य जिम्मेवारी थियो ।

इलाममा मैले सामुदायिक अस्पतालको निर्देशक र व्यवस्थापन परामर्श दाताको रुपमा १ वर्ष काम गरेँ । त्यहाँ काम गर्दा धेरै नयाँ कुरा सिकेँ र मेरो अवधिमा घुम्ती स्वास्थ्य शिविर र अस्पतालको सेवा विस्तार तथा प्रवाह अस्पतालको इतिहासमा उच्च रहेको थियो । त्यसपछि जर्मन सहयोग नियोग (जिआईजेट) को आकस्मिक मातृ तथा शिशु स्वास्थ्य उपचार कार्यक्रमको मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय कार्यक्रम संयोजक भएर २ वर्ष काम गरेँ । यो कार्यक्रमले सरकारी स्वास्थ्य केन्द्रबाट उपलब्ध गरिने आमा र बच्चाको उपचारको लागि संलग्न स्वास्थ्यकर्मीहरूको क्षमता अभिबृद्धि र स्वास्थ्य संस्था ब्यवस्थापनमा सहयोग गर्दथ्यो ।


यसरी जिआईजेटको काम पश्चात म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निर्देशक भएर ४ वर्ष काम गरेँ । प्रतिष्ठानको निर्देशक भएर अस्पतालको सेवाको स्तरोन्नती, कर्मचारी प्रशासन, जनसम्पर्क सामुदायिक स्वास्थ्य कार्यक्रम र प्रतिष्ठानका १३ कार्यक्रम जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन लगायत जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारकोलागि नेतृत्व गरेँ । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा, जनस्वास्थ्य नर्सिङ विधाका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन, स्वीकृति लिन आवश्यक कार्य गरेको थिएँ ।


पछिल्लो समयमा म नेपाल भारत मैत्री हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको पदमा काम गरेँ । १०० शैयाको यस अस्पतालमा आईसियू, एनआईसियू, डायलाइसिस सहित सबै किसिमका बहिरङ्ग अन्तरङ्ग र निदानात्मक सेवाहरु उपलब्ध छन् । अस्पतालले नर्सिङ तथा चिकित्सा शिक्षाका डिप्लोमा कार्यक्रम सञ्चालन गर्न पूर्वाधार निर्माण तथा प्रक्रिया पुरा गरिरहेको छ ।


अब्बल व्यवस्थापकमा हुनुपर्ने गुणहरु बताइदिनुस् न ?


अब्बल व्यवस्थापक सम्बन्धित विषयको ज्ञाता हुनुपर्दछ । जसको लागि आवश्यक उच्च अध्ययन डिग्री हाँसिल गरेको हुनु नै पर्यो । व्यवस्थापन प्रतिपादित सिद्धान्तको प्रयोग मात्र नभएर सीप र कला पनि हो ।

एउटा कुशल व्यवस्थापकमा दुरदर्शिता, इमान्दारिता, निर्णय गर्न सक्ने क्षमता, समन्वयकर्ता, प्रेरणादायी र दयालु, परिवर्तन र प्रबिधि मैत्री र लचकता जस्ता गुणहरु हुनुपर्दछ । समस्याको पहिचान र समाधान गर्न सक्ने, आर्थिक प्रशासन र मानव स्रोत साधनको व्यवस्थापन गर्न सक्ने, समन्वय र जनसम्पर्क गर्न सक्ने क्षमता एक कुशल व्यवस्थापकमा हुनुपर्दछ र अस्पतालको सेवा प्रवाहमा समयको व्यवस्थापन अति महत्वपूर्ण हुन्छ ।

अस्पताल ब्यवस्थापनको मुख्य उध्देश्य नै अस्पतालबाट उपलब्ध सेवाहरूको गुणस्तर सुनिश्चित गरी सहज र सरल किसिमले सबै वर्ग र तहका जनताको लागि पहुच हुने गरी उपलब्ध गराउँनु हो । यी गुणहरुका अतिरिक्त संगठन निर्माण र व्यवस्थापनको लागि टिमवर्क र को—अर्डिनेशन मार्फत समय सिमा भित्र निर्धारित लक्ष्य प्राप्त गर्न सक्नु अब्बल प्रशासक व्यवस्थापकका गुणहरू हुन्छ । संस्थाको लक्ष्य प्राप्तीका लागि न्यायोचित निर्णय र त्यसको कार्यान्वयन महत्वपूर्ण रहन्छ ।

प्रतिक्रिया दिनुहोस्