Logo
|
Saturday 27th July 2024
Logo

epaper

‘मानसिक रोगको समयमा उपचार गरे आत्महत्या रोकथाम गर्न सकिन्छ’



जनस्वास्थ्य सरोकार, चितवन । आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित एक कार्यक्रममा चिकित्सकले बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा गरिएको कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले मानसिक रोगीको उपचार गर्‍यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।”

आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उनले उपचार गरे भने झनै कम हुने बताउनुभयो । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “कुरा सुनाइसकेपछि कारण के हो ? कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।”

आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उहाँले भन्नुभयो, “व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला ?’ जस्ता विवादका सोच आउँछन् ।” यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उहाँको भनाइ छ ।

कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उनले सही व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ ।” करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उहाँको भनाइ छ । उहाँले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताउनुभयो ।

चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोशिस गरेको हुने भन्दै उहाँले भन्नुभयो, “आठ पठक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।” यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उहाँको भनाइ छ ।

नेपालको स्वास्थ्य बजेटको शुन्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा. भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताउनुभयो । उहाँले भन्नुभयो-“मानसिकरुपमा बिरामी छ भने शारीरिक रुपमा स्वस्थ हुनै सक्दैन ।”

आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।” गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उनले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्