Logo
|
Wednesday 1st May 2024
Logo

epaper

प्रारम्भिक चरणमा पत्ता लागेमा वाथरोगीलाई सामान्य अवस्थामा फर्काउन सकिने

वाथले शरीरका भित्री अंगमा असर गर्नेदेखि शारीरिक रूपमा नै अपाङ्ग बनाउन सक्छ



हरेक वर्ष अक्टोवर १२ मा विश्व वाथरोग दिवस मनाउने गरिएको छ । यस वर्ष सन् २०२३ मा लिभिङ वीथ एन आरएमडी एट अल स्टेजेज अफ लाइफ अर्थात ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) बाट बाँच्ने’ भन्ने रहेको छ । र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज भनेको हाडजोर्नी र मांशपेशी दुख्ने समस्या हो ।

आजभन्दा २० वर्ष अगाडि नेपालको परिदृश्य हेर्दा र वर्तमान अवस्थाको तुलना गर्दा बाथरोगको उपचार र जनचेतनाको स्तर बढेको छ । त्यो बेला आम–जनमानसमा बाथ रोग के हो ? कसरी लाग्छ ? रोगबाट निदान पाउन सकिन्छ वा सकिदैन ? बाथरोगको उपचार नेपालमा सम्भव छ वा छैन ? बाथरोग साच्चिकै रोग हो वा होइन ? भन्ने बारे अन्योलता थियो । तर अहिले बाथरोगलाई चाँडो निदान गरी उपचार गरेमा सजिलैसँग राम्रो अवस्थामा फर्काउन सकिन्छ भन्ने कुरा हाम्रो अभ्यासबाट प्रमाणित भइसकेको छ ।

बाथ एक किसिमको अटो इम्युन रोग हो । यसका दुइ सयभन्दा बढी प्रकार छन् । समयमा बाथरोग पहिचान हुन नसक्दा यसले शरीरका भित्री अंगमा असर गर्नेदेखि मानिसलाई शरीरिक रूपमा नै अपाङ्ग (कुजो) बनाउन सक्छ । सर्वसाधारणमा चेतनास्तर बढ्दै गएको छ । अहिले हामी नेपालमै बाथरोगको सफल उपचार गरिरहेका छौं ।


बाथरोग दुखाईबाट सुरू हुन्छ । हाडजोर्नी, नसा, मांशपेशी दुखेर उत्पति हुने रोगलाई बाथ भन्छौँ । तराई क्षेत्रतिर यसलाई गठिया रोग पनि भनिन्छ । लक्षणका आधारमा बाथको प्रकार पहिचान गर्नुपर्छ । यो मानव अस्थिपञ्जर प्रणालीलाई प्रतिनिधित्व गर्ने रोग हो । यसले टाउकोदेखि खुट्टासम्मका जुनसुकै हाडजोर्नीमा समस्या गराउन सक्छ । त्यसैले बाथरोगको प्रकारको आधारमा उपचारको प्लान बनाउनुपर्छ ।

बाथ रोगको दुखाई कसरी पहिचान गर्ने?
अन्य दुखाइको तुलनामा बाथ रोग शरीरभित्रबाट हुने दुखाई हो । अन्य दुखाई बाहिरी चोटपटक, ट्रमा र मेकानिकल दुखाइले गर्दा हुन्छ । यो बाहिरी तत्वको असरले गर्दा हुन्छ । खेल्दा हिड्दा चोट लागेमा हामीलाई थाहा हुन्छ । तर बाथरोगको दुखाई एकदमै सिभिएर दुखाइ हो । दुखेको हाडजोर्नी सुन्निने र फुल्ने गर्छ । बिहान उठ्ने वित्तिकै जोर्नी अरठ्ठ पर्ने, शरीर कक्रक्क हुने, हिँड्न, बस्न र उठ्न गाह्रो हुन्छ । यसलाई अर्ली मोर्निङ स्टिफनेस भनिन्छ । बाथ रोगको दुखाईलाई इन्फ्लामेन्ट्री ग्रुप (शरीरभित्रबाट हुने दुखाई) मा राखिएको हुन्छ ।

लक्षण
बिहान उठ्ने बित्तिकै हातखुट्टा कक्रक्क हुने, जोर्नी जाम हुने, हिँड्न, बस्न र उठ्न गाह्रो हुन्छ । साथै हाडजोर्नी दुखेर, सुन्निएर चलाउन समेत गाह्रो हुन्छ । कतिपयलाई त बोकेर समेत अस्पताल ल्याउनुपर्छ ।

जटिलता
बाथले हड्डी, मांशपेशी, मुटु, नशा, छाला, आँखा लगायत विभिन्न अंगहरूमा असर पुर्याउन सक्छ । समयमा उपचार नपाउँदा कतिपय बिरामी कुजो भएर बस्न बाद्य छन् ।

बाथरोगको समयमै औषधोपचार भएमा रोग नियन्त्रण हुने र निकट भविश्यमा हुनसक्ने सम्भावित जटिलता कम गर्न सकिन्छ । यसले शरीरका अन्य अंग जस्तै, मुटु, मिर्गौला, कलेजो र फोक्सोलाई हानी पु¥याउनबाट बचाउन सकिन्छ । बिरामीलाई समयमै राम्रोभन्दा राम्रो अवस्थामा उभ्याउन सकिन्छ ।

के बाथ रोग निको हुन्छ ?
ब्याक्टेरिया, भाइरस, जीवाणु र किटाणूबाट उत्पति हुने बाथरोग सतप्रतिशत निको भएर जान्छन् । ९८ प्रतिशत बाथ शरीरभित्रबाट उत्पति हुने रहेका छन् । शरीरभित्रबाट उत्पति हुने बंशाणुगत बाथलाई पूर्णरुपमा निर्मूल पार्न सकिदैँन । यसलाई मधुमेह, उच्च रक्तचाप, मिर्गौला र कलेजो रोगलाई जस्तै नियन्त्रणमा राख्नुपर्छ ।

नेपालमा बाथरोगीको संख्या
नेपालमा बाथरोगीहरुको एकिन तथ्याङ्क छैन । तर नेपालमा करिब ३० लाखमा कुनै न कुनै प्रकारको बाथरोग भएको अनुमान गरिएको छ । पहिले बाथरोगको उपचार नै थिएन । बिरामीहरु ट्रेडिसनल औषधि खाएर बस्थे ।

अहिले करिब ३० देखि ४० प्रतिशत पीडित व्यक्तिले उपचार पाएका छन् । उनीहरुको जीवनशैली राम्रो हुँदै गइरहेको छ । बाथरोगको समयमै उपचार गर्दा निकट भविश्यमा आउनसक्ने जटिलतालाई न्युनिकरण गर्न सकिन्छ ।

आम सर्वसाधारणले बुझ्नुपर्ने कुरा
शरीरभित्र हुने कुनैपनि दुखाईलाई सकेसम्म बुझ्ने प्रयास गर्नुपर्छ । हाडजोर्नी र मांशपेशीको दुखाइमध्ये कुनको दुखाइ हो भन्नेबारे पहिचान गर्नुपर्छ । दुखाईलाई हेलचेक्र्याई गर्नुहुँदैन र बढ्न पनि दिनुहुँदैन । दुखाई भएको ४ देखि ६ महिनासम्म बाटो हेरेर बस्नुहुँदैन । जतिसक्दो चाँडो विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ ।

(डा. गुप्ता र्युमाटोलोजी एण्ड आर्थराइटिस सेन्टरमा कार्यरत हुुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्