Logo
|
Wednesday 1st May 2024
Logo

epaper

स्ट्रोक उपचारमा ढिलाइ नगर्न चिकित्सकहरूको सुझाव, जीवनशैली परिवर्तन गर्न सकेमा ९० प्रतिशत स्ट्रोक रोक्न सकिने

विश्व स्ट्रोक दिवस २०२३ः ‘हामी सबै मिलेमा पक्षघात भन्दा माथि उठ्न सक्छौं’



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर स्ट्रोक (मस्तिष्कघात) को जोखिम बढ्दै गएको छ । पहिले वृद्धवृद्धालाई मात्र लाग्ने यो रोगले अहिले युवाहरूमा समेत असर गरिरहेको छ ।

डा. सुभाष फुयाल


स्ट्रोकको बढ्दो जोखिम, रोकथाम र उपचारका बारेमा सचेतना जगाउन र स्ट्रोक पीडितहरूको हेरचाह सुनिश्चित गर्न प्रत्येक वर्ष अक्टोबर २९ मा विश्व स्ट्रोक दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ ।


सन् २०२३ मा विश्व स्ट्रोक दिवसको नारा ‘टुगेदर वी आर ग्रेटर देन स्ट्रोक’ अर्थात ‘हामी सबै मिलेमा पक्षघात भन्दा माथि उठ्न सक्छौं’ भन्ने रहेको छ । यो नाराले उच्च रक्तचाप, मुटुको धड्कन अनियमित हुने, धुम्रपान, आहार र व्यायाम जस्ता जोखिम कारकहरूको रोकथाममा जोड दिएको छ । जोखिम कारकहरूलाई नियन्त्रण गर्न सकेमा लगभग ९० प्रतिशत स्ट्रोक रोक्न सकिने विज्ञहरू बताउँछन् ।


उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलका कन्सल्यान्ट न्युरोलोजिष्ट डा. घनश्याम खरेलका अनुसार, स्ट्रोकले बिरामी डिप्रेसनमा जाने लगायतका समस्या निम्तिनसक्छ । विश्व मान्यता अनुसार जोखिक कारकलाई नियन्त्रण गर्न नसकेमा ४ जनामध्ये एकजनालाई आफ्नो जीवनकालमा स्ट्रोक हुनसक्छ । धुमपान, मध्यपान, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, अनियन्त्रित सुगर, मुटुको समस्या आदिले स्ट्रोकको समस्या ल्याउन सक्छ । त्यसले यस्ता समस्यालाई औषधिको माध्यमबाट नियन्त्रणमा राख्नुपर्छ ।

डा. घनश्याम खरेल


स्ट्रोक भएका व्यक्तिहरूको व्यालेन्स नहुने, आँखाको ज्योति जाने वा एउटा चिजलाई दुईवटा देखेमा, एकाएक अनुहार बांगिएमा, हात वा खुट्टाको एक भाग कमजोर भएमा, बोली एकाएक लरबराउने वा बोल्न नसक्ने हुनसक्छ । यस्तो अवस्थामा तुरून्त उपचारका लागि अस्पताल पु¥याउन डा. खरेलले आग्रह गर्नुभयो ।


अस्पतालका कन्सल्यान्ट न्युरो इन्टरभेन्सनिष्ट डा. सुभाष फुयालले स्ट्रोकको सजिलै उपचार गर्न बाँसबारी न्युरो हस्पिटलमा नयाँ आधुनिक प्रविधि भित्रिएको र यसबाट स्ट्रोकलाई पूर्ण रूपमा निको पार्न सकिने बताउनुभयो । सन् २०१५ मा मस्तिष्कघातको उपचारका लागि विश्वमा नै नयाँ प्रविधि भित्रियो । जसमा टाउको नखोली दिमागको बन्द भएको नसालाई खुट्टाको नसाबाट एउटा सानो तारको मद्धतले बन्द भएको नसा खोलिन्छ र बिरामी पहिलाको जस्तै बोल्न हिँड्न सक्नेजस्तो सामान्य अवस्थामा ल्याउन सकिन्छ । यो सुविधा बाँसबारी न्युरो हस्पिटलमा सन् २०१९ देखि उपलब्ध भएको उहाँले जानकारी गराउनुभयो ।

प्रा.डा. मधु दीक्षित देवकोटा


विश्व स्ट्रोक दिवसका अवसरमा उपेन्द्र देवकोटा फाउन्डेसन र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेसले स्ट्रोक सचेतनासम्बन्धि विभिन्न प्ले कार्डसहितको प्रभातफेरि गरेको छ भने अस्पताल परिसरमा स्टल राखेर स्ट्रोक सम्बन्धि जानकारी, खानपान र स्वस्थ्य जीवनशैली, निःशुल्क परामर्श र निःशुल्क परीक्षण गरेको छ ।


अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले पक्षघात किन हुन्छ ? कस्तो मानिसमा हुन्छ ? पक्षघात भइहालेको अवस्थामा हामीले के के गर्नुपर्छ ? भन्ने विषयको सेरोफेरोमा रहेर कार्यक्रम गरिएको बताउनुभयो ।


अस्पताल स्थापना कालदेखि पक्षघातको रोकथाम र त्यसबाट उत्पन्न समस्यामा केन्द्रित रहेर काम गर्ने मुख्य उद्देश्य रहेको थियो । यो स्वर्गीय प्रा.डा. उपेन्द्र देवकोटाले विश्व समुदायपनि मौन रहेको अवस्थामा यो अभियान शुरू गर्नुभएकाले हामी स्ट्रोक सम्बन्धि सेवामा सँधै तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । स्नायुसम्बन्धि रोगहरू जस्तै मस्तिष्क पक्षघात, ब्रेन हेमोरेज, एन्युरिजमलगायतका रोगको निदान र उपचारका नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराइरहेको उहाँले जानकारी गराउनुभयो ।


अध्यक्ष प्रा. डा. देवकोटाका अनुसार, छिटो आएमा स्नायु चिकित्सकहरूले रगतको नसाबाट रगतको थेग्लो पगाल्ने औषधि दिएर उपचार गर्नुहुन्छ । यदि अस्पताल पुग्न चार घण्टाको गोल्डन समय बितेर २४ घण्टाभित्र पुगेमा न्युरो इन्टरभेन्सनिष्ट नेपालमा पहिलोपटक भित्रिएको वाइप्लेन क्याथ ल्याबमा तिघ्राबाट रगतको नसामा क्याथेटर छिराएर मस्तिष्क भित्र रहेको थेग्लो निकालेर बिरामीलाई निको बनाइन्छ । यदि यो समय पनि गुज्रेमा डिकम्प्रेसिभ सर्जरीबाट पनि बिरामीको जीवन बचाउने कोशिस गरिन्छ । यो फुल रेञ्ज कम्प्रिहेन्सिभ केयर सेवा अस्पतालमा उपलब्ध रहेको छ । पक्षघात भएकाहरूलाई फिजियोथेरापी, रिह्याविलिटेसनको सुविधा २४ सै घण्टा उपलब्ध छ ।

सो अवसरमा स्ट्रोकका कारण मृत्युको मुख पुगेर नयाँ जीवन पाएकाहरूले आफ्नो अनुभव सुनाउनुका साथै बेलुन उडाएर खुशी साटेका थिए ।


ब्रेन स्ट्रोक एक चिकित्सा आपतकालीन अवस्था हो जसमा मस्तिष्कको कुनै पनि भागमा रक्तसञ्चारमा अवरोध उत्पन्न हुन्छ वा रक्त आपूर्ति कम हुँदा मस्तिष्कको कुनै पनि भागको मृत्यु हुन सक्छ ।


सन् २००४ मा क्यानडामा वल्र्ड स्ट्रोक कंग्रेसले स्ट्रोक दिवस मनाउन थालेपछि त्यसको दुई वर्षपछि सन् २००६ देखि जनचेतनाका लागि विश्वव्यापी रूपमा मनाउन थालिएको हो । सन् २००६ मा विश्व स्ट्रोक संगठन, विश्व स्ट्रोक महासंघको अगुवाइमा अन्तर्राष्ट्रिय स्ट्रोक समाज स्थापित भएको थियो । त्यसयता विश्व स्ट्रोक संगठन (डब्लुएसओ) ले विभिन्न प्लेटफर्ममा विश्व स्ट्रोक दिवस (डब्लुएसडी) मनाउँदै आएको छ ।


सन् १९९० मा विश्वव्यापी रूपमा स्ट्रोकको संख्या बढ्दै गएका कारण विश्व स्ट्रोक दिवस अस्तित्वमा आएको थियो । यसको निदान र उपचारको उचित व्यवस्थापनको कमीका कारण धेरैको मृत्यु र अशक्तता बढेपछि सन् २०१० मा विश्व स्ट्रोक संगठनले स्ट्रोकलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।


विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस स्ट्रोकको सिकार हुने र करिब ५० लाखको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्