सामान्य ज्ञान समेत प्रयोग नगरी सिधै आईभिएफ गर्न सुझाव दिँदा…
आईभिएफ सेन्टरको गुणस्तर हेर्न समिति र सञ्चालन गर्न निर्देशिका आवश्यक
हालसालै एक निःसन्तान दम्पत्ति उपचारका लागि राजधानीको एक आइभिएफ सेन्टरमा गएका रहेछन् । त्यहाँ महिलाको पाठेघरको भित्री भाग राम्रो नभएकाले प्लाज्मा थेरापी (पिआरपी) गर्न भनिएछ । उनको पिआरपी उपचार गरियो । यो उपचारले सुधार आएन । त्यसपछि उनलाई ‘रिजेनेरेटिभ थेरापी’ गर्न भनियो । यसका लागि इन्डिया जानुपर्ने र सेन्टरले नै सम्पूर्ण व्यवस्था मिलाइदिने कुरा भएछ । त्यसपछि ति महिला क्यानडामा बस्ने आफ्नो दाइको सल्लाहअनुसार हाम्रो सेन्टरमा आइपुगिन् । हाम्रो चेक जाँचमा पाठेघरको भित्री भाग राम्रो र ओभुलेसन हुने क्रममा थियो । त्यसपछि एकपटक शारीरिक सम्बन्ध राख्न सल्लाह दियौं । गर्भ बस्यो । तर ‘ब्लाइटेड ओभुम प्रेग्नेन्सी’ भयो । यसलाई टर्मिनेट (समाप्त) गर्नुपर्यो । जब कि युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एण्ड इम्रियोलोजी (इएसएचआरआई) ले अहिलेसम्म पनि पिआरपी थेरापीलाई क्लिनिकल अभ्यासमा नभई अनुसन्धानको क्रममा रहेको उल्लेख गरेको छ । यसरी सामान्य ज्ञान समेत नभई सिधै आईभिएफ गर्न सुझाव दिने कारण कतिपय निःसन्तान दम्पत्तिले अनावश्यक दुःख पाइरहेका छन् । त्यसकारण हरेक आइभिएफ सेन्टरमा नैतिक अभ्यास हुन जरूरी छ ।
एआरटी निर्देशिका नहुँदा समस्या
यसरी एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) सम्बन्धि निर्देशिका नबनेकाले समस्या छ । यसप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यान जानुपर्छ । देशको माटो सुहाउँदो एआरटी निर्देशिका तयार गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय जगतमा इन्टरनेशनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (आईसिमार्ट) ले आईभिएफ सेन्टरहरूको गुणस्तर हेर्ने गर्छ । नेपाल सरकारले पनि नेसनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (एसिमार्ट) बनाउन जरूरी छ ।
सरोगेसीबारे मेरो धारणा
हालसालै सरोगेसीलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा अन्तरक्रिया भएको थियो । फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)को तर्फबाट सहभागिता जनाएको थिएँ ।
सरोगेसी चाहिने ब्यक्तिलाई कानुनी मान्यता दिनुपर्छ । तर सरोगेसीको व्यापारलाई पूर्णरूपमा निरुत्साहित गर्नुपर्छ । पाठेघरको भित्री भाग बिग्रिएको र निश्चित रोग लागेको अवस्थामा गर्भवती हुननसक्ने महिलाले सरोगेसी गर्न पाउनुपर्ने व्यवस्था गर्न सकिन्छ ।
ओभुम डोनेसन र एम्ब्रियो डोनेसनबारे अन्योल
अहिले वीर्यदानले कानुनी मान्यता पाएपनि ओभुम डोनेसन र एम्ब्रियो डोनेसनबारे अन्योल कायम नै छ । कहिलेकाहीँ अविवाहित सम्बन्धमा बसेका किशोरीहरू सामान्य खर्चका लागि ओभुम डोनेसन गर्ने इच्छा राख्छन् ।
अण्डादान गर्ने महिला प्रजनन् क्षमता प्रमाणित (फर्टिलिटी प्रुभन) हुनुपर्छ । बच्चा भइसकेको हुनुपर्छ । सकेसम्म निःसन्तान दम्पत्ति आफैले अण्डादान गर्ने महिला ल्याउने व्यवस्था गर्नुपर्छ । वीर्यदान गर्ने पुरुषको पनि प्रजनन् क्षमता प्रमाणित गर्न जरूरी छ ।
निःसन्तानको समस्या धेरै
कहिलेकाहीँ श्रीमान श्रीमती दुबैको स्वास्थ्य अवस्था राम्रो र ओभुलेसन भइरहेको हुन्छ । तर सहवासको समय नमिलेर गर्भधारण नहुनसक्छ । यस्तो अवस्थामा टिआई (टाइम्ड इन्टरकोर्ष) गर्न सकिन्छ । ओभुलेसन नभए औषधि चलाएर ओभुलेसन गराइ सहवासको समय मिलाइन्छ । यसैगरी ट्युब ड्यामेज, इन्डोमेट्रियोसिस, अनएक्स्प्लेन्ड इन्फर्टिलिटी र पुरूषमा शुक्रक्रिटको कमीका कारण निःसन्तानसम्बन्धि समस्या भएमा आइभिएफ गरिन्छ । ट्युबसम्बन्धि समस्या कारण धेरैमा निःसन्तानको समस्या पाइरहेका छौं ।
(लेखक क्रियटर्स आइभिएस सेन्टरका कार्यरत हुनुहुन्छ ।)