Logo
|
Thursday 24th October 2024
Logo

epaper

इजरेलद्धारा उत्तरी गाजामा निरन्तर बम आक्रमणः अस्पतालबाट बिरामी सार्न असम्भव

सिरिया र लेबननमा पनि आक्रमण



जनस्वास्थ्य सरोकार । इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ र गाजा सिटीस्थित एउटा महत्त्वपूर्ण अस्पतालनजिक चर्को गोलाबारी भइरहेको छ।

प्यालेस्टिनी रेड क्रेसन्टले त्यहाँको अल कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेका बताएको छ। इजरेली सेनाले आइतवार अस्तपाल खाली गर्न निर्देशन दिएको थियो।

तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट डाक्टर तथा उपचाररत बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्।

त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४,००० गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ।

सिरिया र लेबननमा पनि आक्रमण
इजरेली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा आक्रमण गरिएको बताएको छ। ती देशहरूबाट भएका रकेट हमलाको जबाफमा आफूले प्रत्याक्रमण गरेको इजरेलको दाबी छ।

इजरेली डिफेन्स फोर्सेसका अनुसार एउटा इजरेली लडाकु विमानले सिरियाली सीमाभित्र रहेको रकेट प्रक्षेपकहरूलाई लक्ष्य बनाई हमला गरिएको हो।

आईडीएफका अनुसार सिरियाबाट प्रहार गरिएका रकेटहरू खुला क्षेत्रमा खसेका थिए र त्यसबाट कुनै क्षति वा कोही हताहत भएको छैन।

इजरेली सेनाले लेबननमा रहेका हिज्बुल्लाह समूहले प्रयोग गरेका ठाउँहरूमा पनि हमला गरिएको जनाएको छ।

इजरेली हमलापछि आफ्नो घर छाडेर भागेका प्यालेस्टिनीहरूले गाजाको खान यूनिसमा संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चाालित शिविरमा आश्रय लिइरहेका छन् ।

सुरक्षा परिषद्‌को आकस्मिक बैठक
गाजामा विद्यमान मानवीय सङ्कटको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सोमवार आपत्कालीन बैठक बस्ने भएको छ।

प्यालेस्टिनी क्षेत्रमा इजरेलले स्थल सैन्य कार्बाहीलाई विस्तार गरेपछि यूएईले त्यस्तो बैठकको लागि आग्रह गरेको थियो।

प्यालेस्टिनीहरूलाई राहत सामग्री उपलब्ध गराइरहेको राष्ट्रसङ्घीय निकायले पनि बैठकका क्रममा सुरक्षा परिषद्‌ले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि बताइएको छ।

शनिवार बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अन्तर्राष्ट्रिय समुदायको समर्थनप्राप्त अति जरुरी मानवीय उद्धारका लागि आवश्यक विरामको साटो इजरेलले आफ्नो सैन्य कार्बाहीलाई अझ बढाएकोमा खेद व्यक्त गरेका थिए।

युद्धविराम गर्ने प्रस्तावमा कहिले रुस त कहिले अमेरिकाले भीटो प्रयोग गरेका कारण सहमति जुटाउने प्रयासमा सुरक्षा परिषद् अहिलेसम्म चार पटक असफल भइसकेको छ।

बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्