Logo
|
Saturday 27th April 2024
Logo

epaper

‘आफू वा आफन्तको शल्यक्रियामा आफ्नै विद्यार्थीमा भर पर्न सकियोस्’-प्रा.डा. अमित थापा

एक न्युरो सर्जनका रूपमा म त्यतिबेला सबैभन्दा गौरव ठान्छु, जब मेरो बिरामी सञ्चो हुँदा खुशी र त्यसपछि सामाजिक–आर्थिक रूपमा सक्षम हुन्छ’



प्रा. डा. थापा काठमाडौं मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको न्युरो सर्जरी विभागमा प्रमुख हुनुहुन्छ । नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन) र नेपाल एपेलेप्सी सोसाइटीको उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका उहाँ नेसोनको स्पाइन सेक्सनको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । नेसोनले प्रकाशित गर्ने नेपाल जर्नल न्युरो साइन्सेस (एनजेएनएस)को सम्पादक प्रमुख भएर काम गरेको अनुभव पनि डा. थापासँग छ । उहाँ सम्पादक हुँदा एनजेएनएस जर्नललाई साइटेसन इन्डेक्समा उच्च स्कोर प्राप्त भएको थियो । जसले नेपालका अनुसन्धानकर्ताहरूले देशभित्रै गरेको काम अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल भएको छ ।
डा. थापाले बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसबाट एमबिबिएस, भारतको पिजिआई चण्डिगढबाट एमएस (जनरल सर्जरीमा) र दिल्लीस्थित एम्सबाट एमसिएच (न्युरो सर्जरीमा) गर्नुभएको छ । उहाँ सन् २०१०देखि नेपालमा सक्रिय हुनुहुन्छ । सुरूमा डा. थापाले काठमाडौं विश्वविद्यालय अन्तर्गत उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उप–प्राध्यापकका रूपमा काम गर्नुभयो । सन् २०१२ देखि उहाँले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा न्युरो सर्जरी विभागको स्थापना गरी सेवा दिँदै आउनुभएको छ । प्रा.डा. थापा भन्नुहुन्छ–‘आफू वा आफन्तको शल्यक्रिया गराउँदा आफ्नै विद्यार्थीमा भर गर्न सकियोस् भन्ने चाहना छ । त्यही चाहनाअनुसार न्युरो सर्जरीको तालिम र अभ्यास गराउन सफल भएका छौँ ।’ जानौँ न्युरो सर्जरीको करियरबारे उहाँको आफ्नै शब्द ।

प्रा.डा. अमित थापा

मैले नेपालमा धेरै नयाँ प्रबिधिहरू विकास गरेको छु । नवीनतम् प्रमाणमा आधारित अभ्यासहरू प्रयोग गरेर प्रणालीहरूमा विकास गरेँ; जसले बिरामी र उनीहरूका परिवारहरूलाई मद्दत गरेको छ ।

मेरो उद्देश्य आवश्यकता पहिचान गर्ने, प्रविधिको विकास गर्ने, विशेषज्ञतालाई तालिम दिने र सुधार गर्ने हो । नेपालमा प्रतिभाको कुनै कमी छैन; चाहिने त लगन र समर्पण हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा व्यक्तिको योगदानलाई मान्यता दिनु समाजको दायित्व हो । ब्रेन ड्रेनले देशको विकासलाई धरासायी पारेको छ ।

मैले १० हजार जति न्युरो सम्बन्धित शल्यक्रिया गरिसकेको छु । यसमा ब्रेन ट्युमर, स्पाइन, ट्रमा, भास्कुलर, फंक्सनल, मिनिमल इन्भेजिव, पेडियाट्रिक, ब्रेकियल प्लेक्सेस सर्जरी सबै पर्छन् ।

प्रा.डा. उपेन्द्र देवकोटासँग काम गर्दा बिरामीलाई होसमा राखेर गरिने शल्यक्रिया ‘कम्प्लिट अवेक क्रेनियोटोमी’ विधिलाई विकास गर्नसकेँ; यसको विस्तारसँगै व्यापकता पनि बढेको पाउँदा खुशी लाग्छ ।

ब्रेकियल प्लेक्सेस उपचारलाई संस्थागत गर्न सफल भएँ । सुरूमा यो शल्यक्रियालाई लामो समय लिने गरेकोमा र परिणामहरू धेरै राम्रो नभएकाले बेवास्ता गरेको रहेछ । मैले धेरै नयाँ प्रबिधि र परिष्कृत प्रस्तुत गरेँ । हालसम्म डेढसयभन्दा बढी ब्रेक्रियल प्लेक्सेस सर्जरी गरिसकेको छु । यस विधिबाट गर्दा हात नचलेकामध्ये ८०–९० प्रतिशतमा सफलता मिलेको छ ।


नेपालमा नाकको प्वालबाट टाउकाको ट्युमर निकाल्ने (इन्डोस्कोपिक स्कल बेस) शल्यक्रिया विकसित गर्न सफल भएँ । यो विधिमा न्युरो नेभिगेसन लगायतका अत्याधुनिक प्रविधिले शल्यक्रियालाई अझ सुरक्षित बनाएको छ ।

त्यसैगरी सानो प्वाल बनाएर दुरबिनको सहाराबाट बेहोस नपारी टाउकाको भित्री भागमा लुकेका ब्लिडिङ भएको रगत निकाल्ने विधिलाई पनि संस्थागत गर्न सफल भएँ । यसले बिरामीलाई आइसियूमा धेरै राख्न नपर्ने र चाँडै रिकभरी हुने गरेको छ ।


मैले नेपालमा एन्डोस्कोपिक स्पाइन सर्जरी सुरू गरेको थिएँ र अब म यी बिरामीहरूलाई डे केयर शल्यक्रिया गर्ने प्रबिधि प्रयोग गर्ने योजनामा छु; ताकी बिरामीहरूलाई त्यहीदिन डिस्चार्ज गर्न सकोस् ।


यसैगरी सुरक्षित स्पाइन ट्युमर निकाल्ने पद्धति, मिनिमल इनवेसिब हेमीलेमिनेक्टमी (भिह्याम) पद्धतिको विकास गरेँ । वल्र्ड स्पाइन कंग्रेसको मिटिङमा प्रस्तुत गरिएको भिह्याम पद्धतिको प्रयोगबारेको कार्यपत्रले बेस्ट पेपर अवार्ड पाएको थियो ।

म दुरबिनको माध्यमबाट इन्डोस्कोपिक स्पाइन सर्जरी नेपालमा पहिलो पटक सुरू गर्न सफल भएँ । बिरामीको सिटी स्क्यान, एमआरआईको फोटो खिचेर भाइबर एपबाट डाक्टरसँग गरिने परामर्शको सिस्टम विकास गरेको छु । यसले भारतमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा बेस्ट पेपर अवार्ड पाएको थियो । यो विकासोन्मुख देशमा कष्ट इफेक्टिभ प्रभावकारी तरिका मानिन्छ ।


यसैगरी टाउको सुन्निएको बेलामा हड्डीलाई बाहिर निकालेर राखेमा मस्तिष्कलाई रगतको सञ्चारको कमीले ड्यामेज हुनबाट जोगाउन सकिन्छ । यसका लागि केमिकलको सोलुसन बनाएर हड्डीलाई शरीरभन्दा बाहिर राख्न सकिन्छ । यसले बिरामीलाई दोस्रो पटक शल्यक्रिया गर्नु नपर्ने र तीन हप्तापछि सुरक्षित रुपमा हड्डी पुनःस्थापना गर्न सकिने प्रबिधि विकास गर्न सफल भयौँ । यसले भारतको एम्स हस्पिटलमा भएको इन्टरनेसनल न्युरो–ट्रमा कन्फ्रेन्समा बेस्ट पेपर अवार्ड पाएको थियो ।


शल्यक्रिया कक्षभित्र बिरामीको अल्ट्रासाउन्ड गर्नुपरेमा नयाँ टर्मानोलोजी ‘सोनोस्कोपी’ प्रयोगमा ल्यायौँ ।

यसैगरी प्वाइन्ट अफ केयर अल्ट्रासाउन्ड (पोकस) संसारभर परिचित छ । यसले रोग छिटो पत्ता लगाई रोगलाई निदान गर्न सघाउँछ । जस्तो फोक्सोमा हावा छिरेको समस्यामा एक्स–रे गर्न कुर्न थाले बिरामीले ज्यान गुमाउन सक्छ । त्यसैले अल्ट्रासाउन्डबाट हेरेर तुरुन्त फोक्सोमा पाइप राखी हावा निकासी गर्नुपर्छ ।

हामीले सन् २०१४ बाट पोकस तालिम सुरू गर्न सफल भयौँ । आज पोकस विधि आइसीयू, वार्ड, अपरेसन रूम र इमर्जेन्सीमा प्रयोग हुन्छ ।


न्युरो सर्जरीलाई अझ सुरक्षित बनाउन नेपालमा पहिलोपटक इन्ट्रा अपरेटिभ न्युरो मोनिटरिङ (आइओएनएम) को सुविधा सुरू गर्न सफल भएँ । बिरामीलाई बेहोस गराएपछि कुन नसाले के चलाइरहेछ, नसाको स्थिति के छ भन्ने पनि थाहा हुँदैन । त्यसैले टाउको वा हात खुट्टाको नसाबाट करेन्ट दिएर जनरल एनेस्थिसियाको बेला बिरामी सुतिरहेको अवस्थामा नसाको बाटो (ट्रयाक)हरू ठिक भए–नभएको मापन गर्ने पद्धति भित्र्याएका छौँ ।

विगत २ वर्षदेखि आयोएनमको सबभन्दा लेटेस्ट टेक्नोलोजी निम एक्लिप्स भित्र्याएर प्रयोगमा ल्याइरहेका छौँ ।


आइसियूको न्युरो बेडका बिरामीको खुट्टामा रगत जम्ने समस्या डिभिटी (डिप भेन थ्रम्वोसिस) हुनसक्छ । यस्तो हुन नदिने रगत पातलो गर्ने औषधि, दिमागÞभित्र रक्तश्राव भएको र शल्यक्रिया गरेको बिरामीमा दिन मिल्दैन । यस्तो अवस्थामा विगत ६ वर्षदेखि वि एम पिक प्रोटोकल विकास गरेका छौँ । हालसम्म एकजनालाई पनि डिभिटी भएको छैन ।

स्पाइन हेल्थ प्रोग्राम

व्यावसायिक योगदानका अलावा समाजमा स्वास्थ्य सेवाको विकास गर्ने प्रयास गरेको छु । अस्पताल र स्वास्थ्य चौकीहरूमा आउने स्पाइनका बिरामीलाई सही उपचारका लागि सही समयमा, सही ठाउँमा रेफर गर्नुपर्ने हुन्छ; त्यसका लागि तालिम चाहिन्छ । नेसोनको स्पाइन कमिटीको अध्यक्ष हुँदा यसबारे २ वटा गोष्ठी सञ्चालन गरेका थियौँ । अहिले नेसनल स्पाइन हेल्थ प्रोग्राममार्फत तालिम चलाउन स्वास्थ्य सेवा विभागले गृहकार्य गरिरहेको छ ।


हामी आफ्नो विषयमा बेस्ट हौँला । तर हस्पिटलमा आउने बिरामी धेरै किसिमका समस्या लिएर आएका हुन्छन् । बिरामीका अन्य समस्या बुझेर सोही अनुसार समाधानको उपाय खोज्नुपर्छ । मलाई पढाउने गुरु प्रा.डा. एके बेनर्जीले भन्नुभएको ‘पिपुल हु आर ट्रेन इन्स्टिच्युएसन्स विल्ड इन्स्टिच्युएसन’ भन्ने शब्द मनन् गर्ने गरेको छु । उपचारमा टिम र कोल्याबोरेटिङ सेवाको मुख्य जरूरत पर्छ ।


चिकित्सा अभ्यास सिक्ने, शिक्षण र ध्यानको एक जीवन लामो समर्पण हो । मेरो १५ वर्षको न्युरो सर्जिकल करियरमा नेपालमा एकसय भन्दा बढी वर्कसप र गोष्ठी गराइसकेको छु । कतिपय इनोभेसनहरू स्थापित गराएर नयाँ पिँढीसमक्ष हस्तान्तरण गर्दैछु ।

प्रा.डा. उपेन्द्र देवकोटाले भन्ने गरेको ‘आजको टेक्नोलोजीले मिस्टेक गर्न सक्ला तर बेकार होइन’ भन्ने कुरा मनन् गर्छु । त्यसैले आफूलाई लाइफ लङ डेडिकेसन, टिचिङ लर्निङ एक्टिभिटिमा समाहित गर्छु ।


मैले धेरै बिरामी र उनीहरूको परिवारलाई मद्दत गरेको छु । उहाँहरूको आशीर्वादले मलाई सधैँ कठिन समयहरूमा जित्न मद्दत गरेको छ । एक न्युरो सर्जनको रूपमा आफूलाई स्थापित गराउनु मेरो सबैभन्दा राम्रो इनाम हो ।


न्युरो सर्जिकल अभ्यास अनौठो छ; कहिलेकाहीँ आफ्नो उत्कृष्ट प्रयास गर्दागर्दै पनि आफ्नो परिणाम प्राप्त गर्न सकिन्न । हाम्रा लागि बिरामी भगवान सरह हुन्छन् । उपचारमा होमिएपछि उहाँहरुको जीवन बचाउन पाउँदा हामी हाम्रो परिवारको सदस्यलाई बचाएको खुुशी सरह महसुुस गर्दछौं ।

चिकित्सामा पास वा फेल हुनु आफ्नो प्रयासले मात्र होइन; धेरै कुराले अर्थ राख्छन् । तर बिरामीले उपचारपछि दिने प्रतिक्रियाले आत्मसन्तोषको मात्रा निर्धारण गर्दछ । एक न्युरो सर्जनका रूपमा म त्यतिबेला आफूूलाई सफल ठान्छु, जब मेरो बिरामी सञ्चो हुँदा खुशी र त्यसपछि सामाजिक–आर्थिक रूपमा सक्षम हुन्छ ।


मेरो प्रार्थना सधैँ ती बिरामीहरूसँग छ, जसलाई मैले सक्दो प्रयास गर्दा पनि चित्त बुझाउने गरी राम्रो गर्न सकिनँ । हामीले सेवा प्रदान गर्दा सबै बिरामीहरू हाम्रा लागि समान छन् र सबैले सबैभन्दा राम्रो हेरचाह प्राप्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्