Logo
|
Saturday 27th April 2024
Logo

epaper

ऐया ! ढाड दुख्यो: नसा च्यापिने कारण र उपचार

२० वर्ष भन्दा कम र ५० वर्ष भन्दा माथिको उमेरका व्यक्तिमा ढाड दुखेमा सचेत हुन जरूरी



डा. प्रकाश पौडेल-न्युरो सर्जन/स्पाइन स्पेसलिष्ट

मेरूदण्डलाई संस्कृत शव्दमा ब्रह्माण्डको केन्द्र ‘सेन्टर अफ द युनिभर्स’ पनि भनिन्छ । मेरुदण्ड (स्पाइन) ले शरीरलाई सिधा र चलायमान राख्न मद्दत गर्छ । मेरुदण्डले शरीरको सम्पूर्ण बोझ उठाउँछ । यसले टाउको अड्याउन र चलाउन मद्दत गर्छ । साथै मस्तिष्कबाट निस्कने सम्पुर्ण नसालाई हाइ–वे जस्तै बनाएर शरीरका प्रत्येक अंगहरूसम्म पुर्याउन मद्धत गर्छ । यसले नसाहरूको सुरक्षा पनि गर्छ । मेरुदण्ड ३३ वटा हड्डीबाट बनेको हुन्छ जसलाई भर्टेब्रल बडिज भनिन्छ । त्यसभित्र २३ वटा कुरकुरे हड्डी हुन्छन् । यी सबैलाई बाँध्ने ज्वाइन्ट ५३ वटा हुन्छन् । स्पाइनको भित्री भागमा एउटा टनेल हुन्छ । टनेल हुँदै ब्रेनबाट निस्कने सबै नसा पास हुन्छन् । शरीरका सम्बन्धित अंग चलाउने नसाहरू उप–शाखा भएर निस्कन्छन् ।

नसा किन च्यापिन्छ ?
शरीरलाई गतिमा ल्याउनुपर्ने भएकाले सबै भार मेरूदण्डमा पर्छ । उमेर बढ्दै जाँदा हड्डी खिइन थालेपछि कुरकुरे हड्डी चिप्लिएर पछाडि निस्किन सक्छ र यसले नसा च्याप्छ । उमेर बढ्दै जाँदा लिडामेन्टम फ्लेबम नामक सब–टिस्यु बाक्लो भएर स्पेस घटेपछि नसा च्यापिन सक्छ । यसले हड्डी र नसा बीचमा ब्यारिएरको काम गरेको हुन्छ । साथै उमेर बढ्दै जाँदा फ्यासेट ज्वाइन्टमा भार परेमा खिइएर नयाँ कुकुरे हड्डी पलाउँछ । यसले पनि स्पेसलाई सानो बनाउँछ र नसा च्यापिनसक्छ । नसाबाट निस्कने ट्युमर, चोटपटक, क्षयरोगको संक्रमणले पनि नसा च्यापिन सक्छ । कहिलेकाँही स्पाइनल कर्डबाट निस्किएको नसाले रूटलाई च्याप्छ । यस्तो अवस्थामा पार्टिकुलर नसामा असर पर्छ । यसलाई रेडिकुलोप्याथी भनिन्छ । स्पाइनल कर्ड आफैँमा समस्या आएर पनि नसा च्यापिनसक्छ ।

कस्तो लक्षण देखिन्छ ?

कुरकुरे हड्डी चिप्लिएर, टनेल वा नसा निस्कने भाग साँघुरो भएर लम्बर स्पाइनको तल्लो भागमा नसा च्यापिँदा खुट्टा झमझमाउने, लाटो हुने र लुलो हुने गर्छ । साथै दिसापिसाबमा पनि असर गर्छ । समस्या बल्झिदै जाँदा पिसाब रोकिन्छ र पिसाब चुहिन थाल्छ । साथै दिसा वरीपरको भाग लाटो हुनथाल्छ । यसलाई काउडा इक्वाइना सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा तुरून्त शल्यक्रिया गर्नुपर्छ । तुरून्त शल्यक्रिया भएमा निकासको सम्भावना हुन्छ । ढिलो भएमा दीर्घकालीन क्षति भएर अपाङ्गता हुनसक्छ ।

ढाड किन सड्किन्छ ?

मसल्स स्पाजम र कुरकुरे ह्डीमा परेको भारका कारण ढाड सड्किनसक्छ । मसल्स स्पाजम भनेको मेरूदण्ड वरपरीको मांशपेशी कडा हुने समस्या हो । यस्तो अवस्थामा निकै दुख्छ र हलचल गर्न सकिदैन । मसल्स रिल्याक्सिङ, चिकित्सकको सिफारिसमा नदुख्ने औषधि सेवन गरेर एकदुई दिन आराम गरेमा विस्तारै कम हुन्छ । यस प्रकारको समस्या एक्स–रे रिपोर्टले पनि देखाउँदैन । साथै निहुरिएर सामान उठाउँदा कुरकुरे हड्डीको अघिल्लो भागमा धेरै भार पर्ने भएकाले ढाड सड्किने गर्छ । यसको दवावले कुरकुरे हड्डी पछाडी चिप्लिएर नसा च्याप्छ ।


आकस्मिक उपचार गर्नुपर्ने लक्षण

२० वर्ष भन्दा कम र ५० वर्ष भन्दा माथिको उमेरका व्यक्तिमा ढाड दुखेमा सचेत हुन जरूरी छ किनभने यो उमेरमा क्यान्सर वा ट्युृमरले समस्या गरेको हुनसक्छ । यस्तो अवस्थामा हड्डी नरम भएर मेरुदण्ड भाँचिन सक्छ । यसलाई ओस्टियोपोरोटिक बोन फ्याक्चर भनिन्छ ।

यो उमेरमा मसल्स स्पाजम, हड्डी खिएर दुखाइ हुने सम्भावना कम हुन्छ । ढाडको दुखाईसँगै खुट्टा लुलो र झमझम गर्ने, दिसापिसाबमा अफ्ठेरो महसुस भएमा डाक्टरलाई देखाउनुपर्छ । ढाडको दुखाइसँगै ज्वरो आएमा पनि चिकित्सकलाई देखाउनुपर्छ । इन्फेक्सले पनि ढाड दुख्ने र ज्वरो आउन सक्छ । विगतमा लामो समयअघि मेरुदण्डमा लागेको चोटपटकले पनि ढाडको दुखाइ बल्झिनसक्छ । स्टेरोइड र इम्युनो सप्रेसन औषधि सेवन गर्नेहरूमा पनि स्पाइन हड्डीको इन्फेक्सन हुने दर बढी हुन्छ । यसले सेप्सिसको समस्या ल्याउन सक्छ । ढाड, खुट्टा दुख्ने र दिसापिसाबमा अफ्ठेरो हुने कडा इक्वाइना सिन्ड्रोम हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया गरेर समस्याको समाधान खोज्न जरूरी पर्छ ।

कहिले चिकित्सकलाई देखाउने ?

८० प्रतिशत ढाडको दुखाई सामान्य हुने गर्छ । तर ढाडसँगै खुट्टा दुख्ने, हिँड्दै गर्दा खुट्टा पुरै गल्ने स्पाइनल स्टेनोसिसको समस्या हो । यसलाई न्युरोजेनिक क्लाउडिकेसन भनिन्छ ।

यसरी ढाड दुख्ने, खुट्टा झमझम गर्ने, गोडाबाट फित्ता भएको चप्पल फुत्किने समस्या भएमा तुरून्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । ढाडको दुखाइसँगै ज्वरो, खुट्टा लुलो र झमझम गर्ने समस्यामा पनि ढिलो गर्न हुँदैन । धेरै व्यक्तिको मांसपेशी कडा हुने, फ्यासेट ज्वाइन्टमा समस्या आदि कारणले ढाड दुख्नसक्छ ।

यो मेकानिकल ब्याक पेन हो । यसमा केहि समय आराम गर्ने र चिकित्सकको सिफारिसमा नदुख्ने औषधिको सेवनपछि निको हुनसक्छ । तर ढाडको दुखाइ करेन्ट लागेजस्तो झमझम गरेर खुट्टातिर सर्दै जाने, खोक्दा र हाच्छुँ गर्दा ढाड र खुट्टा दुवै दुख्ने र करेन्ट लागेजस्तो महसुस हुने, ढाडको दुखाईसँगै खुट्टा लाटो र झमझम हुने समस्यामा पनि चिकित्सकलाई देखाउन ढिला गर्न हुँदैन ।


निदान र उपचार


ढाड र खुट्टाको दुखाइ भएका व्यक्तिहरूको मेकानिकल व्याकपेन, रेडिकुलोप्याथी र माइलोप्याथी गरी ३ भागमा वर्गीकरण गरेर उपचारको प्रक्रिया सुरू गर्नुपर्छ । मेकानिकल ब्याक पेन धेरैलाई हुने समस्या हो । यो मांसपेशीको दुखाइ, लिगामेन्ट, जोर्नीमा प्रेसर, बस्ने तरिका नमिलेर हुने गर्छ । यस्तो अवस्थामा नदुख्ने औषधि, फिजियोथेरापी र बसाइको तरिका (पोस्चर) मिलाएमा आफैँ निको हुन्छ । स्पाइनल कर्डबाट निस्केको कुनै नसाको रूट मात्र च्यापिने समस्यालाई रेडिकुलोप्याथी भनिन्छ । यसले हातखुट्टा खुम्च्याउन, सिधा गर्न वा कुनै औँला चलाउन समस्या हुने गर्छ ।

यदि बिरामीलाई दिसापिसाबमा समस्या (क्वाडा इक्वैना सिन्ड्रोम) र हातखुट्टा लुलो हुने समस्या नभएमा फिजियोथेरापी, नदुख्ने औषधि र पोस्चर मोडिफिकेसन उपचार विधि अपनाइन्छ । यदि दुखाइ कम गर्ने औषधि, फिजियोथेरापी र इन्जेक्सनले पनि ढाडको दुखाइ कम नभएमा शल्यक्रिया गर्नुपर्छ ।


के मेरुदण्डको शल्यक्रिया गर्दा कुँजो भइन्छ ?

सामान्यत ढाडको शल्यक्रिया गर्दा प्यारालाइसिस हुँदैन । तर लामो समयदेखि च्यापिएको नसा खोल्ने क्रममा नसाको रूटमा चोट लागेर औँला चलाउन समस्या हुनसक्छ । साथै औंला हल्का कमजोर हुने सम्भावना हुन्छ । तर यो फिजियोथेरापीबाट बिस्तारै फर्किएर आउँछ । वर्तमान दक्ष र अनुभवी सर्जन र अध्याधुनिक उपकरणका कारण विगतको जस्तो समस्या छैन


टेक्नोलोजीको भूमिका


विश्व बजारमा विकसित भएका नयाँ टेक्नोलोजी जस्तोः न्युरो मोनिटरिङ, नेभिगेसन, सिटी स्क्यान आदि) ले स्पाइनल सर्जरीलाई धेरैनै सुरक्षित बनाएको छ । शल्यक्रियाका क्रममा चाहेर वा नचाहेर नसालाई हिट गर्दा कति चोट पुग्यो भन्ने कुरा वेभ प्याटर्नका रुपमा न्युरो मोनिटरमा हेर्न सकिन्छ । न्युरो मोनिटरिङले नसा छुने बित्तिकै अलर्ट गराउँछ । न्युरो न्याभिगेसन सिस्टम प्रयोग गर्दा नचिरिकन कुन ठाउँमा समस्या छ भन्ने कुरा थाहा पाउन सकिन्छ । सानो घाउबाट नै शल्यक्रिया गर्न सकिन्छ । यसले एक्युरेसीलाई बढाउँछ । न्याभिगेसन सिस्टमलार्य प्रयोग गर्दा शल्यक्रिया धेरै सजिलो र सुरक्षित हुन्छ ।
(लेखक नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्