Logo
|
Sunday 15th September 2024
Logo

epaper

जाजरकोट भूकम्प: खोज तथा उद्धार अझै पनि जारी, ९१ जना अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्पको खोज तथा उद्धार कार्यको अन्तिम चरणका कामहरू आइतवार पनि जारी रहने अधिकारीहरूले जनाएका छन्।

नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक कुबेर कडायतले शनिवार साँझ नै ‘मोटामोटी’ रूपमा खोज तथा उद्धार सकिएको भए पनि सुरक्षा निकायहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारको अन्तिम प्रयासहरू गर्ने बताउनुभयो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शनिवारसम्म फौजहरू पुगेका स्थानमा खोज तथा उद्धार लगभग सकिएको बीबीसीलाई बताउनुभयो ।

स्थानीय म्याग्निट्यूड ६ दशमलव ४ रहेको उक्त भूकम्पले जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएको थियो र आइतवार बिहानसम्म उक्त विपद्‌का कारण १५७ जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्। गृहमन्त्रालयले उक्त भूकम्पका कारण कम्तीमा ३५७ जना घाइते भएको उल्लेख गरेको छ।

सुरक्षा निकायका अधिकारीहरू के भन्छन्?

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतका अनुसार उक्त भूकम्पबाट घाइते भएका ९१ जना अस्पतालबाट उपचार गराएर फर्किएका छन्।

उहाँले भन्नुभयो– “सुरुमा आएको तथ्याङ्कमा सामान्य घाइते भएका व्यक्तिहरू पनि समावेश गरेका थियौँ। भूकम्पका कारण विभिन्न जिल्लाका अस्पतालमा भर्ना भएर डिस्चार्ज हुनेको सङ्ख्या ९१ पुगेको छ।”

उहाँले भूकम्पबाट अति प्रभावितमध्येको रुकुम पश्चिममा ज्यान गुमाएका सबै ५२ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

जाजरकोट जिल्लामा पनि शव पहिचान गर्ने र हस्तान्तरण गर्ने क्रम जारी रहेको उहाँको भनाई छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले आइतवार पनि आफूहरूको पहिलो प्राथमिकता खोज तथा उद्धार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– “आज पनि खोज तथा उद्धारले निरन्तरता पाउँछ। हाम्रो प्रयास दुर्गम ठाउँहरूमा पुग्ने हुन्छ। अझै पनि कैयौँ ठाउँहरूमा मानिसहरूको उपचार जारी छ। एकरात बितिसक्यो। हाम्रो पहिलो प्राथमिकता खोज तथा उद्धार नै हुन्छ।”

अस्थायी बास व्यवस्थापनको तयारी

नेपाल प्रहरीका प्रवक्ता कडायतले खोज तथा उद्धार कार्य सकिन लागेकाले अब घाइतेहरूको उपचार, राहत वितरणजस्ता कामहरूमा केन्द्रित हुन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“त्यसबाहेक भूकम्पका कारण भएको भौतिक तथा चौपायातर्फको क्षतिको विवरण सङ्कलनको काम पनि अघि बढाइनेछ। विस्थापितहरूको बसाइँ व्यवस्थापनको लागि पनि हामी काम गर्नेछौँ।”

नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा राखिएको छ र त्यसले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन सहयोग गर्ने सैनिक प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार गृह प्रशासनको नेतृत्वमा राहत वितरणको काम अघि बढाइनेछ। उहाँ भन्नुहुन्छ–“भूकम्पका कारण प्रभावित भएका मानिसहरूलाई बासका लागि पनि सहयोग गर्ने काम सुरु हुनेछ।”

गृह मन्त्रालयले शनिवार साँझ जाजरकोट र रुकुम पश्चिम जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालै पाँच करोड रुपियाँ पठाउने निर्णय गरेको थियो। साथै खोज तथा उद्धारको लागि विशेष टोली खटाउने पनि निर्णय लिएको थियो।

छिमेकी देशहरू भारत र चीनसहितका नेपालका मित्रराष्ट्रहरूले भूकम्प प्रभावितहरूका लागि सहयोग उपलब्ध गराउने इच्छा गरेका छन्।

त्यस्तो सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल सरकारले थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गर्ने निर्णय लिएको छ। बीबीसीनेपालीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्