Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपालमा ९० प्रतिशत मानसिक रोगीहरु मानसिक स्वास्थ्योपचारबाट वञ्चित



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् । 

मङ्गलबारबाट काठमाडौंमा सुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्याङ्क रहेको बताएका हुन् । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिव ८४ प्रतिशत रहेको बताए । 

उनीहरुले आत्महत्याको तथ्याङ्क हेर्दा एशियामा जनसङ्ख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउने ट्रिटमेण्ट ग्यापले । लगभग ८४ प्रतिशत व्यक्तिहरु सेवा पाउँदैनन्  । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरुमा छ । नेपालको अवस्था हेर्दा लगभग ९० प्रतिशत मानिसहरु उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एशियामा जनसङ्ख्याको हिसावले भारतमा सबैभन्दा धेरै छ ।’’

सम्मेलनमा बोल्नुुहुँदै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताउनु भयो । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको जानकारी दिनुभयो ।  

‘‘यसको सेवा सबै देशका अस्पतालबाट भइरहेको छ । तर कडा खालको मानसिक रोगहरु जसलाई हामी साइकोसिस भन्छौँ, त्यो कडा खालको मानसिक रोगलाई राज्यले हेर्नुपर्छ । त्यो दायित्व राज्यको हो । भरणपोषणदेखि सबै उपचार राज्यले गर्नुपर्छ । त्यसको लागि नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘अरु देशमा आइसकेको अवस्थामा त्यो ऐन ल्याए सहज हुन्थ्यो । आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श सर्वसुलभ गर्नुपर्छ ।’’

सम्मेलन मङ्गलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्