सेरेब्रल पल्सीः चाँडै उपचार पाएमा सामान्य जीवनमा फर्काउन मद्धत
शिशु जन्मिनासाथ नरोएमा, जन्मेको ३–४ महिनासम्म पनि टाउको धान्न नसकेमा, ६–७ महिनामा टुक्रुक्क बस्न नसकेमा, समयमै बोल्न नसकेमा वा हिँड्न नसकेमा सेरेब्रल पल्सी हुनसक्ने
सेरेब्रल पल्सी बालबालिकामा देखिने मस्तिष्कको पक्षघात हो । यो ग्रोइङ ब्रेनमा केही इन्सल्ट (चोट वा आघात) पुगेमा हुनसक्छ । विशेषगरी मस्तिष्कको हातखुट्टा चलाउने भाग (मोटर एरिया) मा कुनै कारणले रक्तसञ्चार अवरूद्ध हुँदा यस प्रकारको समस्या बढी हुन्छ । यो दीर्घकालीन हुन्छ । यो बढ्दै जाने रोग होइन । तर क्रमशःसुधार हुँदै जान्छ । बच्चा सुस्त हुने मुख्य कारण सेरेब्रल पल्सी हो ।
गर्भवती महिलामा प्रेसर, सुगर वा केही इन्फेक्सन भएमा गर्भमा रहेको शिशुको ब्रेनमा जाने रक्तनली अवरूद्ध हुँदा मस्तिष्कमा अक्सिजनको मात्रा पुग्दैन । प्रसुतीका समयमा घरमा हुने लामो बेथाले मस्तिष्कमा असर पुगेमा सेरेब्रल पल्सी हुनसक्छ । अपरिपक्व अवस्थामा जन्मिएको शिशुमा पनि सेरेब्रल पल्सी हुने सम्भावना बढी हुन्छ । जन्मपश्चात् जन्डिस वा अन्य कडा रोगले मस्तिष्कमा असर पुगेमा पनि सेरेब्रल पल्सी हुने सम्भावना रहन्छ ।
कसरी थाहा पाउने ?
जन्मनासाथ शिशु नरोएमा गर्भमै छँदा मस्तिष्कमा इन्सल्ट भयो कि भनेर सोचिहाल्नुपर्छ । जन्मेपछि शिशुले शारीरिक विकासका क्रममा सामान्यतया ३–४ महिनामा टाउको धान्नुपर्छ र कोल्टे फेर्नुपर्छ । ६–७ महिनामा टुक्रुक्क बस्न सक्नुपछ । यस्तो नभए सेरेब्रल पल्सी हुनसक्छ । तर अभिभावकहरू बच्चा हिँड्नुपर्ने बेला हिड्न नसकेपछि मात्र अस्पताल लिएर आउँछन् । बच्चा बोल्न सकेन भने पनि सेरेब्रल पल्सीकै कारण हुनसक्छ ।
सेरेब्रल पल्सीका प्रकार
सेरेब्रल पल्सी धेरै प्रकारका हुन्छन् । स्पाष्टिक, डिस्काइनेटिक र कोरियोएस्थेटोइड धेरैलाई देखिने गरेको छ । त्यसमा पनि स्पाष्टिक सबैभन्दा बढी मात्रामा देखिन्छ । जिउ एकदमै टाइट हुने समस्या स्पाटिक सेलेब्रल पल्सी हो । यो करिब ७० देखि ८० प्रतिशत हुने गर्छ । कहिलेकाहीँ एक्सटेन्ड गर्ने भागको नसा खराब भएमा जिउ टाइट मात्र हुन्छ । यसैलाई स्पास्टिक भनिन्छ । ब्रेनका जुन भागमा असर भएको हो सोही अनुसार लक्षण देखिन्छ । जस्तोः खुट्टाको भागमा भएमा स्पाष्टिक डाइप्लेजिया, शरीरको एकापट्टी भागमा भएमा स्पास्टिक हेमिप्लेजिया, तीनओटा हातखुट्टा चलाउन समस्या भएमा स्पाष्टिक ट्राइप्लेजिया र चार वटै हातखुट्टा चलाउन समस्या भएमा स्पाष्टिक क्वाड्रिप्लेजिया भएको हुनसक्छ । यसैगरी शिशु जन्मिदा उच्च जन्डिस भएमा कोरियोएस्थेटोइड सेरेब्रल पाल्सी गराउनसक्छ । यसले हातखुट्टालाई नियन्त्रणमा समस्या हुनसक्छ ।
सेरेब्रल पल्सीले पार्ने असर
सेरेब्रल पल्सी मस्तिष्कमा रहने पुरानो दाग हो । यो बढ्दैन । तर विकासमा भने असर पार्छ । मस्तिष्कका मरिसकेको नसाको विकास हुँदैन । यसले शरीरको अन्य अंगमा असर गर्दैन । तर समयमा हिड्न, बोल्न, कुरा बुझ्न र पढ्न गाह«ो हुनसक्छ । छारे रोगको झड्का आउनसक्छ । कसैकसैमा हाइपर एक्टिभ हुने, चञ्चल हुने, एकोहोरो हुने, कसैकसैमा कान नसुन्ने जस्ता एसोसिएट कन्डिसन हुनसक्छ । सेरेब्रल पल्सी भएका बच्चा सुस्त मनस्थितिका हुनसक्छन् ।
सेरेब्रल पल्सीको धेरै असर भएमा अल्पकालमा ज्यान पनि जान सक्छ । कतिपय बच्चाको खानेकुरा निल्न सक्ने तागत हुँदैन भने खानेकुरा पनि सर्किनसक्छ । जसले गर्दा बच्चालाई पोषक तत्व पुग्दैन र बारम्बार संक्रमण भएर बिरामी भइरहसक्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएमा बच्चाको ज्यान जान सक्छ ।
चाँडो उपचारले सुधार सम्भव
मस्तिष्कको नसा एकपटक इन्सल्ट भएपछि फर्काउन सकिँदैन । तर त्यस्तै प्रकारले अन्य नयाँ नसाले काम गर्नसक्ने हुनसक्छ । यो पहिरोले बाटो ब्लक हुँदा नयाँ बाटो खोजेजस्तै हो । यसको मुख्य उपचार पद्धति नै थेरापी हो । सेरेब्रल पल्सीका बिरामीलाई न्युरो प्लास्टिसिटी थेरापी गर्न सकिन्छ । जतिसक्दो छिटो थेरापी सुरू ग¥यो त्यति नै छिटो सुधार हुन्छ । मस्तिष्कलाई नयाँ नसा खोज्न मद्दत पुग्छ । धेरै कडा भएको मांशपेशीमा बोटक्स थेरापी पनि गर्न सकिन्छ । तर नेपालमा त्यति प्रयोगमा आएको छैन ।
थेरापी सँगसँगै मांशपेशीको कडापन कम गर्न औषधि र बुद्धि विकास गर्न ब्रेनको भिटामिन सेवन गर्न सकिन्छ । कडा मांशपेशीले हड्डीलाई तानेर बाङ्गो बनाउने भएकाले कहिलेकाहीँ हड्डीको शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।
यस्ता बालबालिकालाई सरकारले उपचार सुविधासहित पुनःस्थापना केन्द्रको व्यवस्था गरेमा निकै सहजीकरण हुने देखिन्छ ।
(लेखक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)