Logo
|
Thursday 26th December 2024
Logo

epaper

‘न्युरो सर्जरी’ का ३३ वर्ष: नयाँ पुस्तालाई ‘सुपरस्पेसलाइज’ भएर अगाडी बढ्न प्रेरित

नेपालका १२० न्युरो सर्जनमध्ये एक तिहाइलाई ट्रेनिङ दिने अवसर पाएँ



वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले नेपालमा ३३ वर्षदेखि चिकित्सा सेवा दिँदै आउनुभएको छ । यसक्रममा ३० हजार भन्दा बढी बिरामीको न्युरोसम्बन्धि शल्यक्रिया गरिसक्नुभएको छ । हाल पनि काममा त्यत्तिकै उर्जावान हुनुहुन्छ । हस्पिटलमा आउने जटिल प्रकारका शल्यक्रियाको नेतृत्व गर्दै बिरामीलाई नयाँ जीवन दिन तल्लिन हुनुहुन्छ डा. पन्त । साथै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने प्रक्रियामा सक्रिय लागिरहनुभएको छ । त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिस्टेन्ट (एचए) गरेपछि एमबीबीएस अध्ययन गर्नुभयो । केही समय उहाँले वीर अस्पतालमा सेवा दिनुभयो । त्यसपछि जापान गएर न्युरो सर्जरीमा एमडी र पिएचडी गरेर स्वदेश फर्कनुभयो । जापान जानुअघि र फर्किएपछि नेपालको चिकित्सा सेवामा धेरै अनुभव र अनुभूतिहरू सँगाल्नुभएको छ डा. पन्तले । जानौं उहाँको आफ्नै शव्दमा ।

डा. वसन्त पन्त


चिकित्सा सपना
एसएलसी उत्तीर्णपछि चिकित्सा शिक्षा पढ्न नै एचए पढेको हुँ । एचए प्रारम्भ गर्दा नेपालमा एमबीबीएस कक्षा सुरू भइसकेको थिएन । यद्यपी चाँडै सुरू हुने चर्चा थियो । एचए सकेर तीनवर्ष सेवा गरेपछि एमबीबीएसमा भर्ना पाइने चर्चा थियो । त्यसैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट १९ वर्षको उमेरमा एचए सकेँ । त्यसपछि सन् १९८३ मा त्यहीँ एमबीबीएस भर्ना भएर सन् १९८९ मा सकेँ ।


आत्मविश्वास
एमबीबीएस सकेर वीर अस्पतालमा ‘इन्टर्नसीप’ गरिरहेको थिएँ । त्यहीँबेला ठुलोबुवालाई ‘ब्रेन ट्युमर’ भएको पहिचान भयो । उपचारका लागि वीर अस्पताल ल्यायौँ । वीरमा स्वर्गीय प्रा.डा. उपेन्द्र देवकोटा भर्खरै आउनुभएको थियो । तर वीरमा शल्यक्रियाका लागि चाहिने ‘सेटअप’ तयार भइसकेको थिएन । नयाँ दिल्लीस्थित गंगाराम हस्पिटल लग्यौं । त्यहाँ डा. अग्रवालको टिमले शल्यक्रिया गर्नुभयो । मैले डा.अग्रवाललाई एमबीबीएस इन्टर्नशीपमा रहेको बताएँ । उहाँले ‘अपरेसन थिएटर’मा आउने अनुमति दिनुभयो । त्यहीँ टाउको खोलेर शल्यक्रिया गरेको प्रत्यक्ष देख्ने मौका मिल्यो । त्यतिबेला न्युरो सर्जरीलाई जटिल र रहस्यमयी मानिन्थ्यो । तर त्यहाँको शल्यक्रिया देखेपछि ‘एकपटक सिकेँ भने गर्न सक्छु’ भन्ने आत्मविश्वास पलायो ।

अठोट
दिल्लीबाट न्युरो सर्जन बन्ने सपना बोकेर फर्किएँ । तर नेपालमा न्युरो सर्जरी सेवा शुरू भएको थिएन, जटिल समस्या देखिएमा विदेश जानुपर्दथ्यो । डा. उपेन्द्र देवकोटा नेपालको एकमात्र न्युरो सर्जन हुनुहुन्थ्यो । त्यसैले उहाँसँग सिक्ने उद्देश्यले एकवर्ष वीरमा काम गरेँ । उहाँ एचए र एमबीबीएस पढ्दाको गुरू पनि हुनुहुन्थ्यो । वीरमा उहाँसँँग कैयौँ जटिल सर्जरीमा असिस्ट गर्ने मौका पाएँ । बिरामीको अत्यधिक चापले उहाँबाट सबै सम्भव थिएन ।

डा.देवकोटाको मुख्य सहयोगीका रूपमा टाउकामा सल्ट राख्ने, टाउकोमा चोट र पिप जमेका शल्यक्रिया एक्लै गर्थेँ । केही समयपछि न्युरो सर्जरीमा एमडी गर्न जापान गएँ । एमडी सकिएलगत्तै न्युरो सर्जरीमा पिएचडी गरेँ ।

मेरा हात चल्दा आफ्नै हात ठानँ
जटिल न्युरो सर्जरी सिक्न जापान गएको थिएँ । त्यो बेलामा सिक्ने अत्यधिक चाहना थियो । विशेष किसिमको सर्जरी हुँदा हिरोसिमादेखि टोकियोसम्म ४० हजार जापानी येनसम्म खर्च गरेर पुग्थेँ । गुरूलाई भन्थें— ‘यहाँ त ठूलो टिम हुन्छ । नेपाल गएर एक्लै गर्नुपर्छ । जे गर्छु त्यो पहिलो पटक हुन्छ । यसैले मैले धेरै सिक्नुछ ।’ गुरूले टिप्स दिनुभएको थियो— ‘तिमीले मेरा हात चल्दा आफ्नै हात ठानँ ।’ यो टिप्स पाएपछि चौथो र पाँचौ सहयोगी भएर पनि सिक्थेँ । जापानमा पिएचडीसँगै ६ वर्षे सैद्धान्तिक र प्रयोगात्मक कोर्ष पुरा गरेपछि स्वदेश फर्किएँ । फर्किएपछि पनि पिट्युटरी, छारे रोग र डीप ब्रेन स्टिम्युलेटर राख्ने शल्यक्रिया गर्दा जापानबाट गुरूको मद्दत लिन्थेँ । म जहिल्यै ‘लर्न फ्रम वेस्ट’को अवधारणाअनुसार सिक्न खोज्छु र त्यसलाई आफ्नो परिवेशअनुसार परिस्कृत गर्दै सुधार गर्न खोज्छु ।


न पद न जागिर
नेपाल फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा सेवा सुरू गरेँ । सरकारी सेवामा लागेर ठुलो संस्था, ठुलै संरचनामा काम गर्ने धोको थियो । शिक्षण अस्पतालभित्र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट खोल्ने चाहना थियो । आर्थिक सहायताका लागि जापानसँग प्रस्ताव गरेको थिएँ । जुनकुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि बताएँ । तर कुनै प्रतिक्रिया आएन ।

पीएचडी गरेको र अत्यावश्यक योजना ल्याएको मान्छेलाई शिक्षण अस्पतालमा रातो कार्पेटमा स्वागत गर्लान कि भन्ने ठानेको थियो । तर आठ महिना निःशुल्क काम गर्दापनि न जागिर पाएँ न पद नै । उल्टै धन्यवाद पत्र थमाइदिए ।


बल्लतल्ल एउटा ‘अफर’
शिक्षण अस्पतालको त्यो व्यवहारपछि अफर गर्ने एकमात्र संस्था काठमाडौं मोडल हस्पिटल हो । जहाँ १२ वर्ष सेवा गरेँ । त्यहीँ काम गर्दा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनी गंगा–जमुनाको शल्यक्रिया गरेको थिएँ । त्यसपछि अन्नपूर्ण न्युरो अस्पताल शुरू गरेको हो । मैले नेपालमा न्युरो सर्जरी सेवा सुरू गरेको ३३ वर्ष भन्दा बढी भएको छ । अहिले हरेक वर्ष १ हजार २ सयको हाराहारीमा न्युरो सर्जरी गर्दैै आएको छु । हालसम्म ३० हजार भन्दा बढीको शल्यक्रिया गरिसकेको छु ।


‘सुपरस्पेसलाइज’ मा प्रेरित
नयाँ पुस्तालाई ‘सुपरस्पेसलाइज’ भएर अगाडी बढ्न प्रेरित गरिरहेको छु । यसले परिणाम धेरै राम्रो आउँछ । विज्ञानलाई अगाडि बढाउन मद्दत पुग्छ । जुन मैले गर्न सकिनँ । मैले सबै भ्याउनुपरिरहेको छ । ब्रेन ट्युमर, डीबीएस, छारेरोग सबै प्रकारको समस्याको शल्यक्रिया गर्छु ।

मेरो मुख्य अभिरूची छारे रोग थियो । छारेरोग मात्रै गर्न पाएको भए संसारकै उत्कृष्ट हुन्थेँ होला । यही सन्देश दिइरहेको छु । यसैले मेरा जुनियर सर्जनहरू डीबीएस, ढाडको नशा जोड्ने ‘स्क्रु’ लगाउने शल्यक्रिया म भन्दा पनि राम्रो गरिरहेका छन् ।

नेपालका १२० न्युरो सर्जनमध्ये एक तिहाइलाई ट्रेनिङ दिने अवसर पाएँ । तीमध्ये २० जना अन्नपूर्ण न्युरो अस्पतालमै कार्यरत छन् ।


दक्ष चिकित्सकमा हुनुपर्ने गुण
दक्ष चिकित्सक हुन इमान्दारीता, नयाँ सिक्ने इच्छाशक्ति, सालिनता र प्रविधिसँग अपडेटेड भइरहनुपनु पर्छ । हरेक बिरामीलाई प्रभावकारी तरिकाले निको पार्नुपर्छ । यो भावना मनदेखि आइरहनुपर्छ । बिरामीलाई आफ्नो परिवारको सदस्य जस्तै ठानेर उपचार गर्नुपर्छ ।


अविस्मरणीय घटना
सन् २००९ तिर मोडल अस्पतालमा काम गर्थेँ । एकजना भुटानी बच्चाको टाउकाको आधा भागमा ट्यूमर फैलिएर अस्पताल आएको थियो । बच्चाको स्थिति ठिकै थियो । प्यारालाइसिस सुरू हुने क्रममा थियो । ट्यूमर निकाल्न सकेमा बच्चालाई बचाउन सकिन्थ्यो । सिनियर सर्जनसँग सल्लाह गरेपछि शल्यक्रिया सुरू भयो । डा. बालकृष्ण थापाले असिस्ट गर्नुभयो । १६ घण्टा शल्यक्रिया गर्दा ७० प्रतिशत मात्र ट्युमर निकाल्न सक्यौँ । अत्यधिक रक्तश्राप भएकाले बच्चालाई रगत चढाउनुपरेको थियो । यतिमा पनि बच्चा बाँच्न सक्थ्यो । हामीले शल्यक्रिया रोक्यौँ । केही समयपछि बच्चाको होस आयो । खुशीको माहोल छायो । म भने थकानले बेहोस जस्तै भएको थिएँ ।

‘डा. साब बच्चालाई गाह्रो भयो, तुरुन्तै अस्पताल आउनुपर्यो,’ भन्दै भोलिपल्ट बिहान फोन आयो । तुरुन्तै अस्पताल पुग्दा बच्चाले प्राण त्यागिसकेछ । आमाले दूध खुवाउँदा सर्किएर वान्ता भएछ । वान्ता फोक्सोमा गएर बच्चाको ज्यान गएछ । यसमा नर्सले विशेष ख्याल राख्नुपथ्र्यो । यो घटनाले लामो समयसम्म चुक­चुक लागिरह्यो ।

प्रतिक्रिया दिनुहोस्