Logo
|
Sunday 24th November 2024
Logo

epaper

मस्तिष्कमा रगतको झिल्ली कमजोर भएर फोका उठ्ने समस्याः एन्युरिजम

जनचेतना कार्यक्रमलाई व्यापक गरेर रोकथाममा पहल गर्नुपर्छ



प्रा.डा. मोहन राज शर्मा-वरिष्ठ न्युरो सर्जन

कुनै कारणवश मस्तिष्कको रगतको नलीमा झिल्ली कमजोर भएर फोका उठ्ने समस्या एन्युरिजम हो । करिब ९५ प्रतिशत एन्युरिजमको समस्या मस्तिष्कको अगाडि र साइडको भागमा हुने गर्छ । एन्युरिजम कमजोर हुन्छ र खोक्दा वा आफैं पनि फुट्नसक्छ । चिकित्सा विज्ञानले अहिलेसम्म फुट्ने कारण पत्ता लगाउन सकेको छैन ।


एन्युरिजम भएका कसैकसैलाइ टाउको दुख्नसक्छ । कतिलाई आँखा टालिने समस्या हुनसक्छ । एमआरआईले समस्या पहिचान हुन्छ ।


एन्यूरिजमका बिरामीमध्ये ३३ प्रतिशतको घरमा मृत्यु हुनसक्छ । अस्पताल पुगेपछि उपचारका क्रममा कम्प्लिकेसनबाट ३३ प्रतिशतको मृत्यु र ३३ प्रतिशतलाई मात्र प्रतिशतलाई बचाउन सकिन्छ ।


एउटा एन्यूरिजम फुटेमा बाँकी फूट्ने सम्भावना धेरै हुन्छ । प्रविधिको राम्रो सुविधा भएका सेन्टरमा दक्ष जनशक्तिबाट शल्यक्रिया गर्न जरुरी हुन्छ । बिरामीले समयमा भरपर्दो उपचार पाएमा ९५ प्रतिशत सम्म राम्रो हुनसक्छ ।


मस्तिष्कमा थोरै मात्र ब्लिडिङ भएर टाउको मात्र दुखेको छ र बिरामी बेहोस नभएको अवस्थामा इन्डोभास्कुलर क्वाइलिङ वा क्लिपिङ गरेर बिरामी जोगाउन सकिन्छ ।


सन् १९९१ मा विश्वमा पहिलोपटक इन्डोभास्कुलर क्वाइलिङ सेवा शुरु भएको हो । सन् २००३ मा बेलायतको ल्यानसेट पत्रिकामा क्लिपिङको तुलनामा इन्डोभास्कुलर क्वाइलिङ सेवा राम्रो भएको लेख प्रकाशित भएपछि क्वाइलिङप्रति धेरैको आकर्षण बढेको हो । पछि २०१०– २०११ मा आइपुग्दा क्लिपिङ र क्वाइलिङ दुवैको प्रतिफल लगभग उस्तै आउने प्रमाणित भयो ।


एन्युरिजमका बिरामी ढिला अस्पताल पुगेमा उपचार लाग्ने सम्भावना निकै कम हुन्छ । बिरामी कोमामा पुगिसकेपछि उपचारको अर्थ हुँदैन । त्यसैले यस प्रकारका बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन हेली रेस्क्यु लगायतका एम्बुलेन्स सेवा पर्याप्त उपलब्ध गराउनुपर्छ । सरकारले न्युरो सर्जिकल सेवालाई विकेन्द्रिकरण गर्नुपर्छ । उपकरण, अपरेसन थिएटर, आइसियू, एन्जियोग्राम आदिको सुविधा पर्याप्त उपलब्ध गराइनुपर्छ । क्षेत्रगत रूपमा यस किसिमको सेवा पु¥याउन सकेमा दुर्गम क्षेत्रका सम्बन्धित धेरै बिरामीले राहत प्राप्त गर्न सक्छन् ।


संसारमा अहिले ५० प्रतिशत क्लिपिङ र ५० प्रतिशत क्वाइलिङ हुने गर्छ । कुनै कुनै एन्युरिजम क्वाइलिङ गर्दा राम्रो मानिन्छ भने कुनैमा क्लिपिङ । मस्तिष्कको पछाडि पटीको एन्युरिजममा क्वाइलिङ गर्दा राम्रो मानिन्छ भने अगाडिपट्टीको एन्युरिजममा क्लिपिङ राम्रो मानिन्छ । एन्युरिजमको शल्यक्रिया खर्चालु भएकाले यसलाई स्ट्रोक अन्तर्गत राखेर सरकारले राहत उपलब्ध गराएमा राम्रो हुन्छ । कतिपय बिरामी बाँचेर पनि केही गर्न नसक्ने अवस्थामा पुग्ने भएकाले सरकारले एन्युरिजम उपचारमा राहत दिनुपर्छ ।


जनचेतना कार्यक्रमलाई व्यापक गरेर रोकथाममा पहल गर्नुपर्छ । हरेक व्यक्ति आफ्नो जीवनशैलीप्रति सचेत रहनुपर्छ । व्यायाम गर्ने, चुरोट नखाने, धेरै रक्सी सेवन नगर्ने, उच्च कोलेस्टेरोल नियन्त्रण गर्ने, उच्च रक्तचाप नियन्त्रणमा राख्न सकेमा सम्भावित खतरा न्यूनिकरण गर्न सकिन्छ ।

(डा. शर्मा त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्