Logo
|
Saturday 27th July 2024
Logo

epaper

गाजाको अस्पतालभित्र ‘नेपाली बन्धक’ पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । इजरेली सेनाले गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “‘इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका फुटेजमो देखिन्छ।”

अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल–शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ।

समाचार ब्रीफिङका क्रममा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले आइतवार सार्वजनिक गरेको सीसीटीभी फुटेजको बीबीसीले स्वतन्त्र रूपमा आधिकारिता पुष्टि गर्न सकेको छैन।

परराष्ट्रमन्त्री के भन्छन्?
आईडीएफले सार्वजनिक गरेको पछिल्लो भिडिओ फुटेजबारे बीबीसी न्यूज नेपालीले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष जिज्ञासा राखेको थियो।

सो क्रममा उनले ताजा भिडिओबारे थाहा नभए पनि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी “सकुशल” रहेको जानकारी पाएको बताउनुभयो ।

इजरेलस्थित नेपाली दूतावासले पनि आइतवार एउटा विज्ञप्ति जारी गर्दै “जोशी हालसम्म सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ।

“त्यो भिडिओ फुटेजबारे नै त हामीलाई केही जानकारी आएको छैन। तर हिजो राति अबेर इजरेली अधिकारीबाट हामीले पाएको जानकारीअनुसार विपिन जोशी सकुशल र बन्धक अवस्थामा हुनुहुन्छ, ” साउदले भन्नुभयो ।

जोशीको रिहाइका लागि आवश्यक पहल गरिरहेको अधिकारीहरूले बताउँदै आएका छन्। “हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ,” साउदले सोमवार बिहान भन्नुभयो ।

हमाससँग पनि केही कुराकानी भएको छ कि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हमास समूहसँग नै हाम्रो कुरा भएको छैन।”

अधिकारीहरूका अनुसार जोशीको रिहाइमा सघाइदिन भन्दै कतारलाई औपचारिक पत्र नै पठाइसकिएको छ।

के कतारले सघाउन सक्छ ?
हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइमा सघाउन नेपालका लागि कतार नै “सबैभन्दा अनुकूल विकल्प” भएको त्यहाँका लागि पूर्वराजदूत नारद भारद्वाज बताउनुहुन्छ ।

अक्टोबर ७ को हमलालगत्तै नेपालले “आतङ्कवादी हमला” भन्दै निन्दा गरेको थियो।

नेपालले त्यसो भनिसकेको अवस्थामा र अहिले इजरेली हमलामा गाजामा अधिकांश गैरसनिकको ज्यान गइरहेको पृष्ठभूमिमा हमाससँग सीधै सम्पर्क गर्न सम्भावना पनि भारद्वाज देख्दैनन्।

“यो स्थितिमा नेपालले सोझै हमाससित कूटनीतिक पहल गर्ने न कुनै सम्पर्क बिन्दु छ न त्यस्तो किसिमको अवस्था नै छ। त्यस कारण नेपाल उहाँले भन्नुभयो ।

“कतारलाई नै प्रयोग गर्नु अहिलेको अवस्थामा सबैभन्दा अनुकूल हुन्छ भन्ने मलाई लाग्छ।”

विगतमा कतारले तालिबान र अमेरिकाबीच गराएको सहमतिलाई हेर्दा मध्यस्थतामा उसको दक्षतामाथि भरोसा गर्न सक्ने आधार रहेको जानकारहरू बताउँछन्।

त्यसमा सहमति जनाउँदै पूर्वराजदूत भारद्वाज भन्नुहुन्छ “मलाई लाग्छ कतारको कूटनीतिक पहल र अन्तर्राष्ट्रिय मध्यस्थतामा उच्च क्षमता छ।” बीबीसीनेपालीबाट साभार

प्रतिक्रिया दिनुहोस्