स्नायु प्रणालीलाई स्वस्थ्य र सुचारू राख्ने खाना
म्याग्नेसियम : यो खनिज पदार्थले स्नायु प्रसारण (नर्भ ट्रान्समिसन) र न्युरोमस्कुलर प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । म्याग्नेसियमले स्नायुकोष क्षयीकरणबाट बचाउँछ र विभिन्न असरहरूलाई न्युनिकरण गर्न मद्धत गर्छ । एक वयस्क पुरुषको लागि ४४० मिलिग्राम र महिलाका लागि ३७० मिलिग्राम म्याग्नेसियम आवश्यक पर्छ ।
यो गाढा रंगका हरिया सागपात, नट्स (ओखर, काजु, बदाम, तील, आलस, फर्सीको बियाँ, सुर्यमूखीको दाना आदि), माछा (मककरेल, साल्मोन, ह्यालीवट), सिताके च्याउँ, सिपी च्याउ, एभोकाडो, मासु, गेडागुडी, सुकेका फलफूल, बोक्रासहितका अन्नहरू, दही, पनिर, खुवा आदि बाट प्राप्त गर्न सकिन्छ ।
म्याग्नेसियमको दैनिक आवश्यकता पुरा गर्नको लागि २०० ग्राम बोक्रासहितको अन्न, २०० ग्राम हरिया सागपात, १५–२० ग्राम नट्स र १०० ग्राम गेडागुडी खानामा समावेश भएको हुनुपर्दछ ।
प्रोटीन : यसले मांशपेशीलाई मजबुत बनाउनुका साथै शरीरका विभिन्न कम्पाउण्ड बनाउन र दैनिक क्रियाकलाप सुचारू गराउन सहयोग गर्दछ । विभिन्न कोषिका तथा तन्तुहरूको निर्माण र मर्मत यसको विशेष भूमिका हुन्छ । स्नायु प्रणालीका प्रत्येक कोषिका प्रोटिनबाट निर्मित हुन्छन् । त्यसकारण स्नायुप्रणालीको कोषिकाहरूको निर्माण, मर्मत र सुचारू गर्न प्रोटिनको आवश्यकता पर्दछ । दूध, दही, पनिर, माछा, मासु, अण्डा प्रोटिनका जनावरीय र दाल, गेडागुडी, सोयावीन, तोफु आदि वनस्पति स्रोत हुन् ।
ट्रिप्टोफ्यान भन्ने एमिनो एसिड स्नायु सञ्चार गर्ने प्रोटिन हो । यसले मस्तिष्कलाई नियन्त्रणमा राख्छ । साथै रिस, चिन्तालाई कम गरी स्मरण शक्ति, सिकाई, संवेगात्मक विकास आदिलाई बढावा दिने गर्छ । दूध, माछा, मासु, चिज, नट्स फलफुल यसका स्रोत हुन् ।
एक वयस्क महिलाका लागि ४६ ग्राम र पुरुषका लागि ५४ ग्राम दैनिक प्रोटिनको आवश्यकता पर्ने भएकाले दैनिक ७५ ग्राम दाल गेडागुडी, ५० ग्राम तोफु वा मासु, ३०० ग्राम दुध र १५–२० ग्राम नट्स खान जरूरी हुन्छ । हरेक दिन खानामा केही न केही प्रोटिनका स्रोत समावेश गर्नुपर्दछ ।
सोडियम र पोटासियम : यसबाट स्नायुले मस्तिष्क हुँदै शरीरमा सञ्चार पुर्याउन सहयोग गर्दछ । शरीरलाई दैनिक २००० मिलिग्राम सोडियम आवश्यक पर्छ । यो आवश्यकता पुरा गर्न हामीले खाने नुन १ चिया चम्चा (५ ग्राम बराबर ) हुन आउँछ । केही मात्रा सोडियमबाट पनि पाइन्छ । तर बजारमा प्याक गरिएका र प्रसोधित खानेकरा खानामा समावेश नगरिएको अवस्थामा प्राकृतिक खानेकुराबाट न्युन मात्रामा नुन पाइन्छ ।
पर्याप्त पोटासियमका लागि दैनिक ५०० ग्राम हरिया तरकारी, २०० ग्राम फलफूल, १०० ग्राम दाल वा गेडागुडी र बोक्रासहितका अन्नहरू (कोदो, फापर, गहुँ, जौ ) प्रयोग गर्न सकिन्छ । च्याउ, पालुंगो, ब्रोकाउली, भण्टा, टमाटर, स्ट्रबेरी, एभोकाडो, अनार, सुन्तला, काउली, बन्दा, केरा, आलु, बोक्रा सहितका अन्नहरूमा पोटासियमको मात्रा बढी पाइन्छ ।
क्याल्सियम : यो खनिज पदार्थ स्नायुद्वारा उत्पन्न र प्रसारित आवेगहरूलाई सुचारू गर्न आवश्यक पर्दछ । एक वयस्क व्यक्तिका लागि दैनिक १००० मिलिग्राम क्याल्सियम आवश्यक पर्दछ । दूध र दूधका परिकार, कर्कलोको पात, मेथीको साग, फर्सीको साग, पालुंगो, चम्सुरको साग, तोरीको साग, जलुका साग, बेथेको साग, भिन्डी, किसमिस, कागजी बदाम, चम्सुरको बियाँ, तोरीको दाना, तील, आलस, सूर्यमुखीको बियाँ, ओखर, सख्खर आदि क्याल्सियमका श्रोत हुन् । यो दैनिक खानामा समावेश गर्नुपर्छ ।
भिटामिन बी १२: पानीमा घुलनशिल भिटामिनले स्नायु र रक्तकोषिकालाई स्वस्थ राख्न सहयोग पु¥याउँछ । यसैमध्ये मध्येको एक हो भिटामिन बी १२ । यसले स्नायु प्रणालीलाई स्वस्थ राख्नुका साथै पैताला, पिडौला र औलाहरूमा अक्सिजन पुर्याई झमझमाउने, पोल्ने, घोच्ने, समस्या हुन दिँदैन । यसको कमीले अचानक उभिँदा र भर्याङ चढ्दा रिंगटा लाग्नसक्छ ।
भिटामिन बी १२ ले माइलिन भन्ने पदार्थ उत्पादन गर्दछ जुन एक सुरक्षात्मक कोटिङ हो । यसले कोषिकालाई ढाक्छ र संवेदना प्रसारण गर्न मद्दत गर्दछ । एक वयस्कको लागि २.२ माइक्रोग्राम भिटामिन बी १२ आवश्यक पर्छ । दूध र दूधका परिकार, बदाम, साल्मोन टुना माछा, कुखुराको मासु, अण्डा, तोफु, च्याउ यसका श्रोत हुन् ।
ओमेगा ३ फ्याटी एसिड : यसले स्नायुलाई क्षयीकरण हुनबाट बचाउँछ । साथै क्षति भएको स्नायुलाई पुनः सम्भार गराउने काम गर्दछ । माछा, आलस, भटमास र ओखरमा राम्रो ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।
तसर्थ बजारमा उपलब्ध प्रशोधित खानेकुरा, बट्टा र प्लास्टिकमा प्याक गरिएका खानेकुरामा मानव मस्तिष्कलाई आवश्यक पौष्टिक तत्वको कमी हुन्छ । त्यसकारण बजारमा उपलब्ध प्रसोधित खानेकुराले मानसिक समस्याहरू सिर्जना गर्दछन् । त्यसैले प्रत्येक उमेर समूहका लागि सन्तुलित खाना आवश्यक पर्छ ।
(लेखक अल्का हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)