Logo
|
Saturday 27th July 2024
Logo

epaper

सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने



जनस्वास्थ्य सरोकार, खोटाङ । सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ।

प्रतिष्ठानले गत शनिबार (मङ्सिर २ गते) देखि लागू हुने गरी विसं २०८१ मङ्सिर २ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्विपक्षीय सम्झौता भएको छ। नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रिया, औषधि र खानाको व्यवस्था प्रतिष्ठानले गर्ने द्विपक्षीय सम्झौतापत्रमा उल्लेख छ।

नगरपालिकाबाट पाठेघर खस्ने समस्या भएका ३७ महिलालाई शल्यक्रियाका लागि बनेपा पुर्याइएको मौकामा नगरपालिका र प्रतिष्ठानबीचमा पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि नौ बुँदे सम्झौता गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो। पाठेघर खस्ने समस्या भएका एक जना बिरामीलाई जिल्ला बाहिर लगेर स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधोपचार, खाना र यातायात गरी ७० देखि ७५ हजार रुपैयाँ खर्च लाग्छ।

ुनगरपालिकाका तर्फबाट वडा वडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरेर पाठेघरसम्बन्धी समस्या पहिचान गर्ने, शल्यक्रियाका लागि अस्पताल जानेआउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ,ु उनले भने, ुप्रतिष्ठानका तर्फबाट शल्यक्रिया शुल्क, बिरामी भर्ना, ल्याब परीक्षण, औषधिलगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान–बेलुकाको खानाबापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ।

नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्या पहिचानसम्बन्धी तालिम दिने, आगामी फागुन–चैतमा दिक्तेलमा आवश्यक उपकरणसहितका १५ जना विज्ञ टोली ल्याएर पाठेघर खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने, कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्याबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको छ।

गत मङ्सिर २ गते नगरपालिकाबाट शिर मेमोरियल लगिएका पाठेघर खसेका ३७ बिरामीमध्ये १७ जनाको शल्यक्रिया भइसकेको छ। पाठेघर खस्ने समस्या भएका ६२ मध्ये ३७ जनामात्र अस्पताल जान तयार भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिएका छन्। कतिपय बिरामीको शल्यक्रिया नगरी थेरापी गर्दा नै रोग निको हुने अस्पतालले जानकारी दिएको नगरपालिकाले जनाएको छ। कतिपयलाई भने श्वासप्रश्वास, फोक्सो, मुटु, उच्च रक्तचापलगायतको समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो।

दश स्थानीय तह रहेको जिल्लामा पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ। जिल्लामा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्