शरीरको आकार सुन्दर बनाउने सर्जरी ‘लिपोसक्शन’ : कत्तिको सुरक्षित ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निकिता र रिद्धिमा (नाम परिर्वतन) ले आफ्नो शरीरलाई आकर्षक र सुडौल बनाउन गत हप्ता शल्यक्रिया गराए । उनीहरुको उमेर ४० देखि ४५ वर्षसम्म रहेको र शल्यक्रियाका लागि उनीहरु तीन दिनसम्म अस्पतालमा बसेका थिए । शरीरमा आएको परिवर्तनपछि दुवै जना निकै खुसी छन् ।
उनीहरुको ३६० डिग्री ‘लिपोसक्सन’ गरिएको थियो । सामान्य भाषामा भन्नुपर्दा शरीरलाई आकर्षक आकार दिन उनीहरुको शरीरको चारै तिरबाट केही बोसो निकालिएको थियो । दिल्ली–एनसीआरबाट आएका निकिता र रिद्धिमाजस्तै, सुन्दर र आकर्षक देखिन देशविदेशमा सयौं महिलाहरूले यस्ता शल्यक्रिया गर्छन् ।
यसले शरीरलाई प्रतिकूल असर गर्छ कि गर्दैन ?
गत वर्ष कन्नड टेलिभिजन अभिनेत्री चेतना राजको बेंगलुरुको एक निजी अस्पतालमा मृत्यु भयो । उनको तौल घटाउने शल्यक्रिया गराएपछि स्वास्थ्य अवस्था बिग्रिएको बीबीसीले जनाएको छ ।
बीबीसीको एक रिपोर्टमा ७ जना बेलायती नागरिकको तौल घटाउने शल्यक्रियापछि मृत्यु भएको उल्लेख छ । सन् २०१९ मा टर्कीको इस्तानबुलस्थित एक निजी अस्पतालमा बट–लिफ्ट शल्यक्रियाका क्रममा ३१ वर्षीया मेलिसा केरको मृत्यु भएपछि यो विषयले व्यापक चर्चा पाएको थियो । त्यस्तै सन् २०२० मा पनि तीन सन्तानकी आमाले टर्कीमा आएर लिपोसक्सन गराइन् तर, पछि उनको मृत्यु भयो ।
के यो टर्कीमा शल्यक्रिया बढी हुन्छ ?
टर्कीको स्वास्थ्य मन्त्रालयले सन् २०१९ मा यूएसएचएएस नामको स्वास्थ्य सेवा कम्पनी गठन गर्यो । हालका वर्षमा टर्की मेडिकल टुरिजमको केन्द्रविन्दु बनेको छ । उत्कृष्ट स्वास्थ्य सेवा, योग्य डाक्टर र सर्वसुलभ मूल्यका कारण टर्की आज शीर्ष स्वास्थ्य पर्यटन गन्तव्य बनेको अधिकारीहरु दाबी गर्छन । सन् २०२२ को पहिलो ६ महिनामा करिब ६ लाख मानिस स्वास्थ्य सुविधा लिन टर्की आएको बीबीसीले जनाएको छ ।
इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीले टर्कीलाई स्तन वृद्धि, आँखाको परेलाको शल्यक्रिया, पेट घटाउने, लिपोसक्सन र नाकको आकार परिवर्तन गर्ने शल्यक्रियाको सन्दर्भमा शीर्ष १० देशहरूमा स्थान दिएको छ । टर्कीमा यस प्रकारको शल्यक्रिया गर्नका लागि ह्वाट्सएपमा मेसेजमार्फत केही मिनेटमै डेट बुक गर्न सकिने बीबीसीले जनाएको छ । बेलायतमा करिब १० लाख रुपैयाँ खर्च हुने शल्यक्रिया टर्कीमा २ लाख रुपैयाँमै गरिन्छ ।
किन बेलायत यस विषयमा टर्कीसँग कुरा गर्न चाहन्छ ?
बीबीसीमा प्रकाशित एउटा लेखमा एक स्वास्थ्य अधिकारीले मेलिसा केरको मृत्युप्रति चिन्ता व्यक्त गर्दै भनिएको छ, ‘मेलिसा वा त्यस्ता अन्य व्यक्तिहरूलाई शल्यक्रियाका लागि विदेश जानुअघि उचित जानकारी दिइँदैन।’ बेलायती स्वास्थ्यमन्त्री मारिया कौलफिल्डले सरकारले यो विषयलाई गम्भीरताका साथ लिएको बताउनुभएको छ ।
नोर्फोकका वरिष्ठ स्वास्थ्य अधिकारी ज्याकलिन लेकले लेखेका प्रतिवेदनलाई जवाफ दिँदै कोफिल्डले भविष्यमा त्यस्ता मृत्युहरू रोक्न स्वास्थ्य र सामाजिक सेवा विभागका अधिकारीहरूले छिट्टै टर्कीमा आफ्ना समकक्षहरूलाई भेट्न जाने बताउनुभयो । बेलायती सरकारले धेरैको मृत्युपछि मेडिकल र कस्मेटिक पर्यटनसँग सम्बन्धित नियमहरूबारे छलफल गर्न टर्कीका अधिकारीहरूसँग भेट्ने जनाएको छ । ब्राजिलियन बट–लिफ्ट सर्जरीको क्रममा मेलिसा केरको मुटुमा रगत जमेको थियो ।
बेलायतका स्वास्थ्य सचिव मारिया काउलफिल्डले भन्नुभयो–‘ब्राजिलियन बट–लिफ्ट (बीबीएल) गर्ने सोच विचार बनाएको मानिसहरूलाई जोखिमको बारेमा पूर्ण जानकारी दिनुपर्छ । शल्यक्रिया गर्नु अघि पूर्ण रूपमा विचार गर्न समय दिनुपर्छ ।’
ग्रेटर नोएडाको यथार्थ सुपरस्पेशालिटी अस्पतालका प्लास्टिक सर्जन डा अश्विनी कुमार सिंहका अनुसार शल्यक्रिया गर्न चाहनेले यसबारे राम्ररी सोच्नुपर्छ र शल्यक्रिया मान्यता प्राप्त चिकित्सकबाट मात्रै गर्नुपर्छ ।’
बेलायतका स्वास्थ्य सचिव मारिया काउलफिल्डले ब्राजिलियन बट–लिफ्ट शल्यक्रिया अन्य कस्मेटिक शल्यक्रियाहरू भन्दा १० गुणा जोखिम बोक्ने बताउनुभयो ।
के हो लिपोसक्सन ?
बेलायती स्वास्थ्य सेवा कम्पनी नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार लिपोसक्सन एक कस्मेटिक सर्जरी हो । यो शल्यक्रिया आफ्नो शरीरबाट अतिरिक्त बोसो हटाउन चाहने व्यक्तिको लागि गरिन्छ। लाइपोको अर्थ फ्याट र सक्शनको अर्थ हटाउनुु हो । लिपोसक्सन शरीरमा बोसोको मात्रा जम्मा भइरहने र बोसोलाई व्यायाम वा स्वस्थ आहारले कम गर्न नसकिने भागमा गरिन्छ ।
लिपोसक्सन शल्यक्रियामार्फत नितम्ब, घाँटी, चिउँडो, पेट, तिघ्रा, हातको माथिल्लो, पछाडिको भाग र खुट्टाको पछाडिको भागको बोसो घटाइन्छ । यसले अधिक तौल नभएका मानिसहरूलाई राम्रो फाइदा गर्छ ।
‘लाइपोसक्शन पूर्णरुपमा सुरक्षित’
डा. अश्विनी कुमार भन्नुहुन्छ –‘लिपोसक्सन पूर्णतया सुरक्षित छ । ९९.९ प्रतिशत बिरामीलाई कुनै समस्या उत्पन्न हुँदैन । यदि यो सुरक्षित नभएको भए अमेरिकी एफडीएद्धारा अनुमोदित हुने थिएन।’
डा. अश्विनीका अनुसार शल्यक्रिया गर्नुपूर्व व्यक्तिको राम्रोसँग स्वास्थ्य जाँच गरिन्छ । बिरामी स्वास्थ्यअवस्था फिट भएमात्र शल्यक्रियामा पठाइन्छ । शल्यक्रिया पश्चात एन्टिबायोटिक र पेनकिलर औषधि दिइन्छ ।’ उहाँ थप्नुहुन्छ–‘लिपोसक्सन तौल घटाउने शल्यक्रिया नभई शरीरको रुपरेखा (बडी कन्टूरिङ ) मिलाउने प्रक्रिया हो ।’
समस्या कहिले उत्पन्न हुन्छ ?
डा अश्विनी भन्नुहुन्छ–‘यो शल्यक्रिया सधैं प्रमाणित प्लास्टिक सर्जनबाट मात्र गर्नुपर्छ । टेक्निसियन वा सिकारु व्यक्तिबाट सर्जरी गराउँदा जटिल समस्या उत्पन्न हुनसक्छ । साथै, आफुले शल्यक्रिया गराउन लागेको अस्पतालमा कस्तो छ ? अस्पतालको भौतिक पुर्वाधार सेवासुविधाबारे ख्याल गर्नुपर्छ । यदि राम्रो आइसियू सेटअप भएको अस्पतालमा शल्यक्रिया गराउँदा कुनै जटिल समस्या उत्पन्न भए तुरुन्तै उपचार गर्न सकिन्छ।’ उहाँ भन्नुहुन्छ–‘ब्याकअप र आईसीयू सेटअप नभएको सानो सेन्टरमा ठूलो लिपोसक्सन गर्दा समस्या सिर्जना हुनसक्छ ।’
लिपोसक्शनको प्रक्रिया
डा. अश्विनी भन्छन्, ‘लिपोसक्शनमा शरीरको निश्चित भागमा इन्जेक्सन दिइन्छ, जसले त्यहाँ भएको बोसोलाई टुक्रा टुक्रा गर्छ । र, यसलाई हटाउन सहज हुन्छ ।’ युनिभर्सल लिपोसक्शनको निर्देशिकामा यो कुरा स्पष्ट छ कि तपाईं एक पटकमा कति लिपोसक्शन गर्न सक्नुहुन्छ र यस शल्यक्रिया पछि तपाईंले के कस्ता सावधानी अपनाउनुपर्छ । बीबीसीहिन्दीबाट साभार