Logo
|
Friday 26th July 2024
Logo

epaper

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग



जनस्वास्थ्य सरोकार, सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ ।

नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो ।

अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वयसमेत नगरी सो अस्पताल सारिएको नगर उपप्रमुख नितु थापा (कोइराला)ले आरोप लगाउनुभयो । उहाँले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गर्नुभयो।

उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति नगरपालिकाले गहिरो दुख प्रकट गरेको छ । प्रादेशिक अस्पतालसँग पटकपटक समन्वय र सहकार्यका लागी आवश्यक छलफल भएको व्यहोरा जानकारी गराउँदै बेलवारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको नगर प्रवक्ता राईले जानकारी दिनुभयो ।

कोशी प्रदेशसभा सदस्य तथा बेलबारी पूर्वनगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताउनुभयो । मुख्यमन्त्रीले चाडै कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षकसहित सरोकारवालाको बैठक राख्ने बताएको सुवेदीले जानकारी दिनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्