Logo
|
Saturday 27th July 2024
Logo

epaper

नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक, यी हुन् महत्वपूर्ण ८ निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनीले नेतृत्व सम्हाल्नुभएपछि स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक बसेको हो ।

अध्यक्ष डा. लोहनीले बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराउनुभएको छ । बोर्ड बैठकले अहिले बढी समस्याको रुपमा रहेको दावी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

निर्णयहरु

१. २०८० असार मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दाबीहरुलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय  विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनारावलोकन समिति गठन गरी, समितिको कार्यविवरण तयार गर्ने र एक महिना भित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय गरको छ। पाँच जनाको विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अधिकृत, एक जना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एक जना र आइटी शाखाबाट एक जना रहनेछन्।

२. स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतको औषधिको शुल्क समयानुकुल समायोजन गर्न एक समिति बनाई एक महिना भित्र प्रतिवेदन पेश गर्न लगाउने। औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको छैन।

३. स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (को पेमेन्ट) प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि – २०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने।

४. सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने।

५. नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट हाल एक – एक महिनाका लागि दिईरहेको औषधि अब चाहि तीन – तीन महिनाका लागि दिने व्यवस्था मिलाउने।

६. एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुन: प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने।

७. स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने।

८. स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी मिति २०८० बैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने।

प्रतिक्रिया दिनुहोस्