Logo
|
Friday 26th July 2024
Logo

epaper

जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन विभागको विकास र विस्तारको अभावमा बिरामी अलमल



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।

नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ । डा.विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रूपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउनुहुन्छ । जस कारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी व्यहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ ।

“चिकित्सा विज्ञानमा सबैभन्दा ठुलो काम नै रोगको सही पहिचान गर्नु हो । रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको निदान सहज हुन्छ । सहजीकरणको काम विशेषज्ञता हाँसिल गरेका चिकित्सक सम्मिलित ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन’(जिपिइम्यान) विभागले गर्ने हो”, डा.दवाडी भन्नुहुन्छ,“नेपालमा यससम्बन्धी खासै जानकारी दिने गरिँदैन । नागरिकको विश्वासका लागि प्रचारप्रसारको अभाव हुनुका साथै धेरै अस्पतालमा उक्त विभाग नै हुँदैन । जसले गर्दा बिरामी धेरै अस्पताल र चिकित्सक कहाँ भौँतारिने र अन्तमा पैसा खर्चसँगै स्वास्थ्यमा थप जटिल समस्या आइसकेको हुन्छ ।”

डा.जयनारायण साह पनि नेपालमा २५ शय्याभन्दा माथिका अस्पतालमा अनिवार्यरुपमा जिपिइम्यान सम्मिलित विभागको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरै अस्पतालमा त्यसको अभ्यास नरहेकाले छायामा परेको बताउनुहुन्छ । “जनरल भनेपछि सामान्य हो भनेर त्यहाँ किन जाने भन्ने प्रचलन छ ।

तर त्यहाँका चिकित्सक मेडिकल अधिकृतभन्दा माथिल्लो विशेषज्ञता हाँसिल गरेका विज्ञ हुन्छन् भन्ने जानकारी दिनुपर्ने अवस्था छ,” जानकी मेडिकल कलेज शिक्षण अस्पताल धनुषा, शिक्षण विभाग प्रमुखसमेत रहनुभएका डा.साहले भन्नुभयो, “त्यसको अभावमा कि त बिरामीले रोगको प्रकृतिअनुसार घरबाटै डाक्टर पहिचान गरेर आउने कि त टिकट काउन्टरको कर्मचारीले भनेअनुसार जाने अवस्था छ । जसकारण बिरामीले यताउता भौतारिरहनु परेको हुन्छ ।”

डा.शिवशङ्कर साह सो विधाका विशेषज्ञ चिकित्सकहरूले रोगको पहिचान, सोको निदानका लागि सम्बन्धित चिकित्सकसँग सम्पर्क स्थापित गरी बिरामीलाई धेरै ठाउँ धाउने र थप समस्यामा पर्ने अवस्थाबाट जोगाउने तर्क गर्नुहुन्छ । “बिरामीले सुनेको र चिनेको भारमा रोगसँग असम्बन्धित चिकित्सक रोज्ने, रोगको डाइग्नोसिसमै अल्झिँदा सम्बन्धित चिकित्सकसम्म पुग्दा समय, अर्थ र स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको छ । त्यसबाट जोगिन र जोगाउन सबैसचेत हुनुपर्छ । त्यो भनेको जिपिइम्यान विभागको विकास र विस्तार नै हो ।”

शुक्रबार जानकी मेडिकल कलेजमा आयोजित जिपिइम्यानको सेमिनारमा सहभागी हुन यहाँ आउनुभएका चिकित्सकको भनाइ हुन् यी । यो विधाका चिकित्सकको सङ्गठन जिपिइएमएएनका केन्द्रीय महासचिवसमेत रहनुभएका डा.विश्वराज दवाडीले नेपालमा हाल पाँच सयभन्दा बढी चिकित्सकहरू रहेकामा करिब पचास प्रतिशतले अवसरका लागि नेपाल छाड्ने गरेका जानकारी दिनुभयो ।

सो विधासम्बन्धी विशेषज्ञ चिकित्सकलाई नेपालमै रोक्नका लागि अस्पतालहरूमा सेवा विस्तार र नागरिकमा विश्वास अभिवृद्धि गर्न आफ्नो संस्थाले काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष ओपी पाण्डेले विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्ष जनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभाग स्थापना गरेर सेवालाई थप व्यवस्थित बनाउने काम गरिरहेको बताउनुभयो ।

अस्पताल निर्देशक प्रा.डा.धर्मदत्त सुवेदीले आफ्नो मेडिकल कलेजले रोग पहिचानको ‘प्रवेशद्वार’ का रूपमा रहेको उक्त विभाग स्थापना गरेर काम गर्नुका साथै सोही विषयमा अध्ययन÷अध्यापन पनि गराइरहेको जानकारी दिनुभयो । हाल सो विधाका दुई जना विशेषज्ञ र एमडिजिपिए अध्ययनरत चार जना चिकित्सकले सेवा दिइरहेका उहाँले जानकारी दिनुभयो ।

सुवेदीले अन्तरङ्ग तथा बहिरङ्ग सेवामार्फत अस्पतालले वर्षमा एक लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य उपचार दिइरहेको र गाउँ(गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने गरेकोसमेत बताउनुभयो । वि।सं २००३ देखि पठनपाठन सुरु गरेको सो मेडिकल कलेजमा अहिले १८ औँ ब्याचलाई पढाइरहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत एमडी, एमएस, एमबिबीएसका साथै स्टाफ नर्स कोर्ष पनि सञ्चालनमा छ । यी सबै कार्यक्रमबाट हालसम्म दुई हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्