Logo
|
Sunday 19th May 2024
Logo

epaper

बागमती प्रदेशः एक हजार बढीमा अटिजम, अवस्था पहिचान गर्न नसक्दा समस्या



जनस्वास्थ्य सरोकार, हेटौँडा । अटिजम अवस्थाको पहिचान गर्न नसक्दा समस्या हुने गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको अटिजमसम्बन्धि छलफलमा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशमा एक हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको छ ।

कुनैपनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष सम्वाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्याउने, अरुसँग घुलमिल नहुने, अस्वभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ । स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा. खगेश्वर गेलाले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धि काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताउनुभयो । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डा. रामप्रसाद पोखरेलले अटिजमसम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अटिजम केयर नेपालका सुरेन्द्र बज्रचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी दिँदै सहभागिको जिज्ञासाको उत्तर दिनुभएको थियो ।

सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ । नेपालमा पनि तीन लाख जनसङ्ख्यामा कुनै न कुनै रुपमा अटिजमको समस्या रहेको उल्लेख छ ।

छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रशासन महाशाखा प्रमुख, हेटौँडा अस्पतालका, विद्यालय, अटिजमका क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरुको सहभागिता रहेको गोरखापत्रअनलाइनमा अनिल पराजुलीले समाचार लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्