Logo
|
Sunday 6th October 2024
Logo

epaper

भरतपुर अस्पताल: थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा



जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ। थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार हाललाई तीन शय्याको छुट्टै डेकेयर सुरु गरिएको छ। भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई वार्डमै भर्ना गरिने उहाँले जानकारी दिनुभयो।

अस्पतालका बाल रोग विशेषज्ञ डा. नारायणबहादुर थापाले डेकेयरमा रगत चढाइ सकेपछि कतिपयलाई शरीरमा आइरन बढेर पुनःआइरन घटाउन औषधि दिनुपर्ने बताउनुभयो। आइरन घटाउने औषधि काठमाडौँको कान्ति बाल अस्पतालमा मात्रै निःशुल्क रुपमा पाइने उहाँको भनाइ छ। उहाँले भन्नुभयो , “आइरन घटाउने औषधि निःशुल्क पाइने भएकाले कतिपय बिरामी काठमाडौँ न जाने गरेका छन्।”

थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएको बताउँदै डा थापाले भन्नुभयो–“आमा वा बुबा वा दुवैमा थालेसिमिया भएमा बच्चालाई हुने सम्भावना धेरै हुन्छ।”

यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुने डा थापाले बताउनुभयो। उहाँले भन्नुभयो “निर्माण भएको कोशिका पनि लामो समय रहँदैन। जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँछ।”

थालेसिमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ। यो रोग लागेपछि बारम्बार रगत नचढाए बालबालिकाको ज्यानै जान सक्छ। जन्मेको दुईदेखि तीन महिनामा यो रोग देखापर्ने उहाँले बताउनुभयो। डा थापाले भन्नुभयो–“बच्चा फुस्रो हुँदै गयो, जण्डिस जस्तो देखियो भने शङ्का गरेर परीक्षण गर्नुपर्छ। परीक्षणका क्रममा रगतमा हेमोग्लोबिन कम हुन्छ।”

दराई, थारुलगायतका जनजातिमा बढी सङ्ख्यामा यो रोग हुने गरेको देखिएको छ। चितवन र यस वरपरको अवस्था हेर्दा ७० प्रतिशत जनजाति र ३० प्रतिशत क्षेत्री बाहुनमा पनि यो रोग देखिएको उहाँले जानकारी दिनुभयो। चितवन र नवलपरासीका गरी एक सय जना थालेसिमियाका बिरामी भरतपुर अस्पतालमा दर्ता भएको डा थापाले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्