Logo
|
Sunday 26th May 2024
Logo

epaper

स्वास्थ्य बीमाः स्वास्थ्य सेवा लिँदा लाग्ने खर्चको १० प्रतिशत शुल्क बीमित आफैले तिर्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली शुरु गर्ने भएको छ । 

बोर्डको कार्यालय बबरमहल काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले माघ १ गतेदेखि बीमितले तोकिएको स्वास्थ्य सेवा लिँदा लाग्ने खर्चको १० प्रतिशत शुल्क आफैले तिर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो । 

सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सह–भुक्तानी प्रणाली परीक्षणको रुपमा लागू गर्न खोजिएको भन्दै आवश्यकताका आधारमा परिमार्जन गर्न सकिने बताउनुभयो ।

कार्यकारी निर्देशक डा.बसौलाले स्वास्थ्य बीमा र अन्य बीमाको प्रकृति फरक हुने भन्दै स्वास्थ्य बीमाका सम्बन्धमा हुने आम नागरिकको बुझाइलाई फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

सम्मेलनमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले कतिपय बीमितहरुले अनावश्यक रुपमा बीमाको गलत प्रयोग गर्दा वास्तविक पीडितलाई समस्या हुने गरेकाले सह–भुक्तानी प्रणाली लागू गर्नुपरेको बताउनुभयो । 

अध्यक्ष डा. लोहनीले तोकिएको मूल्यमा स्वास्थ्य सेवा दिए निजी र सरकारी सबै अस्पतालमा स्वास्थ्य बीमा प्रणाली लागू गर्न सकिने बताउनुभयो ।

अध्यक्ष डा. लोहनीले स्वास्थ्य सेवा, विकास र सुशासनलाई प्राथमिकतामा राखेर बोर्डले विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभयो । 

यो व्यवस्थामा माघ १ गतेदेखि स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नु पर्नेछ । 

अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी, पुनर्स्थापना सेवा आदिमा १० प्रतिशत सह–भुक्तानीको व्यवस्था लागू हुनेछ ।

प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पतालमा र आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा यो व्यवस्था लागू नुहुने पनि बोर्डले जनाएको छ । रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्