Logo
|
Saturday 27th July 2024
Logo

epaper

नवजात शिशु बिक्री प्रकरण : डाक्टर कर्ण र राजवंशी धरौटीमा रिहा



जनस्वास्थ्य सरोकार, विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका विराटनगरका डा. तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गरेको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले बिहीबार डा. कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको हो ।

अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रबीरजंग राणाले जानकारी दिनुभयो ।

गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदालत गरेको थियो । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो । जिल्ला अदालतबाट डा.कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्