Logo
|
Saturday 27th July 2024
Logo

epaper

खाद्य प्याकेजिङमा हुने अत्याधिक रसायनले स्वास्थ्यमा गम्भीर असर 



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा खाद्य प्याकेजिङ सामग्रीमा पिफास जस्ता अत्याधिक विषाक्त रसायन पाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । 

जनस्वास्थ्य र वातावरण प्रवद्र्धन केन्द्रले गरेको एक अनुसन्धानबाट खाद्य प्याकेजिङ सामग्रीहरूमा पिफास पाइएको र यसले प्रजनन क्षमता, भ्रूण विकास र थाइरोइड हर्मोनमा नकारात्मक प्रभाव पार्ने जनाएको हो । 

केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र शाहले विश्वभरिका १७ देशबाट ल्याइएका खाद्य प्याकेजिङको नमुनालाई चेक रिपब्लिकस्थित प्रयोगशालामा जाँच गरिएको जानकारी दिनुभयो । 

वातावरण वैज्ञानिक शाहका अनुसार भारत, अर्जेटिना, इराक, कुवेत, जोर्डन, फिलिपिन्स, ताइवान, नेपाल लगायत १७ देशबाट २३३ वटा पेपर, कार्डबोर्ड र बोटबिरुवामा आधारित खाद्य प्याकेजिङ तथा एक पटक मात्र प्रयोग गरिने प्लेट, चम्चा, कचौरा, काटाको नमुना परिक्षण गरिएको थियो । 

उक्त नमुनालाई चेक रिपब्लिकस्थित चाल्र्स युनिभर्सिटीको इन्स्टिच्युट फर इन्भाइरोमेन्टल स्टडिज, फ्याकल्टी अफ साइन्सको प्रयोगशालामा एचपीएलसी इएसआई एमएस विधिको प्रयोग गरी अत्याधिक विषाक्त पिफासको मात्रा पत्ता लगाइएको हो । 

परिक्षण गरिएका नमुना मध्ये ५४ प्रतिशतमा विषाक्त रसायन पिफास पाइएको र ३ दशमलव ३६ प्रतिशतमा ईयुको मापदण्ड भन्दा बढी पिफास रहेको वातावरण वैज्ञानिक शाहले जानकारी दिनुभयो । 

सिनेमाहलमा प्रयोग हुने माइक्रोवेभ पोपकर्न ब्यागहरू २८ नमुनामध्ये २४ मा पिफास पाइएको छ ।  वैज्ञानिकहरूले फास्ट फुड प्रेमीहरूलाई पिफासको सम्भावित स्वास्थ्य खतराहरूबाट सचेत हुन आग्रह गरेका छन् । 

सरकारले फास्ट फुड सप्लायर्स र स्टोरहरुले पिफास उपचारित खाद्य प्याकेजिङ वस्तुहरूको प्रयोग तत्काल बन्द गर्नुपर्ने र उत्पादन, बिक्री वितरण र प्रयोग भइरहेका सामग्रीहरूमा अनुगमन तथा नियमन गर्नुपर्ने जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले माग गरेको छ ।  कल्पना दाहाल, रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्