Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्य बिमा गरेकालाई दोस्रो दर्जाको व्यवहार गर्न पाइँदैन: स्वास्थ्यमन्त्री जोशी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्न नपाइने बताउनुभएको छ ।

स्वास्थ्य बिमा बोर्ड बबरमहल काठमाडौँको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि सुरु भएको प्रदेश स्तरीय वार्षिक समीक्षा, दर्ता अधिकारको पुनर्ताजगी र दर्ता सहयोगीको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्नुहुँदै बिमा र पैसा तिरेर उपचार गराउने सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

बिमा बाहेक तत्काल स्वास्थ्य सेवा पाइने र बिमा गरेकाले औषधि तथा स्वास्थ्य सेवा पाउन एक हप्ता वा महिनौँ कुर्नुपर्ने बाध्यता हटाउन निर्देशन दिनुहुँदै मन्त्री जोशीले विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री जोशीले भन्नुभयो, “पैसा दिए तत्काल, बिमा गरेकालाई एक महिनासम्म कुराउने प्रवृत्ति हटाउनुपर्छ, राज्यको नियम पालना गरेर बिमा गर्ने नागरिकलाई पहिलो प्राथमिकता दिएर उपचार गर्नुपर्छ ।”

संविधानको पानामा स्वास्थ्य नैसर्गिक अधिकारको रूपमा सुरक्षित भए पनि आम नागरिकले अझैँ स्वास्थ्य सेवा पाउन नसकेको उहाँको भनाइ छ । बिमाको विषयमा आम नागरिकबाट धेरै गुनासो आएको बताउँदै स्वास्थ्यमन्त्री जोशीले बिमा गरेकाले बिमाबाट सबै औषधि नपाउने र बिमाबाट सेवा लिन धेरै समय कुर्नुपर्ने समस्या हटाउन निर्देशन दिनुभयो ।

“बिमाबाट प्रदान गरिने औषधि पनि गुणस्तरीय नभएको जनगुनासो धेरै छ, औषधिको गुणस्तरीयताको विषयमा पनि प्रश्न चिह्न उठेको छ ।” मन्त्री जोशीले भन्नुभयो । स्वास्थ्य बिमाप्रति आम नागरिकको विश्वास जित्नेगरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य बिमामार्फत ११३२ थरिको औषधि मात्रै निःशुल्क पाउने गरेको स्मरण गराउनुहुँदै उहाँले एक लाखसम्मको बिमा गरेपछि आम नागरिकले सबै औषधि निःशुल्क पाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । बिमालाई बास्तमै राम्रो बनाउने भए तल्लो तहको स्वास्थ्य चौकीसम्म बिमा कार्यक्रम पुर्‍याउन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बिमालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुहुँदै पाँच करोड २५ लाख रुपियाँ स्वास्थ्य बिमाका लागि विनियोजन गरेको बताउनुभयो । प्रदेशभर रहेका नौ हजार चार सय महिला स्वास्थ्य स्वयम् सेविका, आश्रममा आश्रित, ख वर्गका अपाङ्गता भएका, अति सीमान्तकृत, लोपोन्मुख वर्गको प्रदेश सरकारले स्वास्थ्य बिमा गरिदिएको जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, स्वास्थ्य बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारी, हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटा, जनस्वास्थ्य अधिकृत सुपमा बराल लगायतकाले बोल्नुभएको थियो । अनिल पराजुली, गोरखापत्रअनलाइन

प्रतिक्रिया दिनुहोस्