Logo
|
Saturday 4th May 2024
Logo

epaper

नेपालगञ्जमा पोषण सम्बन्धि दुई दिने बृहत अभिमुखिकरण कार्यक्रमः नेपालको लागि दिगो विकास लक्ष्य प्राप्तिमा टेवा



नेपाल हेल्थ न्युज, बाँके । नेपालगञ्जमा २ वर्ष मुनिका बच्चाहरुका ४० जना आमाहरुलाई पोषण सम्बन्धि दुइदिने बृहत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ को सहयोगमा हाम्रो शहरी स्वास्थ्य केन्द्रको टिमले माघ २५ र २६ गते सो कार्यक्रम सम्पन्न गरेको हो ।


सो अवसरमा सन् २०३० को नेपालको लागि दिगो विकासको लक्ष्यसहित आफ्नो स्वास्थ्य संस्थाको तथ्यांकलाई स्वास्थ्य संस्था रहेको वडाका अध्यक्षलाई बुझाइएको थियो ।


सो कार्यक्रमलाई शहजीकरण सोही शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अनमी रिता शाहीले गर्नुभएको थियो ।


कार्यक्रमको समापनमा आफ्नो मन्तव्य व्यक्त गर्दै वडाका महिला सदस्य तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष गीता देवि राणाले कार्यक्रम धेरै राम्रो भएको र सो कार्यक्रममा आपूले सिकेका ज्ञान आफ्नो घर वरिपरी रहेका दिदीबहिनीहरुलाई पनि सिकाउन सहभागीहरुलाई अनुरोध गर्नुभयो ।


कार्यक्रमको समापनमा आफ्नो मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले कार्यक्रम धेरै राम्रो रहेको र आगामी दिनहरुमा पनि स्वास्थ्य संस्थालाई यस्तै अन्य कार्यक्रमहरु सञ्चालन गर्न आफू सदैव तयार रहेको प्रतिवद्धता गर्नुभयो ।


हाम्रो शरीरलाई स्वस्थ राख्न, बृद्धि विकास गर्न तथा शक्ति प्रदान गर्न आवश्यक पर्ने पोषक तत्वहरुको आवश्यकता तथा हामीले दैनिक खाने आहार बीचको सन्तुलनलाई नै पोषण भनिन्छ । पोषण बिभिन्न खानाहरुको समूह जस्तै अन्न जन्य स्रोत, गेडागुडी, हरियो सागपात तथा फलफूल र पशुपंक्षीजन्य स्रोतबाट प्राप्त गर्न सकिन्छ ।

विभिन्न कारणहरुले हाम्रो शरीरलाई एक वा धेरै पोषकतत्वहरुको न्युन वा अधिक हुन गई शरीरको एउटा असामान्य अवस्थालाई कुपोषण भनिन्छ । कम तौलको बच्चा जन्मनु, संक्रमण हुने, आमाले बच्चालाई ६ महिना सम्म पूर्ण स्तनपान नगराउनुआदि कारणले बालबालिकाहरुमा कुपोषण हुने गर्छ ।


विश्व पोषण प्रतिवेदन २०१६ अनुसार आज हामीले आफ्नो बालबालिकाहरुमा १ रुपियाँ लगानी गर्यौं भने त्यसले भविष्यमा १६ रुपियाँ बराबरको प्रतिफल प्राप्त हुन्छ । बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास आमाको गर्भमा आएदेखि २ वर्षभित्र हुन्छ जसलाई सुनौलो हजार दिन भनिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गर्भावस्थामा ३० प्रतिशत, जन्मेको १ वर्षभित्र २५ प्रतिशत, २ वर्षभित्र २५ प्रतिशत, ५ वर्षभित्र १० प्रतिशत र ५ वर्षपछि १० प्रतिशत वौद्धिक विकास हुने गर्छ ।


नेपालको लागि दिगो विकास तक्ष्य अनुसार ५ वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनालाई सने २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउनेपनालाई घटाएर ५ प्रतिशतभन्दा कममा झार्ने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ भने प्रजनन उमेरका महिलाहरुमा हुने रक्तअल्पता सम्बन्धि समस्यालाई १० प्रतिशतमा झार्ने रहेको छ । यो लक्ष्यलाई प्राप्त गर्न नेपाले झै धेरै नै मेहनत गर्नुपर्ने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्यांकले देखाउँछ । सो तथ्यांक अनुसार नेपालका पाँच वर्षमुनिका बालबालिकाहरुमध्ये २५ प्रतिशतलाई पुड्कोपन, १९ प्रतिशतलार्य कम तौल तथा ८ प्रतिशतलाई ख्याउटेपनाको समस्या रहेको छ । सोही तथ्यांक अनुसार प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पताको समस्या नेपालमा अहिले पनि ३४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्