बालबालिकामा हुने मोतिबिन्दु, डेढोपना र लेन्स लगाउनुपर्ने उपचारका विषयमा तिलगंगामा बृहत छलफल
नेपाल हेल्थ न्युज, काठमाडौँ । बालबालिकामा हुने मोतिबिन्दु, डेढोपना, लेन्स लगाउनुपर्ने उपचार लगायत विविध आँखा स्वास्थ्यका समस्याका विषयमा राजधानीमा बृहत छलफल सुरु भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु एकै ठाउँमा जम्मा भई सिप तथा ज्ञान साटासाट गर्न र हरेक बिरामीको पहुँचमा उपचार पुर्याउने उदेश्यले नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्ट (एचसिपी) को सहयोगमा बालआँखा स्वास्थ्यमा केन्द्रित दुई दिने बृहत छलफल कार्यक्रम आयोजना गरेको हो ।
फागुन ६ र ७ गते आयोजना हुने उक्त कार्यक्रमको अन्तर्राष्ट्रिय वक्ताहरुमा अमेरिकाका प्रसिद्ध बाल आँखा चिकित्सक प्रा.डा. एड्वर्ड विल्सन, भारतका बाल आँखाको प्रविधि विज्ञ डा. रमेश केकुन्य र शंकर नेत्रालय रिसर्च विभागकी डा. सुमिता अगर्कार रहनुहुने आयोजकले जनाएको छ ।
यसैगरी राष्ट्रिय वक्ताहरुमा तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विभाग प्रमुख डा. सिर्जना अधिकारी र वीर अस्पतालकी वंशानुगत रोग विभाग प्रमुख डा. निलम ठाकुर रहनुहुने बताइएको छ । डा.रोजिता पराजुली, डा. आङ जांग्मु लामा र डा. नम्रता गुप्ताले कार्यक्रममा सहजकर्ताको भूमिकामा निर्वाह गर्नुहुनेछ ।
कार्यक्रमको पहिलो दिन बिहानी सत्रमा प्रतिष्ठानकै अडिटोरियम हलमा केस डिस्कसनमा केन्द्रित भएको थियो । दोश्रो सत्र दिउँसो २ बजे देखि शंकर होटलमा आयोजना गरिएको थियो । दोश्रो दिन प्रतिष्ठानको सभा हल र शल्यकक्षमा अन्तरक्रियात्मक छलफल गरी शल्यक्रिया र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमले विभिन्न संस्था र राष्ट्रको विज्ञतालाई एकै ठाँउमा प्रवाह गरी बालबालिकाको आँखा स्वास्थ्य उपचारको आयामलाई थप फराकिलो र सुधारोन्मुख बनाउदै लैजाने अपेक्षा आयोजकले लिएको छ ।