Logo
|
Sunday 5th May 2024
Logo

epaper

बुटवलमा १३ गतेदेखि बालबालिकालाई दादुराको खोप लगाइने



नेपाल हेल्थ न्युज, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्रका ५३ हजार ८ सय ७५ बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । यही फागुन १३ गतेदेखि १९ गतेसम्म उपमहानगरपालिका भित्रका ५३ हजार ८ सय ७५ बालबालिकालाई खोप लगाउन अभियान नै सञ्चालन गरिने भएको हो ।

पालिका भित्रका ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई १ सय ६७ वटा केन्द्र मार्फत खोप दिइने उपमहानगरपालिकाले जनाएको छ ।

आइतबार बुटवलमा आयोजित अभिमुखीकरण कार्यक्रममा उपमहानगर प्रमुख खेलराज पाण्डेयले सबै पक्षलाई गम्भीर भएर लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘खोपको बारेमा हेलचेक्रयाइँ नगरौं । गम्भीर भएर लागौं ।’

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले कुनै एक बालबालिकामा दादुरा संक्रमण देखिए उसले अन्य १८ जनासम्म बालबालिका लाई सार्न सक्ने भएकाले यसलाई महामारीका रुपमा फैलन दिन नहुने बताउनुभयो । यसले महामारीको रुप लिन सक्ने भएकाले गम्भीर हुन उहाँले सबैमा आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ३२७ बालबालिका तथा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ४३ हजार ५४८ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने उपमहानगरकी जनस्वास्थ्य निर्देशक कल्पना भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी तथा ३ जना स्वयंसेवकको व्यवस्था गरी खोप अभियान सञ्चालन गरिने छ । सो अभियानमा अन्य खोप छुट भएका बालबालिकालाई समेत उपलब्ध गराइने भएकाले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप कार्डसहित ल्याउन भुषालले आग्रह गर्नुभयो ।

अभियानको अवधिमा छुटेका बालबालिकालाई थप ५ दिनको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने उहाँको भनाई छ ।

उपमहानगरभित्र रहेका शैक्षिक संस्थाहरु मध्ये २ सय ५० बालबालिका रहेका विद्यालयलाई खोप केन्द्रको मान्यता दिइनेछ । सो संख्या भन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको खोप केन्द्रमा विद्यार्थीलाई लैजाने व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्