Logo
|
Saturday 27th July 2024
Logo

epaper

सप्तरीमा फागुन १३ देखि दादुरा रुबेलाविरुद्ध खोप अभियान



नेपाल हेल्थ न्युज, सप्तरी । सप्तरीमा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय सप्तरीले फागुन १३ देखि चैत २ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो ।  

स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले बताउनु भयो ।

जिल्ला भरी ८ सय ८ खोप केन्द्र स्थापना गरि १ हजार ६ सय १६ जना स्वास्थ्यकर्मी र २ हजार ४ सय ३२ जना स्वयंसेवक खटाइने उहाँले जानकारी दिनुभयो । खोपबाट हुने सामान्य तथा गम्भीर असरलाई रोक्न जिल्लामा ३६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने उहाँले जानकारी दिनुभयो ।   

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको बताउनुभयो । 

उहाँले अभियानलाई तीन चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा खोप लगाइने जानकारी दिनुभयो । 

यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म राजगढ, छिन्नमस्ता, विष्णुपुर, बलानविहुल गाउँपालिका र डाक्नेश्वरी, बोदेबर्साइन नगरपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । 

यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत फागुन २७ गतेदेखि चैत २ गतेसम्म सुरुङ्गा, खडक, शम्भुनाथ, राजविराज नगरपालिका र रुपनी, अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । 

झाले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनैपनि बालबालिका नछुट्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि दिल बहादुर साहीले ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइने बताउनुभयो ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । 

प्रतिक्रिया दिनुहोस्