Logo
|
Saturday 18th May 2024
Logo

epaper

दादुरा–रुवेला खोप अभियानः ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइँदै, ५० हजार स्वास्थ्यकर्मी परिचालन

खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन



नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाउन थालिएको छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस रुवेला भाईरस कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ।

दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ । यो रोग विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।

यसैलाइ मध्येनजर गर्दै सरकारले आइतबारदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइन लागिएको छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाउन लागिएको छ । खोपले ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने भएकोले सबै बालबालिकालाइ खोप लगाउन विद्यालय नर्सले पनि सहजीकरण गरिरहेका छन् ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन भएको छ । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने छ । यसरी एकै ठाउँमा खोप लगाउन पाउँदा सहज भएको आशा जागेको बालबालिकाहरु बताउँछन ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यमा यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्