Logo
|
Saturday 27th July 2024
Logo

epaper

तनाव चिन्ता रोग लाग्छ चक्र बिग्रिएरः फूर्ति बढ्छ तनमा मनमा चक्र जगाई हेर

मिठो मिठो प्याजी रंङ औषधी हो प्याज, प्राणायम र ध्यान गर्न मान्नु हुन्न लाज



ममता बराल सुवेदी-प्रशिक्षक, जीवन विज्ञान

मूलाधार चक्र हाम्रो शरीरको मूल
यसैलाई बिगारेर गयौ ठूलो भूल ।
योग रैछ ध्यान रैछ चक्र जगाउने
अभ्यास नै हो मूल चुरो रोग भगाउने

देखिने त भौतिक शरीर शुक्ष्म शरीर भित्र
शुक्ष्म शरीर जगाउने चक्र ध्यान मन्त्र
तनाव चिन्ता रोग लाग्छ चक्र बिग्रिएर
फुर्ति बढ्छ तनमा मनमा चक्र जगाई हेर ।

‘लं’ को मन्त्र ‘सा’ को ध्वनि स्पर्श र ध्यान
मुलधार चक्र जगाउने बिधीलाई जान ।
कर्मशील प्रकृतिलाई मौका आयो चिन्ने
रातो रङ्ग नुनिलो स्वाद मूलाधारलाई मिल्ने ।

स्वादिष्टान चक्र जागे पाइँदो रैछ सुख
नाभि छेऊ घुम्दो रैछ स्वादिष्टान चक्र ।
सुख शान्ति समृद्धीको खोल्नलाई ढोका
स्वादिष्टान चक्रलाई दिनुहुन्न धोका ।

निष्कृय भयो भने स्वादिष्टान चक्र
जीवन पनि फूलजस्तै ओईलिएर झर्छ ।
स्वादिष्टान चक्रलाई जगाउने विधी
‘रे’ को ध्वनि ‘वुं’ को मन्त्र जप्नु हरघडि ।

मणिपुर सुन्दर नाम बस्ने ठाउँ जानी
हिरा मोती सुन चाँदी आनन्दको खानी ।
मणिपुर चक्र जागे सकरात्मक देख्ने
आँट जोश साहस धैर्य मनमा ईश्वर बस्ने

साहस रैछ मणिपुर जगाउनै पर्छ
आँट साहस नहुनेले दब्बि बाँच्नु पर्छ ।
‘रं’ को मन्त्र ‘गा’ को ध्वनि स्पर्श र ध्यान
साहस बढ्छ नियमित गर्न सके व्यायाम ।

पहेँलो छ सुन जस्तै मणिपुरको रङ्ग
मणिपुर जागेपछि हामी पर्छौं दङ्ग ।
मणिपुर जगाउनलाई हुँकार सारै राम्रो
हुँकारले जगाउँछ मणिपुर चक्र हाम्रो ।

स्वर्ग भन्नु आफ्नै मनको रैछ भित्री कूवा
ईश्वर त आफ्नै घरका रैछन् आमा वुवा ।
अना हद चक्र भित्र माया प्रेम र श्रदा
अनाहद बिग्रिएर मनमा लाग्यो पर्दा ।

अनाहद चक्र जगाउन ‘युं’ को मन्त्र जपौ
साथ साथै ‘मा’ को ध्वनि पनि त्यसमा थपौ ।
रंग यसको हरियो छ प्रकृतिको खानी
मख्ख पर्छौं सबै कुरा आफु भित्रै जानी ।

मरिलानु केही छैन धर्ती छोड्नै पर्छ
मिठो बोली बोल्दा खेरी सबैलाई मन पर्छ ।
बिगारेर विशुद्ध यो चक्र जहिले पनि
पढ्या लेख्या यादै हुन्न हाम्लाई कैले पनि ।

मन वचन कर्म भित्र एकरूपता हुँदा
बिर्सिदैन कहिले पनि जान्या सिक्या कुरा
‘हुं’ को मन्त्र ‘पु’ को ध्वनि विशुद्धीलाई खोल्ने ।
बानी बसाउनु पर्छ मिठो बोली बोल्ने ।

सत्य बोलौ प्रिय बोलौ अभिव्यक्ति कला
निलो रङ्ग शान्तिको रङ्ग खुल्छ यसले गला ।
पञ्चतत्व मिलेर नै हाम्रो शरीर बन्छ
अरुलाई सम्मान गरे आफुलाई मिल्छ ।

आज्ञा चक्र बिगारेर संकल्पलाई फाली
योग हैन वियोग भो मान्छे भयौ जाली ।
संकल्प र ध्यानले गरे बन्छ सबै काम
संकल्प र ध्यान गर्न लुम्बिनीमा जाम ।

सपार्नु छ आज्ञा चक्र मानव जीवन जीउन
संकल्पले पाइदो रैछ राम रस पिउन ।
सोचेको काम पुरा हुन्छ आज्ञा चक्र जाग्दा
मानव जीवन निष्फल हुन्छ डराएर भाग्दा ।

दृढ विचार राख्नु पर्छ रंङ प्याजी रोज्दै
खानु पर्छ सबै कुरा टर्राे स्वाद खोज्दै ।
‘धु’ को स्वर ‘ऊँ’ को मन्त्र आज्ञा चक्र जाग्ने
यो संसार यस्तै नै छ डराई किन भाग्ने ।

परमात्माको घर रैछ सहश्रार चक्र
ज्ञानी थिए ध्यानी थिए ॠषि अष्ठवक्र ।
यो व्रमाहण्ड नचाउने चक्र सुदर्शन
दुविधा केहि भए मनमा गुरुलाई भन ।

धन सम्पत्ति पैसा भए क्षणिक सुख मिल्छ
भित्र चक्र जागे पछि जिवन सधै फुल्छ ।
सत्य कर्म सत्य भाव हृदयको चोखो
ईश्वर भेट्ने पुरा हुन्छ मनभित्रको धोको ।

आँखा चिम्ली सहश्रार चक्र जगाएर
व्रमाणडीय ऊर्जा खिच्न सक्छौ ध्यानले समाएर ।
अन्तिम विन्दु सहश्रार परमात्माको घर
साक्षी राखौं गुरुदेवलाई परौ उनकै भर ।

सहश्रार जगाउनलाई ‘ऊँ’ को मन्त्र जप्ने
प्रेम भावले त्यसमा फेरि ‘नि’ को ध्वनि थप्ने ।
वैजनी छ यसको रङ्ग मनमा संझी राखौ
सोम रस कस्तो हुन्छ हामी पनि चाखौ ।

ब्रम्हा विष्णु महेश्वर हाम्रा ईष्ट देव
श्वास श्वासले पुजा गरी हेरौ एक फेर ।
निलो गगन कालो वादल चम्किरहने तारा
विकल्प केहि छैन हाम्रो परौं उनकै सहारा ।

प्राणायम र ध्यानले नै चक्र जगाई दिन्छ
प्राणायम र ध्यान गरे मात्र शान्ति मिल्छ ।
मिठो मिठो प्याजी रंङ औषधी हो प्याज
प्राणायम र ध्यान गर्न मान्नु हुन्न लाज ।

जति जाने त्यति लेखे चक्र मन्त्र विधी
प्रयोग गरी हेरौ सबले पाऊ मनको सिद्धी
तारतम्य मिलाएर लुम्बिनीमा जाउँ है
आफ्ना चक्र जगाएर अनि फर्कि आउ है ।

प्रतिक्रिया दिनुहोस्