Logo
|
Sunday 28th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०२४ : मिर्गौला बिग्रिएको संकेत र लक्षण, मुलुकमा वर्षेनी ३ हजारको मिगौला फेल हुने

प्रत्यारोपित अंगदाताको समूहसँग १४ औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको आयोजना



नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्च महिनाको दोस्रो हप्ताको बिहीबार विश्वभर यो दिवस मनाउने गरिएको छ । यस वर्ष मार्च १४ मा विश्व मिर्गौला दिवस परेको छ ।

सन् २०२४ को नारा ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ रहेको छ । यस नाराले मिर्गौला रोगको दीर्घकालीन बढ्दो बोझ र चुनौतीहरूलाई पार गर्न हेरचाहमा जोड दिएको छ ।


यसैबीच विश्व मिर्गौला दिवसका दिन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), अंग प्रत्यारोपण समाज नेपाल (नेसोट) नेपाल ट्रान्सप्लान्ट सोसाइटी (एनटिएस), स्वास्थ्य अभियान नेपाल (सान), राष्ट्रिय मिर्गौला उपचार केन्द्र र काठमाडौं उपत्यकाभित्रका अंग प्रत्यारोपण गर्ने सम्पूर्ण अस्पतालहरुको संयुक्त आयोजनामा मिर्गौला पदयात्रा तथा १४ औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको छ । प्रत्यारोपित अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरुबीच मैत्रीपूर्ण फूटवल खेल हुने छ । साथै विश्व मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस वर्ष नयाँ लोगो डिजाइनिङ गरिएको छ । यसमा भएको पहेँलो रङले पिसाबको प्रतिनिधित्व गर्छ । रातोले रगतको, नीलो रङले पानीलाई सङ्केत गर्छ । हरियोले नेफ्रोलोजी समुदायले अँगालेका मूल्य र मान्यता, दिगोपनालाई परिचय दिन्छ ।

केही लक्षणहरूले मिर्गौलामा समस्या भएको सङ्केत गर्छन् । जस्तै, पिसाबमा फिँज आइरहने वा पिसाब धमिलो हुने वा गाढा रातो रङ्गको आइरहने । साथै छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ । कहिलेकाहीँ धेरै कोखा दुख्ने, बिहान उठ्दा आँखाको डिल सुन्निने, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्ने पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो ।


मिर्गौला बिग्रनुको प्रमुख कारणमा उच्च रक्तचाप र मधुमेह मानिएको छ । ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि पनि मिर्गाैला विग्रन सक्छ । यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मिर्गौलाको समस्या बढि देखिएको चिकित्सकहरुले बताएका छन् ।


मिर्गौला प्रत्यारोपण गर्न नेपाल सरकारले पाँच लाखसम्मको सहुलियत अनुदान दिने गरेको छ ।


पछिल्लो समय नेपालमा मिर्गौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करिब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन् । यीमध्ये तीन लाख मानिसमा मिर्गौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मिर्गाैलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।


दुवै मिर्गौला खराब भइसकेपछि गरिने डायलाइसिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गौला प्रत्यारोपणलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्