Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा उत्पादन नहुने औषधी मात्र विदेशबाट ल्याउने नीति आवश्यक

गुणस्तरमा प्रतिस्पर्धी छौँ



महेश प्रधान

औषधी व्यवस्था विभागले नयाँ औषधी ऐनको मस्यौदा तयार गरिरहेको छ । नेपालमा सञ्चालनमा रहेका औषधी उद्योगलाई काम गर्न सरलीकरण गर्ने, औषधीको गुणस्तर सुनिश्चित गर्ने र औषधीको मूल्य सर्वसुलभ हुनेगरी नीति नियम बनाउन आवश्यक छ ।

नेपाली कम्पनीले उत्पादन गरेका औषधीलाई भारतबाट आयात गरिने औषधीको मूल्य बराबर दिए पुग्छ । राज्यले औषधी उद्योगलाई हतोत्साही र भाग्ने अवस्था सिर्जना गर्न हुँदैन । अन्यथा उद्योगसँगै सम्पूर्ण पुँजी पलायन हुनसक्छ ।

स्वदेशी औषधी उद्योग मर्न दिन हुँदैन
स्वदेशमा उत्पादन हुने औषधी भएमा त्यस्ता प्रकारका औषधि भारत या बंगलादेशबाट आयात गर्न रोक लगाउनुपर्छ । नेपाली औषधी कम्पनीले करिब डेढ लाख मानिसलाई रोजगार दिइरहेका छन् । त्यसैले अहिले सञ्चालनमा रहेका औषधी उद्योग नमर्ने गरी नयाँ ऐन तर्जुमा गर्नुपर्छ ।

औषधिको मूल्य समायोजन जरूरी

करिब १६ वर्ष पहिले निर्धारण गरिएको जीवनजल र पारासिटामोलको मूल्य बढ्न सकेको छैन । अहिलेसम्म पनि जीवनजलको मूल्य १० रुपैयाँ र सिटामोलको १ रुपैयाँ छ । विश्वमै सबैभन्दा सस्तो औषधी उत्पादन गर्ने मुलुक भारतमा जीवनजल ओरल इलेक्ट्रोलाइट्सको मूल्य २० देखि २७ भारू कायम गरिएको छ ।

१६ वर्षअघि मन्त्रिपरिषद्बाट पास भएका नीति नियम खारेज गरी हरेक वर्ष इन्फ्लूएसन, कच्चा पदार्थ र डलरको रेटअनुसार न्यायोचित हुनेगरी औषधीको मूल्य घटाउन वा बढाउन पाउने नियम बनाउनुपर्छ । उदाहरणका लागि हायोस्पान औषधी (महिलाको तल्लो पेट दुख्दा र ग्यास्ट्रिकमा प्रयोग हुने) नेपाली कम्पनीले उत्पादन सुरू गरेपछि बहुराष्ट्रिय कम्पनीले समेत प्रतिस्पर्धा गर्न सकेनन् । औषधीको गुणस्तर र मार्केटिङ राम्रो भएकाले औषधीले बजार लियो । पाँच/सात वर्ष लडाइँ गर्दा पनि बहुराष्ट्रिय कम्पनीले जित्न नसकेपछि विस्थापित भए । तर, केही समयपछि कच्चा पदार्थको मूल्यवृद्धि भयो । अनेक प्रयास गरेर औषधीको मूल्य बढायौँ । विस्तारै कच्चा पदार्थको मूल्य घट्न थालेपछि औषधीको मूल्य पनि घटायौँ ।

डिल बोनसको कुरा
आफ्ना उत्पादन बिक्री गर्न कम्पनीले दुई/तीन सय प्रतिशत बोनस दिए पनि आममानिसलाई तोकिएकै मूल्य तिर्नुपर्छ । यसबारे राज्यले हेर्नुपर्छ ।

नेपाली कम्पनिलाई न्युट्रास्युटिकल्स उत्पादन गर्न देऊ
मुलुकमा न्यूट्रास्युटिकल्सको आयात, सिफारिस र बिक्री वितरण भइरहेको छ । तर, नेपाली औषधी कम्पनीलाई उत्पादन गर्ने अनुमति छैन ।

नेपाली औषधी कम्पनी सक्षम हुँदाहुँदै पनि उत्पादन अनुमति नदिई भारतलगायतका देशबाट धमाधम आयात गरिँदा ठूलो धनराशी बाहिरिएको छ । सरकारले नेपाली औषधी कम्पनीको उत्पादनलाई प्रत्साहन गर्नुपर्दछ । अबको औषधी ऐनमा सो कुरा समावेश हुनुपर्छ ।

एक्स्पोमा राज्यको सहयोग जरूरी
फर्मा एक्स्पोमा औषधी बनाउने औजार, मेसिन र केमिकल मात्र नभई कयौँ युनिभर्सिटीका प्रोफेसर र विज्ञ फार्मासिस्टहरुले आफूले गरेका रिसर्चबारे जानकारी दिन्छन् । त्यसकारण नेपालका फार्मासिस्ट, केमिस्ट र औषधी विज्ञलाई ‘ज्ञान हस्तान्तरण’ गर्ने सशक्त माध्यम हो, फर्मा एक्स्पो । नेपाली औषधी उद्योग र उत्पादनलाई विश्वसामु चिनाउन फर्मा एक्स्पोमा सरकारले सक्दो सहयोग गर्नुपर्दछ ।

गुणस्तरमा प्रतिस्पर्धी छौँ
इन्डियामा यूएसएफडिए पास भएका कैयौँ औषधी कम्पनीका उत्पादन भन्दा नेपाली औषधीकोे गुणस्तर राम्रो छ । तर त्यस्ता न्यून कोटिका औषधी टेन्डर र सस्तो पाइने लोभमा नेपाल भित्रिरहेका छन् ।

त्यसकारण नेपाली औषधी उद्योगले बनाएको औषधी मात्रै राज्यले खरिद गर्नुपर्छ । इन्स्योरेन्स कम्पनीले नेपाली औषधीलाई प्राथमिकता दिनुपर्छ ।

औषधि मूल्य बजारले तोक्छ राज्यले होइन
राज्यले औषधीको मूल्य तोक्ने होइन । औषधीको मुल्य बजारले आफैं तोक्छ । यदि औषधीको गुणस्तर राम्रो भए बजारमा जुनसुकै औषधी प्रतिस्पर्धामा आए पनि जित्छ ।
(प्रधान औषधी उत्पादक संघका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्