Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको दशौँ शिखर सम्मेलन चैत्र २८ गतदेखि



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको दशौँ शिखर सम्मेलन यही चैत्र २८, २९ र ३० गते हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ भन्ने रहेको छ ।

परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनको अन्तिम तयारी पुरा भइसकेकको परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सम्मेलनमा स्वदेश तथा विदेशबाट एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता सहभागि हुने छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने डा. जोशीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए । तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो ।

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।

यस्तै सम्मेलनमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल–२०२३ प्रदान गरिनेछ ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ (सन् २०१५) देखि हरेकवर्ष परिषद्ले शिखर सम्मेलन आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवद्र्धधन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्