Logo
|
Tuesday 28th May 2024
Logo

epaper

नुनले शरीरलाई कसरी असर गर्छ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस्।

प्राचीन रोममा व्यापारका लागि नुन असाध्यै महत्त्वपूर्ण थियो, उदाहरणका लागि, सेनाहरूलाई तलबस्वरूप नुन दिइन्थ्यो।

नुनको महत्त्व आंशिक रूपमा खानालाई जोगाइराख्नका लागि पनि थियो। खानामा किटाणु नलागोस् भनेर पनि नुनमा राखिन्थ्यो।

खानालाई अमिल्याउन ब्याक्टेरियाहरूको विकास अनुगमन गर्न पनि नुनको प्रयोग गरिन्थ्यो। चाहे त्यो बन्दा अमिल्याउन होस् वा अलिभ वा पाउरोटी वा चीज वा किम्ची बनाउन नै किन नहोस् नुनको प्रयोग हुन्थ्यो।

नुन (खासगरी अति प्रशोधित खानेकुराको स्वाद बढाउन वा खानेकुरा जोगाउन प्रयोग हुने सोडियम क्लोराइड)को अत्यधिक प्रयोगले मानिसहरूलाई रोगी बनाइरहेका प्रमाणहरू बढिरहेको देखिन्छ।

अत्यधिक नुनले रक्तचाप बढाउँछ भने यसले हृदयाघात वा मस्तिष्कघात हुन सघाउँछ। नुनका कारण पेट र मलाशयको क्यान्सरको खतरा पनि बढ्न सक्छ। यसले हड्डी र मोटोपना अनि श्रवण शक्तिमा पनि असर गर्न सक्छ।

ग्यास्ट्रोइन्टेरोलोजिस्ट र वाशिङटन विश्वविद्यालयका अनुसन्धान गर्ने वैज्ञानिकका रूपमा तपाईँको पेटमा हुने माइक्रोबहरूले पनि नुनले रोग निम्त्याउन कसरी मद्दत गर्छ भन्ने बुझाउन म बढ्दो प्रमाणहरू तपाईँहरूसँग बाँड्न चाहन्छु।

रक्तचापमा भूमिका
रक्तचाप र मुटुको रोगमा नुनको भूमिका यसले रक्त धमनीभित्र पानीको मात्रा कति नियमित गर्छ भन्नेमा भर पर्छ। सामान्य रूपमा बुझ्दा रगतमा जति बढी सोडियम भयो त्यति नै बढी पानी यसले रक्त धमनीमा तान्छ। यसले रक्तचाप बढाउँछ र त्यसपछि हृदयाघात र मस्तिष्कघातको खतरा पनि बढाउँछ।

रक्तचापमा नुनको असरबारे केही मानिसहरू कम वा बढी संवेदनशील हुन सक्छन्। हालैको अनुसन्धानले पेटमा हुने माइक्रोबायोमका कारण पनि नुनले रक्तचाप बढाउन सक्छ।

नुनले स्वस्थ माइक्रोब भनिने सूक्ष्म जीवाणुलाई र फाइबरबाट बन्ने मेटाबोलाइट (जीव तत्त्वमा परिवर्तन हुँदा बदलिने वस्तु) घटाइदिन्छ।

यी मेटाबोलाइट्सले रक्त धमनीमा जलन घटाइदिन्छ र त्यसले रक्तचाप कम गर्न मद्दत गर्छ। केही अपवादबाहेक नुनको धेरै मात्राले हाम्रो खाना पचाउन मद्दत गर्ने माइक्रोबलाई विषालु बनाइदिन्छ।

त्यही कारण मानिसहरूले नचाहिने ब्याक्टेरियाहरू नआओस् र खाना लामो समय नबिग्रियोस् भनेर नुनको प्रयोग गर्दै आएका हुन्। तर आधुनिक खानेकुरामा धेरै नै सोडियम हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार औसत मानिसलाई प्रति दिन २,००० मिलिग्रामभन्दा कम नुन खानु स्वास्थकर हुन्छ। विश्वव्यापी औसत हेर्ने हो भने स्वास्थ्यकर तहभन्दा हाम्रो पेटमा बढी अर्थात् ४,३१० मिलिग्राम नुन खपत हुन्छ।

मोटोपनामा नुनको भूमिका
हामीले खाने प्रत्येक खानामा दैनिक बढ्ने प्रत्येक ग्राम सोडियमले मोटोपना हुने खतरा १५ प्रतिशतले वृद्धि गर्ने एउटा अध्ययनले अनुमान गरेको छ।

अमेरिकाको न्याशनल इन्स्टिट्यूट्स अफ हेल्थले गरेको पोषणसम्बन्धी मापदण्डबारेको अध्ययनले जो व्यक्तिले अति प्रशोधित खानेकुरा खान्छ उसले प्रशोधित खाना नखाने मानिसको दाँजोमा दुई सातामा करिब ५०० क्यालोरी बढी खपत गरेको र एक किलो वजन बढेको पाइयो।

दुई वटा खानामा भएको सबैभन्दा ठूलो भिन्नता भनेको अति प्रशोधित खानामा भएको थप १.२ ग्राम सोडियम हो।

नुन बढी खाँदा क्यालोरी नभए पनि किन वजन बढ्छ भन्ने एउटा व्याख्या के हो भने सोडियमले खानेकुराको तलतल बढाउँछ।

चिनी र अस्वस्थकर फ्याटसँग सोडियम मिसाएको खानेकुरा खाँदा पनि मोटोपना बढ्छ किनभने यी खानेकुरामा थप खानाको तलतल बढाउने क्षमता हुन्छ र त्यसले हाम्रो दिमागलाई त्यसैगरी निर्देशित गर्छ।

माइक्रोबायोम मेटाबोलाइट्सले वजन घटाउन वीगोभी र ओजेम्पिक अर्थात् पेटमा हुने जीएलपी १ हर्मोनको विकास गर्न मद्दत गर्छ।

जीएलपी १ मार्फत् एउटा स्वस्थ माइक्रोबायमले भोक, ब्लड सुगरको मात्रा र इनर्जी फ्याटको रूपमा राख्ने वा नराख्ने भन्ने शरीरको निर्णयलाई नियन्त्रण गर्छ। तर धेरै नुनले भने यस्तो हर्मोनको विकासमा बाधा पुर्‍याउँछ।

समुद्री पानीबाट नुन हटाउने देशहरू
थुप्रै देशहरूले नुनको खपत घटाउने अभियान लागु गरिरहे पनि अझै पनि विश्वका धेरै भागमा सोडियमको खपत बढ्दो छ।

नुनको खपत कम गर्ने कुरामा अमेरिका अझै पनि पछाडि नै रहे पनि थुप्रै युरोपेली देशहरूले भने नुनको खपत कम गर्दा हुने फाइदा अभियानमार्फत् मुटु रोगका कारण हुने मृत्यु लगायतमा कम देख्न थालिसकेका छन्।

युरोपेली देशहरूमा नुनको खपत कम होस् भनेर नुनको मात्राको लेबल राख्ने, नुन सीमित गर्न कर लगाउनेलगायत अभियान सुरु गरिएको छ।

फास्ट फूड सामग्रीहरूमा पनि देशपिच्छे नुनको मात्रा फरक भएको खुलासा भएको छ। उदाहरणका लागि अमेरिकामा मक्डोनल्डस्‌को चिकन नगेट्स्‌ अनि कोकाकोलामा अन्य देशमा भन्दा धेरै नुन भएको पाइयो।

सन् २०१० मा नुनमाथिको सरकारी नियमन रोक्नका लागि त्यहाँ पैरवी भयो। नुन भएका खानेकुराहरूको बिक्री राम्रो हुन्छ।

धेरै वर्षसम्म नुन उद्योगहरूले जनस्वास्थ्यसम्बन्धी सन्देशलाई नै दुबिधामा पारेको हुनसक्छ। नुनको खपत घटाउन किन महत्त्वपूर्ण छ भन्ने कुरामा जोडतोडका साथ बुझाइएन।

तर खानामा नुन कम हाल्ने क्रियाकलाप बढ्दै छन् र त्यसबारे संस्थाहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्।

सन् २०२१ मा अमेरिकाको कृषि मन्त्रालयले नयाँ उद्योग निर्देशिका जारी गरेको छ जसमा व्यावसायिक रूपमा तयार र प्रशोधन गर्ने खानेकुरामा बिस्तारै नुनको मात्रा घटाउँदै जान आह्वान गरिएको छ।

साल्ट इन्स्टिट्यूट अफ अमेरिका सन् २०१९ मा विघटन भयो। अमेरिकन फ्रोजन फूड इन्स्टिट्यूट र कार्गिलजस्ता अन्य मुख्य आपूर्तिकर्ताहरूले पनि खानेकुरामा नुनको कम प्रयोग गर्न खोज्दै छन्।

सन्तुलित मात्रा
नुन खपत गरिरहँदा तपाईँको पेटमा हुने माइक्रोबायमलाई कसरी स्वस्थ र चलायमान राखिरहने ? त्यसका लागि फास्ट फूड र अति प्रशोधित खानेकुराहरू जस्तै चिप्स, क्र्याकर, सोडा, पाउरोटी लगायतको खपत सीमित बनाएर सुरु गर्न सकिन्छ।

अहिले, अमेरिकामा ७० प्रतिशतसम्म नुनको खपत प्याकेटमा भएका र प्रशोधित खानाबाट हुन्छ।

त्यसको सट्टा नुन र चिनी कम भएका र पोटासियम र फाइबर धेरै भएका जस्तै अप्रशोधित खानेकुराहरूमा खानमा ध्यान दिनुहोस्। अप्रशोधित खानामा गेडागुडी, बदामका परिकार, अन्न, फलफूल र तरकारीहरू पर्छ।

पहिला नुन धेरै हुने भए पनि अमिल्याइएका गुन्द्रुक, किम्ची, मस्यौरालगायतका खानेकुराहरू पनि राम्रो विकल्प हुनसक्छ। यी खानेकुरामा पोटासियम, पोलिफेनोल्स, फाइबर, फ्याटी एसिड हुन्छ।

अन्त्यमा, खानेकुरामा सोडियम र पोटासियमको मात्रा मिलाउन खोज्नुहोस्। सोडियमले रक्त नलीमा मद्दत गर्छ भने पोटासियमले कोशिकाहरूमा जान मद्दत गर्छ।

मात्रा मिलाएर सोडियम र पोटासियम लिन सकियो भने त्यो शरीरका लागि सबैभन्दा उत्तम खपत हुन्छ। नुनबारे सचेत हुनसक्ने भयो भने तपाईँको माइक्रोबायमले तपाईँलाई धन्यवाद दिनेछ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्