प्रा.डा. दिव्या सिंह शाहः नेपालमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपणको शुरूवातकर्ता
‘मृत्युपर्यन्त प्राप्त अंगहरू व्यवस्थापन गर्न टीमसहितको छुट्टै डेडिकेटेड युनिट चाहिन्छ’
चिकित्सा पेशामा प्रा.डा. दिव्यासिंह शाह परिचित नाम हो । उहाँ विगत २८ वर्षदेखि निरन्तर चिकित्सा सेवामा खटिँदै आउनुभएको छ । इन्टरनल मेडिसिनमा एमडी गरेपछि डा. शाह सन् १९९६ देखि त्रि.वि. शिक्षण अस्पतालमा आबद्ध हुनुहुन्छ । हाल उहाँ इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) मा डीन हुनुहुन्छ । डा. शाह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेफ्रोलोजी एन्ड ट्रान्सप्लान्ट मेडिसिनको विभागीय प्रमुख, नेपाल सोसाइटी अफ नेफ्रोलोजीको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । यसअघि उहाँ इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको निर्वाचित दक्षिण एसिया क्षेत्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो । भर्खरै कार्यकाल सकिएको छ । अहिले पनि यसको काउन्सिल सदस्य हुनुहुन्छ । उहाँ सार्क क्षेत्रको नेफ्रोलोजी ट्रान्सप्लान्ट युरोलोजी सोसाइटीको उपाध्यक्ष हुनुहुन्छ । डा. शाहकै सक्रियतामा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमा पहिलोपल्ट सन् २००८ को अगस्ट ८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मुलुकमा मिर्गौला उपचारमा प्रा.डा. शाहको संघर्षको कथा उहाँको आफ्नै शव्दमा ।
डायलाइसिस छाड्दा ९० प्रतिशतको ज्यान जोखिममा
भारतबाट एमबीबीएस र इन्टरनल मेडिसिनमा एमडी गरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काम सुरू गरेँ । सुरूआती दिनमा भोलेन्टियर कन्सल्ट्यान्ट थिएँ । शिक्षण सहायक, लेक्चरर, एसोसिएट हुँदै अहिले प्राध्यापक छु । त्यो बेला एमडी डाक्टर त्यति हँुदैनथे । नेपालमा भर्खर एमडीको पढाइ सुरू भएको थियो । अस्पतालमा इन्टरनल मेडिसिन विभागमा भर्खरै कार्डियाक, नेफ्रो युनिट सञ्चालनमा थिए । जापान सरकारको अुनदानमा दुईवटा सेकेन्ड ह्यान्ड डायलाइसिस मेसिन थिए । तिनबाटै डायलाइसिस सेवा सुरू भएको थियो । वीर अस्पतालमा पनि डायलाइसिस हुने गर्दथ्यो ।
त्यो बेला नेफ्रोलोजी युनिटमा काम गर्न खासै मन थिएन । तर, ‘नेफ्रोलोजी विधाको विकास गर्नुपर्छ’ भनेर त्यो बेलाका डाइरेक्टर प्रा.डा. गोविन्द शर्मा र विभागीय प्रमुख पूर्वडीन प्रा.डा गोपाल आचार्यले आग्रह गर्नुभयो । धेरै दिनसम्म मानिरहेकी थिइनँ । उहाँले सम्झाउनुहुन्थ्यो । त्यो बेला भर्खर बंगलादेशबाट नेफ्रोलोजीमा एमडी सकेर एक जना मभन्दा सिनियर प्रा.डा. कनकबहादुर राउत आउनुभएको थियो ।
बि.सं.२०५३ सालतिर नेफ्रो युनिटमा काम गर्न थालेपछि मिर्गौला रोगीको समस्यासँग प्रत्यक्ष साक्षात्कार हुने अवसर मिल्यो । बिरामी आफैंले शुःल्क तिरेर डायलाइसिस गर्नुपर्दथ्यो । काठमाडौँकै मान्छेका लागि पनि एकदमै महँगो पर्दथ्यो । काठमाडौं बाहिरकालाई त घरभाडा लिएर खानबस्न र डायलाइसिस गर्न सम्भवै थिएन । पहिलो एक महिनामै करिब ८० प्रतिशतले डायलाइसिस गर्न छाडिदिन्थे । तीन महिनासम्म लगभग ९० प्रतिशतको मृत्यु नै हुन्थ्यो । डायलाइसिस गरेर बाँचेका करिब १० प्रतिशतमध्ये केही व्यक्ति भारतका अस्पतालहरूमा गएर प्रत्यारोपण गर्थे ।
छटपटी
मिर्गाैला बिग्रिएको पत्तो हुँदैन । जुनसुकै उमेर समूहका व्यक्तिको मिर्गौला विफल हुन सक्छ । समयमा स्वास्थ्य जाँच गर्न फुर्सद निकालेको पाइँदैन । गाह्रो भएर अस्पताल पुग्दासम्म मिर्गौला बिग्रिसकेको हुन्छ । उपचार पद्धतिले निको पार्न नसक्ने अवस्थामा बिरामी आइपुग्छन् । बिरामीलाई बचाउने भनेको डायलाइसिस वा मिर्गौला प्रत्यारोपण नै हो । सन् २००८ भन्दा पहिला नेपालमा मिर्गौला प्रत्यारोपण सम्भव थिएन । ‘मिर्गौला प्रत्यारोपण गर्न विदेश जानुपर्छ’ भन्दा बिरामीहरू जाने/बुझेको उपचार गरिदिन आग्रह गर्थे । तर विदेश जान मान्दैनथे । पैसाको साथै भाषाको समस्या, जाने/बुझेको कोही नहुने भएकाले समस्या हुने बताउँथे । यो रोग सबै वर्ग र उमेर समूहलाई हुन सक्छ । मिर्गौला फेल भएका युवावस्थाका बिरामीका आफन्तहरू विहल हुन्थे । निकै हृदयविदारक अवस्था थियो । डाक्टर भए पनि उपचार गर्न नसक्दा छटपटी हुँदो रहेछ ।
थप अध्ययन गर्ने अठोट
नेपालमै प्रत्यारोपण सेवा शुरू गरिनुपर्छ भन्ने थियो । तर त्यसका लागि एक सक्षम विशेषज्ञको टिम चाहिन्छ । मिर्गौला प्रत्यारोपण गर्न छुट्टै विशेषज्ञता चाहिन्छ । मैले पनि मिर्गौला रोग विशेषज्ञ बन्ने अठोट गरेँ । मिर्गौला रोगसम्बन्धी अध्ययन, अनुसन्धानमा रुचि बढ्दै गयो । त्यसपछि मिर्गौलासम्बन्धी थप अध्ययन गर्ने अठोट गरेँ ।
संघर्षपछिको सफलता
सन् २००१ मा जापानको ओशाकामा मिर्गौलासम्बन्धी अनुसन्धान र शोधपत्र प्रस्तुतिका लागि ट्राभल ग्रान्ट पनि पाएँ । मेरो पेपर पनि स्वीकृत भयो । प्रस्तुति दिन जापानको ओशाका गएँ । त्यसपछि सन् २००२ मा जापानीज सोसाइटीले आयोजना गरेको कार्यक्रममा पुनः टोकियो गएँ । सन् २००३ तिर बर्लिनमा नेफ्रोलोजीको वल्र्ड कङ्ग्रेस हुँदै थियो । नेपालमा मिर्गौला रोगीको अवस्थाबारे पठाएको शोधपत्र वल्र्ड कङ्ग्रेसले स्वीकृत गर्यो । यसले अवार्ड पाउन पनि सफल भयो । मनमा अझ उत्साह थप्यो । विश्व मिर्गौला संगठनले थप अध्ययनका लागि स्कलरसिप प्रदान गर्ने जानकारी पाएँ । नेपाल फर्किएपछि विभिन्न राष्ट्रमा निवेदन दिएँ । क्यानडा, इङ्ल्याड र अस्ट्रेलिया पनि जान सकिन्थ्यो । तर त्यो बेला विश्व मिर्गौला संगठनको अध्यक्ष अस्ट्रेलियाका प्रोफेसर डा. रोबर्ड एड्किन्स थिए । नेपालमा मिर्गौला रोगीको अवस्था र प्रत्यारोपण सेवा सुरू गर्न चाहनेबारे अवगत गराउँदै सिधै इमेल लेखेँ ।
विश्व मिर्गौला संगठनको स्कलरसिपमा मोनास विश्वविद्यालयअन्तर्गत मेलबर्नको मोनास मेडिकल सेन्टरमा भर्ना भएँ । सन् २००४ देखि सन् २००६ सम्म अध्ययन गरेर स्वदेश फर्किएँ । सन् २००८ को अगस्ट ८ मा नेपालमा पहिलोपल्ट त्रिवि शिक्षण अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण सम्भव भयो ।
सबैको साथ र सहयोग
नेपालमा बच्चाहरूको नेफ्रोलोजिस्ट थिएनन् । पढाइका क्रममा बच्चाहरूको मिर्गौला रोगको उपचार गर्न पोस्टिङ मागेकी थिएँ । त्यो बेला पेडियाट्रिक नेफ्रोलोजिष्ट प्रा.डा. एमेन्डा वार्करसँग काम गर्ने मौका मिल्यो । उहाँले एक ट्रान्सप्लान्ट सर्जनका बारेमा जानकारी गराउनुभयो । उहाँलाई भेट्न गएँ । उहाँ बेलाबेला ट्रेकिङका लागि नेपाल आउनुहुँदो रहेछ । नेपाल आएको बेला नेपाली सर्जनलाई मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न उहाँलाई अनुरोध गरेँ । हस्पिटलका सर्जनहरू प्रा.डा. भोला राज जोशी, डा. गुण कुमार श्रेष्ठ,प्रा.डा. प्रेम राज ज्ञवालीसँग परिचय गराएँ ।
लामो समयको प्रयासपछि मिर्गौला प्रत्यारोपणको लाइसेन्स लिन सफल भयौं । बिरामीहरू लाइन लाग्न थाले । सुरूमा करिब १२ देखि २० वटा जोडी तयार पारेँ । प्रत्यारोपणका लागि आवश्यक पर्ने सबै खाले जाँच गरेँ । कतिपय टेस्ट भारत पठाउनुपथ्र्यो । औषधि पनि नेपालमा पाइँदैनथ्यो । औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर बाहिरबाट औषधि मगायौँ । मिर्गौला प्रत्यारोपणका सबै स्टेप समेटेर प्रोटोकल तयार गरेँ । प्रत्यारोपणका लागि सर्जन, नेफ्रोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, नर्सको सक्षम र दक्ष टिम आवश्यक पर्छ ।सो का लागि अष्ट्रेलिया, क्यानाडा, भारत पठाउने पठायौं र एक दक्ष टिम तयार भयो । अस्पताल प्रशासन र त्यस बेलाका डाइरेक्टर प्रा.डा.महेश खकुरेलले पनि पूर्ण सहयोगग गर्नुभयो
नेफ्रोलोजीमा डीएम कार्यक्रम
सन् २०१० देखि त्रि.वि. शिक्षण अस्पतालमा हामीले मिर्गौला तथा प्रत्यारोपणसम्बन्धी विशेषज्ञता तालिम डीएम कार्यक्रम सुरू गर्न सफल भयौं । हालसम्म १४ जना डीएम नेफ्रोलोजिस्ट उत्पादन भइसकेका छन् । अहिले अवस्थाअनुसार हरेक वर्ष १ देखि २ जनासम्मले डीएम गर्ने अवसर पाउने गरेका छन् । उनीहरू म जत्तिकै सक्षम छन् । म डीन हुँदा पनि प्रत्यारोपण रोकिएको छैन ।
दूरदराजका बिरामी पहुँच बाहिर
देशमा आवश्यक पर्ने जनशक्ति अझै पनि अभाव छ । सरकारले डायलाइसिस सेवा निःशुल्क गरे पनि अधिकांश जनशक्ति काठमाडौँ र काठमाडौँ बाहिर केही ठूला शहरमा मात्र केन्द्रितछन् ।सेवा शहर केन्द्रित छ । डायलाइसिस सेवा निःशुल्क प्राप्त हुने भए पनि बिरामीहरु सहर नजिक आएर बस्नुपर्दा खान/बस्न ठूलो समस्या हुन्छ । त्यसैले अझै दूरदराजका गरिब बिरामीहरुको पहुँचमा यो सेवा पुग्न सकेको छैन ।
पेटबाट गर्ने डायलाइसिस प्रोमोसन गर्न जरुरी
पेटबाट गर्ने डायलाइसिस कन्टिन्युएस एम्बुलेटरी पेरिटोनियल डायलाइसिस (सीएपीडी) हेमोडायलाइसिस जत्तिकै प्रभावकारी छ । यो घरमै बसेर गर्न सकिन्छ । तर राज्यले यो प्रविधिलाई प्रोत्साहन दिएको छैन । हाल २ प्रतिशत बिरामी मात्र सीएपीडीको पहुँचमा छन् । तर थाइल्यान्ड, मलेसिया र हङकङ आदि ठाउँमा पेरिटोनियल डायलाइसिसलाई पहिलो प्राथमिकता दिने नीति छ । पेरिटोनियल डायलाइसिस नहुने भएमात्रै हेमोडायलाइसिसका लागि सिफारिस गरिन्छ ।
थोरै अस्पतालमा प्रत्यारोपण सेवा
अहिले करिब १२ वटा संस्थाले मिर्गौला प्रत्यारोपणको लाइसेन्स लिइसकेका छन् । त्यसमध्ये शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, ग्रान्डी अस्पताल, किष्ट मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण नियमित भइरहेको छ । सुमेरू अस्पताल, नर्भिक अस्पताल र मेडिसिटी अस्पतालले पनि सेवा दिन सुरू गरेका छन् ।
दाताको अभाव
जुन परिमाणमा प्रत्यारोपण हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । मिर्गौला दान आफन्तले मात्र दिनुपर्ने कानुनी व्यवस्था छ । तर, कतिपयका आफन्त नहुन पनि सक्छन् । हुनेले दान नदिन पनि सक्छन् । कतिपयका दाता भए पनि मिर्गौला फिट नहुन सक्छ । नाताबाहिर मिर्गौला लिन मिल्दैन । त्यसका पनि आफ्नै जटिलता छन् । दाता नहुने व्यक्ति डायलाइसिसमा बस्न बाध्य छन् । यसबाट राज्यलाई ठूलो आर्थिक भार थपिएको छ । डायलाइसिसमा बस्नेको स्वस्थ्य मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको जस्तो हुँदैन ।
अहिलेको अवस्थामा नाताबाहिरबाट मिर्गौला दान लिन सकिँदैन । नाताबाहिर लिँदा आफ्नै कम्प्लिकेसन छन् । जस्तोः काभ्रेको होक्से गाउँका धेरै व्यक्तिले भारतमा गएर मिर्गौला बेचेको समाचार धेरै पहिले व्यापक बनेको थियो । यसमा दिने व्यक्तिले पनि खासै पैसा पाउँदैन । ग्रहणकर्ताले धेरै खर्च गर्नुपर्छ । बीचमा बिचौलियाले कमाउँछन् ।
मस्तिष्क मृत्युका व्यक्तिबाट अंगदान किन प्रभावकारी भएन ?
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर अंग प्रत्यारोपण गर्न सकिने मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली, २०७३ ले व्यवस्था गरेको छ । मृत्युपछि अंगदान गर्न सकिने २०५५ सालको कानुनमा पनि थियो । तर, २०७२ सालमा मस्तिष्क मृत्युसम्बन्धी मापदण्ड बनाइयो । संसारभर मस्तिष्क मृत्यु र सर्कुलेटरी डेथ भएका व्यक्तिबाट अंगदान लिन सकिन्छ ।
हाम्रो देशको विद्यमान कानुनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौलालगायत शरीरका अंगहरु दान गर्न सकिने प्रावधान छ । यसका लागि दाता पहिचान भइसकेपछि अंग निकाल्नेदेखि त्यसलाई स्टोर र वितरण गरेर समयमा प्रत्यारोपण गर्नुपर्छ । यस्ता बिरामी आईसियू र भेन्टिलेटरमा राखिएका हुन्छन् । खासगरी हेड इन्जुरी, मस्तिष्कघातका बिरामीबाट अंग पाउन सकिन्छ । यसका लागि समयमै सम्भावित मस्तिष्क मृत्यु भएका व्यक्ति नै पहिचान गरी ब्रेन डेथ ‘कन्फर्म’ गर्नुपर्छ । त्यसपछि परिवारका आफन्तबाट दान दिने अनुमति लिनुपर्छ वा जीवित हुँदै स्वैच्छाले मृत्युपपछि अंगदान गर्ने सहमति गरेको हुुनुपर्छ ।
पीडामा भएको परिवारलाई अंगदाताका रूपमा मनाउन विशेष पहल र काउन्सिलिङ गर्नुपर्दछ । नातेदार राजी भएपछि विशेषज्ञ चिकित्सकबाट अंग निकाल्नुपर्दछ । अंग निकालिसकेपछि म्याच भएको दातासमक्ष ट्रान्सपोर्टेसन गर्नुपर्दछ । अंग म्याच हुने व्यक्तिलाई तुरुन्त प्रत्यारोपण गर्नुपर्दछ । आइसियूमा राखेको खर्च, शल्यक्रिया खर्च कसले बेहोर्ने भन्ने टुंगो लगाउनुपर्छ । निकालेको अंगको जिम्मा कसले लिने, पारदर्शी तरिकाले प्राथमिकताका आधारमा अंगको पर्खाइमा बसेका बिरामीलाई प्रत्यारोपणका लागि खबर गर्नुपर्छ ।
अंगहरू म्यानेज गर्ने छुट्टै डेडिकेटेड युनिटको आवश्यकता
नेपालमा मृत्यु पर्यन्त (ब्रेन डेथ डोनेसन) प्रत्यारोपणको विकास र बिस्तार गर्न एक सवल टिम सहितको डेडिकेटेड युनिट/विभागको स्थापना गर्न अत्यन्त जरूरी छ जसले यी सम्पूर्ण कार्य गर्नेछ । युनिटको संरचना, काम, कर्तव्य स्पष्ट हुनुपर्छ । डोनर नहुने व्यक्तिले विभिन्न प्रत्यारोपण सेन्टरमा नाम टिपाएका हुन्छन् र उनीहरूले त्यहीँ प्रत्यारोपण गर्ने सोच बनाएका हुन सक्छन् । सबै अस्पतालले आ–आफ्नो लिस्ट राख्नुपर्दछ । त्यो लिस्ट सेन्टर लिष्टमा हुनुपर्छ । अंग प्रत्यारोपणका मापदण्ड साधारण मानिसले बुझ्ने हुनुपर्छ । दान भनेको विश्वसनीय र पारदर्शी हुनुपर्छ ।
मष्तिष्क मृत्यु भएको व्यक्तिको पहिचान भएपछि तुरुन्तै अस्पताल पुगेर परिवारलाई परामर्श दिने र अंगदानका लागि राजी गराउने टिम चाहिन्छ । डाक्टहरू आएर बे्रन डेथ घोषणासहित सम्पूर्ण प्रक्रिया पूरा गरेर अंग निकाल्ने, प्राथमिकताको सूचीमा परेका बिरामी, उपचाररत अस्पताललाई तुरुन्तै खबर गर्ने, तुरुन्तै अपरेसन थियटर तयार गरेर अंग बाँडफाँट र प्रत्यारोपण शुरू गर्नुपर्छ । मुटुलाई धेरै टाढा पु¥याउन सकिँदैन । त्यही अस्पतालमा प्रत्यारोपण गर्नुपर्छ । मिर्गौलालाई ४८ घन्टासम्म फ्रिजिङ गरेर राख्न सकिन्छ ।
साथै आइटी जनशक्ति, विज्ञ र परामर्शदाता हुनुपर्छ ।अहिले बिरामीहरू आफैं अस्पताल गएर नाम टिपाउँछन् । उनीहरू ट्रान्सप्लान्ट गर्न योग्य बिरामी भए/नभएको परीक्षण गर्नुपर्छ । अहिले अंग प्राप्त भएपछि सबै अंग एउटा मात्र अस्पतालमा लगेर पत्यारोपण गरिन्छ । यो राष्ट्रको प्रत्यारोपण कार्यक्रम हुनुपर्छजहाँ सबैको पहुँच समान रुपमा होस् । बिरामीको स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई लिस्टमा राख्नुपर्छ । सरकारी तहबाट दिने ५ लाख रुपियाँबाट अंग निकाल्ने, आइसियूमा राख्ने, ट्रान्सपोर्टेसन र प्रत्यारोण खर्च चलाउन सकिन्छ ।
मृत्यु पर्यन्त डोनर कार्यक्रम सफल भएमा मिर्गौला, मुटु, कलेज, प्याँक्रियाज, मुटुको भल्भ, छाला प्रत्यारोपण गर्न सकिन्छ । साथै हातखुट्टासमेत प्रत्यारोपण गर्न सकिन्छ । अहिले बर्न अस्पतालले इन्डियाबाट छाला इम्पोर्ट गरिरहेको छ । धेरै बर्न भएको बिरामीलाई छाला प्रत्यारोपण गर्दा सर्भाइभर दर राम्रो छ ।